• १४ वैशाख २०८१, शुक्रबार

भरत, निशान र प्रशान्त सेमिफाइनलमा

blog

बक्सिङमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत २३ गते । सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोशी प्रदेशका प्रशान्त दाहाल वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ७१ केजी तौलसमूहमा भरतले एपीएफका झलक रोका, निशानले नेपाल प्रहरीका मिलन तामाङ र प्रशान्तले लुम्बिनी प्रदेशका विकास राना मगरलाई पराजित गर्नुभयो । 

पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावलले गण्डकीका मनीष बिसी, कर्णाली प्रदेशका दर्शन घर्ती मगरले सुदूरपश्चिमका बालाजी रावल तथा बागमती प्रदेशका मनोज तामाङले कोशीका सनम गुरुङलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो । 

गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ९२ केजीमा बागमतीका उमङ महर्जनले लुम्बिनीका सुजन थापा मगरलाई पाखा लगाउदै सेमिफाइनलमा पुग्नुभयो । 

यसै स्पर्धामा गण्डकीका मुन्ना गुरुङले कोशीका इशक जनक शाही तथा सुदूरपश्चिमका ललित भट्टले कर्णालीका प्रकाशकुमार विष्टबाट वाक ओभर पाउदै सेमिफाइनलमा स्थान बनाउनुभयो । महिला ५७ केजीमा सुदूरपश्चिमकी कविता सिंहले लुम्बिनीकी कल्पना पुनमाथि जित रच्दै सेमिफाइनलमा पुग्नुभयो ।

महिला ६० केजीमा बागमतीकी हेमा राईले सुदूरपश्चिमकी सन्जिता चौधरी तथा एपीएफकी संगिता सुनुवारले कोशीकी सुस्मिता राईलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्नुभयो । महिला ६६ केजीमा गण्डकीकी जोशिका श्रेष्ठले कर्णालीकी अस्मिता चन्दलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउनुभएको छ ।