• २३ वैशाख २०८१, आइतबार

स्वर्गद्वारी पुग्न सहज हुँदै

blog

प्युठान समाचारदाता

प्युठान, वैशाख १४ गते । सडक मर्मत र सुधारपछि लुम्बिनी प्रदेशको प्रसिद्ध र महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल स्वर्गद्वारी पुग्न दर्शनार्थीलाई सजिलो भएको छ । शान्त र रमणीय स्थानमा रहेको स्वर्गद्वारी पुग्ने सडकमा सडक सुरक्षा र मर्मतको काम भएसँगै दर्शनार्थीलाई पुग्न सहज भएको हो । 

राप्ती गाउँपालिका दाङका दामोदर आचार्यले पक्की सडक भएकाले मन्दिर पुग्न सजिलो भएको बताउनुभयो । अहिले भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्मको १४ किलोमिटर सडकमा सडक सुरक्षा र मर्मतको काम भएकाले सजिलो भएको आचार्यको अनुभव छ । उहाँले भन्नुभयो, “बाटोमा खाल्टाखुल्टी छैन । सानो गाडी पनि सजिलै आउन सक्छ ।”

स्वर्गद्वारी आउने दर्शनार्थीको चाप बढेसँगै स्वर्गद्वारीको आधार शिविर भिङ्गृदेखि स्वर्गद्वारीसम्मको करिब १४ किलोमिटर पक्की सडकमा सडक सुरक्षाको कामसमेत भएको छ । सडक डिभिजन कार्यालय प्युठान र सडक पूर्वाधार विकास कार्यालय प्युठानले यस चालु आर्थिक वर्षमा करोडौँ रुपियाँको लगानीमा सडक सुरक्षाको कामका लागि बजेट विनियोजन गरी काम गरेका छन् । सडक डिभिजन कार्यालय प्युठानका प्रमुख इन्जिनियर राजीव श्रेष्ठले आठ करोड ९४ लाख ६७ हजारमा ठेक्का सम्झौता भएर सडक सुरक्षाको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । गत वर्ष सडक दुर्घटना भएपछि सडक सुरक्षाका लागि ट्राफिक सङ्केत, सडक छेउमा रेलिङ राख्ने काम भएको उहाँले बताउनुभयो । कार्यालयका निमित्त प्रमुख इन्जिनियर चन्द्रबहादुर शाहले भिङ्ग्री–स्वर्गद्वारीको घडेरी र रुमाले खण्डमा सडक पूर्वाधार विकास कार्यालयले काम गरिरहेको जानकारी दिनुभयो । अघिल्लो वर्ष बर्सातले बाटो पहिरो गएर साँघुरो भएको ठाउँमा पर्खाल लगाएर बाटो सुधार गरिएको उहाँको भनाइ छ । तीन करोड ३१ लाख रुपियाँको लागतमा पर्खाल, पहिरो नियन्त्रण, सडक छेउमा रेलिङ र भत्किएको कालोपत्रे मर्मतलगायतका काम अन्तिम चरणमा रहेको शाहले जानकारी दिनुभयो । 

हिन्दु धर्मावलम्बीको सबै प्रकारका पूजा हुने स्वर्गद्वारीमा नेपालका विभिन्न जिल्लासँगै भारतबाट बढी भक्तजन आउने गर्दछन् । विसं १९५२ मा महाप्रभुले स्वर्गद्वारी आश्रममा बौद्धिक मन्त्रबाट दीप प्रज्वलन गरी स्थापना गर्नुभएको अखण्ड महायज्ञ अहिले पनि निरन्तर बलिरहेको छ ।