• १४ वैशाख २०८१, शुक्रबार

भ्रामक सूचनाले नकारात्मक सन्देश

blog

आजको युग सूचना प्रविधिको युग हो । अहिले सबैका हातमा ‘स्मार्ट फोन’ छन् । हातमा भएका स्मार्ट फोनकै कारण सबैको पहुँचमा सहजै सामाजिक सञ्जाल छन् । त्यसैले त आजको युगलाई सूचनाको मात्र नभई सामाजिक सञ्जालको युगभन्दा फरक नपर्ला । पछिल्लो एक दशकमा सूचना प्रविधिको क्षेत्रमा नेपाली समाजले पनि धेरै फट्को मारिसकेको छ । 

इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामान्यतया सामाजिक सञ्जाल भन्ने गरिन्छ । सामाजिक सञ्जालमा आमजनताको पहुँच जबर्जस्त स्थापित हुन पुग्नु पनि यसको सकारात्मक पक्ष नै हो । हात–हातमा भएका स्मार्ट फोन र सहजै उपलब्ध हुने इन्टरनेटले जनसङ्ख्याको ठूलो हिस्सा सूचना प्रणालीमा जोडिन सहज भएको हो । यसले सामाजिक सञ्जालमा समेत पहुँच राखेको छ भने यसको प्रयोगको दायरा व्यापक बनाएको छ । डाटा रिपोर्टलको (२०२३ जनवरी) पछिल्लो अनुसन्धानअनुसार नेपालका ५१.६ प्रतिशत इन्टरनेटको प्रयोगकर्ता रहेका छन् । जसमा ४१ प्रतिशतले सामाजिक सञ्जालको प्रयोगको गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रयोग गर्ने ‘फेसबुक’, ‘ट्वीटर’, ‘युट्युब’, ‘इन्स्टाग्राम’, ‘टिकटक’, ‘ह्वाटस् एप’ र ‘भाइबर’ लगायतका सञ्जाल बढी लोकप्रिय छन् । यीमध्ये नेपालमा सबैभन्दा बढी फेसबुक प्रयोगकर्ता रहेका छन् । 

सामाजिक सञ्जालको सही सदुपयोग गरेको खण्डमा यसमा धेरै फाइदा पनि छन् । तथ्याङ्क र सूचनाका स्रोतमध्येका एक हुन् । अर्कातिर, सामाजिक सञ्जालको प्रयोगलाई उचित नियन्त्रण गर्न नसक्दा भने ‘असामाजिक’ सञ्जाल बन्ने खतरा अझ बढ्दो छ । यसरी सामाजिक सञ्जालमा आउने अनेक प्रकारका सूचनालाई के कसरी विश्वास गर्ने ? भन्ने विषयमा स्वयं सामाजिक सञ्जाल प्रयोगकर्ता आफैँ सचेत बन्नुपर्ने महìवपूर्ण छ । पछिल्लो समय सामाजिक सञ्जालमा आउने सूचना केही हदसम्म सत्य भए पनि धेरै सूचना भाम्रक र मिथ्या हुने गरेको यथार्थ हो । 

जति धेरै मानिसमा सूचना र सञ्चारको पहुँच बढ्छ उति नै शिक्षा, स्वास्थ्य, वातावरण आदि क्षेत्रमा सामाजिक चेतनाको स्तर पनि बढ्छ । यससँगै सामाजिक सञ्जालबाट नै मानिसले समाजमा विकास र सुशासनका लागि खबरदारी पनि गर्न पाइरहेका छन् । सामाजिक सञ्जालबाटै घरमै बसेर केही सीपमूलक कार्य, नयाँ विषय वस्तुबारे जानकारी जान्ने बुझ्ने अवसर पाउनुका साथै कम्प्युटरसम्बन्धी ज्ञानसमेत हामीले सामाजिक सञ्जालबाट पाउँछौँ र मनग्य आम्दानीसमेत गर्न सक्छौँ । 

सामाजिक सञ्जाल सबैको पहुँचमा सजिलै पुग्ने, व्यापक प्रयोग गर्ने र कम खर्चमा प्रयोग गर्न पाउने अवस्था छ । सामाजिक सञ्जाल एक प्रकारका व्यक्तिका लागि जीवनकै अभिन्न अङ्गजस्तै भएको छ । जसका कारण सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताले अधिकांश समय सामाजिक सञ्जालमै व्यतीत गरेका छन् । 

गाउँगाउँमा पनि सामाजिक सञ्जालका प्रयोगकर्ताको सङ्ख्या दिनानुदिन बढ्दो छ तर कतिपयलाई सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भन्ने बारेमा सामान्य जानकारीसमेत नहुँदा समाजमा द्वन्द्व, हत्या, हिंसासमेत निम्तने गरेको छ । 

नेपालमा मात्रै होइन, कतिपय विकसित देश र विश्वव्यापी रूपमै सामाजिक सञ्जाल ‘फेक इन्फरमेसन’ एक चुनौतीका रूपमा देखा परेको छ । यही ‘फेक इन्फरमेसन’ कै कारण त उद्योगधन्दा, व्यवसाय, अर्थतन्त्र, समाज, परिवार र व्यक्तिगत तहमा पनि सामाजिक सञ्जालसँग सम्बन्धित र साइबर क्राइमका घटना प्रशस्तै सुन्न र पढ्न पाइएको छ । अश्लील भिडियो, तस्बिर पोस्ट गर्ने, अपशब्द तथा नराम्रा टिप्पणी गर्ने, नचाहिँदो अफवाह फैलाउनेलगायतका क्रियाकलापले समाजमा नकारात्मक असर परिरहेको छ । 

हुन त सामाजिक सञ्जाल सबै हिसाबले चुनौती मात्र भने होइन, सही सदुपयोग गर्दा सामाजिक सञ्जाल सूचनाको एक स्रोतसमेत बनेको छ । सामाजिक सञ्जाल सही सूचना भन्दा ‘फेक’ सूचनाको भण्डार भइदिँदा समाजमा नकारात्मक असर परेको छ । अझ सामाजिक सञ्जालमा आउने सूचनालाई पुष्टि नगरी केही अनलाइन सञ्चारमाध्यम र मिडियाले सामाजिक सञ्जालकै भरमा समाचार सम्प्रेषण गरिदिँदा राज्यको चौथो अङ्ग पत्रकारिता र पत्रकारमाथि नै आमनागरिकको विश्वसनीयता घट्दै गएको छ । 

विशेषगरी केही अनलाइन सञ्चारमाध्यमले यसरी सामाजिक सञ्जालमा आउने सूचनालाई भेरिफाइ नै नगरी हचुवाको भरमा समाचार सम्प्रेषण गरिदिँदा आमनागरिकको नजरमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमप्रतिको दृष्टिकोण समेत एकै प्रकारको हुन पुगेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता आमनागरिक सूचनाका स्रोत बन्न सक्छन् तर उनीहरूले सामाजिक सञ्जालमा राखेका सबै विषय समाचार बन्दैनन् र समाचार होइनन् पनि । 

आमनागरिकको बुझाइ नै सामाजिक सञ्जालमा आउने सबै कुरा समाचार हुन् भन्ने भ्रमले डेरा जमाइसकेको छ यसमा लागि स्वयं आफैँ सचेत हुनुको कुनै विकल्प छैन । सामाजिक सञ्जालमा हरेक सूचनालाई सत्यतथ्य नबुझी सञ्चारमाध्यमले समाचारका रूपमा सम्प्रेषण गर्दा सञ्चारमाध्यमले विश्वास गुमाउने अवस्था सिर्जना भएको छ । यसरी सामाजिक सञ्जालका सञ्चारमाध्यमले भेरिफाइ नगरी सम्प्रेषण गर्दा कतिपय ठूला सञ्चारमाध्यम नै पटक–पटक फेक सूचनाको सिकार बनेका उदाहरण प्रशस्त छन् । 

सञ्चारमाध्यमले मात्र होइन सामग्री राम्रोसँग नबुझी नपढी लाइक र सेयर गर्दासमेत समस्या सिर्जना हुने गरेको छ । तपाईंले सेयर गरेपछि उक्त फेक सूचना तपाईंको समुदायमा फैलँदै जान्छ । गलत सामग्री फैलाउनेमा लाइक, सेयर गर्नेहरू जिम्मेवार हुनेछन् । यस्ता भ्रामक र गलत सूचना बाँड्ने साथीलाई आफ्नो सूचीबाट हटाउने र अनफलो गरियो भने त्यस्ता फेक सूचनाबाट टाढा हुन सकिन्छ । 

सामाजिक सञ्जालको दुरुपयोग रोक्नेबारे नेपालमा पनि कानुन नभएको होइन तर कतिपयले नजानेर, नबुझेर सामाजिक सञ्जालमा पोष्ट गर्दा कारबाहीमा परेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर साइबर अपराधमा संलग्न अझै पनि कारबाहीको दायरामा आउन सकेका छैनन् । 

लेखक अनलाइन पत्रकार सङ्घका सचिव हुनुहुन्छ ।