• २३ वैशाख २०८१, आइतबार

बढ्दै मलेरियाका बिरामी

blog

तानसेन समाचारदाता

तानसेन, वैशाख १४ गते । पाल्पामा मलेरिया (औलो) का बिरामी देखिने क्रम बढेको छ । भारतका विभिन्न स्थानमा काम गर्न जाने मानिसमा मलेरिया पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । गत आर्थिक वर्षमा पाल्पामा पाँच जनामा मलेरिया पुष्टि भएकोमा यो वर्ष चैत मसान्तसम्ममा छ जनामा पुष्टि भइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । विगतका वर्षमा एक/दुई जनामा मात्र देखिने मलेरिया (औलो) जाँच बढाएपछि बिरामी भेटिने क्रम बढेको कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । 

पाल्पाबाट भारतका विभिन्न स्थानमा काम गर्न जाने मानिसमा मलेरियाको पुष्टि भएको उहाँले बताउनुभयो । पूर्वखोला रिङ्नेरहमै बसोबास गर्ने एक जना मानिसमा पनि मलेरिया देखिएको उहाँले बताउनुभयो । पूर्वखोला रिङ्नेरहका घरमै बस्ने मानिसलाई पनि मलेरिया पुष्टि भएपछि त्यहाँ अन्य मानिसलाई पनि जाँच गर्ने तथा मलेरियाबाट बच्न झुल वितरणको कार्यक्रम गर्ने तयारी भइरहेको छ ।  यो वर्ष पूर्वखोला गाउँपालिकाका एक, रामपुरका दुई, माथागढीका दुई र तानसेनका एक जनामा मलेरिया देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

मलेरियालाई सन् २०२५ सम्ममा उन्मूलन गर्ने विभिन्न कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले त्यसका लागि खोज पडताल, स्वास्थ्य जाँच, जनचेतना, फोहोर सरसफाइ गर्ने कार्यक्रम भइरहेको जानकारी दिनुभयो । पाल्पामा गत वर्ष शङ्कास्पद एक हजार ८१७ जना र यो वर्षको हालसम्म तीन हजार ४५८ जनाको रगत परीक्षण गरिएको छ । पाल्पामा २४२ जना मानिस मलेरियाबाट प्रभावित भएको अनुमान गरिएको अधिकारीले बताउनुभयो । मलेरियाबाट हालसम्म कुनै पनि बिरामीको मृत्यु भएको छैन । लामखुट्टेको टोकाइबाट सर्ने मलेरिया लागेका बेला ज्वरो आउने, थकान महसुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन् ।