• १४ जेठ २०८१, सोमबार

मानव पुँजीको व्यवस्थापन

blog

विकासको साधन र साध्यका रूपमा मानव विकासलाई लिइन्छ । मानव विकासका लागि मानव पुँजी व्यवस्थापन पहिलो अनिवार्य सर्तको रूपमा लिन जरुरी छ । मानवस्रोत एक मात्र यस्तो स्रोत हो, जससँग चेतना हुन्छ, सिप हुन्छ अनि यसैको माध्यमबाट अन्य सबै स्रोतसाधनको परिचालनमा प्रभावकारिता ल्याउने सामथ्र्य बोक्छ । सार्वजनिक प्रशासनमा मानव पुँजी व्यवस्थापनलाई अति महìवपूर्ण व्यवस्थापकीय आयामका रूपमा लिइन्छ । यो बहुआयामिक विषय हो । जनशक्ति योजना, जनशक्ति विकास, मानवस्रोत व्यवस्थापन र मानव पुँजी व्यवस्थापन अन्तरसम्बन्धित आयाम हुन् । 

हरेक सङ्गठनमा मानवस्रोतको उचित व्यवस्थापन भएको खण्डमा यसले मानव पुँजी निर्माणमा जोड दिँदै मानव पुँजी व्यवस्थापनको ढोका खुला बनाउँछ । सङ्गठनमा रहने मानवस्रोत निश्चित प्रक्रिया पूरा गरेर छनोट र पदपूर्ति गरिन्छ । यसमा योग्यता र दक्षताले पहिलो प्राथमिकता पाएको हुन्छ । यो मानवस्रोतलाई सक्रिय बनाइराख्न सबै कर्मचारीबिचमा राम्रो सञ्चारको वातावरण निर्माण हुनु पर्छ । व्यक्तिगत स्वार्थलाई त्यागेर सङ्गठनात्मक हित प्रवर्धन गर्न सक्ने सङ्गठनात्मक संस्कृतिको विकास गर्नुपर्ने हुन्छ । यसका लागि आवश्यक मात्रामा कर्मचारीको सुरक्षा व्यवस्थापन, क्षतिपूर्ति व्यवस्थापन, सुविधा व्यवस्थापन गर्न सक्नु पर्छ । आफूमा अन्तरनिहित क्षमतालाई उजागर गर्नका लागि हरेकलाई उत्प्रेरित गर्दै उच्च मनोबल कायम गर्न जरुरी देखिन्छ । 

कर्मचारी प्रशासनलाई सक्षम, सबल र हरेक नागरिकको मनमा विश्वास जित्ने बनाउन उनीहरूमा आवश्यक तालिम र विकास, सम्भार व्यवस्थापन गर्दै मानवस्रोतको व्यवस्थापनले सङ्गठनले गति लिन सक्छ । त्यसै गरी मानव पुँजी व्यवस्थापनभित्र धेरै विषय समाहित भएको हुन्छ । यसका लागि उचित सङ्गठनात्मक स्वरूपको निर्माण गर्नु पर्छ । आवश्यकता अनुसारको दक्षता र सिप भएका जनशक्तिको उचित व्यवस्थापन गर्दै उनीहरूको क्षमतालगायत वृत्तिविकास व्यवस्थापन गर्न जरुरी देखिन्छ । कर्मचारीबिचमा असल अन्तरसम्बन्ध निर्माण गर्दै प्रतिभालाई सङ्गठनमा टिकाइराख्ने परिणाम व्यवस्थापन गर्न सक्नु पर्छ । 

आज देशमा हाम्रा मानव पुँजी विदेश पलायन भएका छन् । बौद्धिक रूपमा पहिलो ग्रेडका विद्यार्थी अध्ययनका लागि बिदेसिने र पछि स्वदेश नफर्कने वातावरण बढ्दै गएको छ । हाम्रा जनप्रतिनिधिको ध्यान मानव पुँजी व्यवस्थापनमा केन्द्रित हुनु पर्छ । सबै दलको चुनावी घोषणापत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने विषयलाई उल्लेख गरिन्छ तर चुनाव सकिएर नयाँ सरकार बन्ने वित्तिकै वैदेशिक रोजगारीका नयाँ गन्तव्य मुलुक खोज्दै हिँड्ने हाम्रो विद्यमान परम्परा भएर रहेको छ । जसले गर्दा जुन सबैभन्दा महत्वपूर्ण विषय भएर पनि छायामा परेको छ । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र स्वदेशको जनशक्ति विदेशमा निर्यात गर्ने उद्योगलाई प्रमुख रूपमा कायम राखिराख्ने भन्ने यी दुई विषयबिच निकै भिन्नता छ । 

वास्तवमा, मानव पूँजी नै सम्पूर्ण पुँजीको पुँजी हो । मुलुकले उत्पादनमुखी अर्थतन्त्र अपनाउन नसक्दा आफ्ना देशका युवा वर्गलाई वैदेशिक रोजगारीमा पठाएर स्वदेशलाई आवश्यक पर्ने करिब २० खर्ब बराबरको वस्तु तथा सेवा भने विदेशबाट आयात गर्नु परिरहेको अवस्था छ । ९० प्रतिशतभन्दा बढीको व्यापार घाटा भोग्नु पर्नाको मुख्य कारण उत्पादनमुखी अर्थतन्त्रको बाटो अपनाउँदै स्वदेशमा नै मानव पुँजीको सही परिचालन गर्न नसक्नुको परिणाम हो । जबसम्म हाम्रा निर्वाचित जनप्रतिनिधिको मन र मस्तिष्कमा मानव पुँजीको महत्व बोध हुँदैन तबसम्म मानव पुँजीको व्यवस्थापन कार्यले गति लिन सक्दैन । मानव पुँजी सम्पूर्ण अन्य पुँजीलाई समेत दिशानिर्देश गर्दै विवेकसम्मत ढङ्गले परिचालन गर्ने मुख्य पुँजी हो । 

उपयुक्त नीति र विधिको माध्यमबाट मानव पुँजी विदेश पलायन हुनुका साटो स्वदेशमा नै संलग्न हुने वातावरण बनाउन सक्नु पर्छ । हाम्रा जनप्रतिनिधिले आफ्नो दायित्व के हो भनेर सोच्नुपर्ने बेला भएको छ । अहिले जस्तो भौतिक निर्माणको ठेक्का निर्वाचित जनप्रतिनिधिले लिने विषय होइन । यी काम त भौतिक पूर्वाधार विकास राष्ट्रिय तथा स्थानीय योजना अन्तर्गतको नियमित प्रक्रिया हो । उपयुक्त राष्ट्रिय, प्रादेशिक नीति र विधि बनाएर मानव पुँजी सही प्रयोग गर्ने काममा महत्वपूर्ण भूमिका हाम्रा जनप्रतिनिधिले खेल्नु पर्छ । जनसङ्ख्या राज्यका लागि महत्वपूर्ण हुन्छ । त्यसैले यसलाई राज्यका लागि भार नमानी विकासको सर्वोत्कृष्ट औजार र सार मान्न जरुरी देखिन्छ । जनसङ्ख्यालाई उत्पादकत्वसँग गाँसेर बुझ्ने र व्यवहार गर्ने गर्नु पर्छ । 

नेपाल विकासका लागि प्रचुर सम्भावना बोकेको मुलुक हो । यहाँको जनसङ्ख्याको जनसाङ्खिक लाभ लिन सक्नु पर्छ । हरेक वर्षको बजेटमा जनशक्ति योजना, विकास, यसको उपयोग गर्दै उचित व्यवस्थापनका लागि आवश्यक रकम छुट्याउनु पर्छ । मानव पुँजी नै विकासको प्रमुख साँचो हो । जसलाई उपेक्षा गरेर विकासको ढोका खुल्दैन । मुलुकको समग्र शक्ति भनेको नै मानव पुँजी हो । मानवमा निहित कल्पनाशीलता, सिर्जनशीलता, नवीन सोच, विचार, शैली, अनुभव, ज्ञान, सिप आदि विकासका लागि महत्वपूर्ण मानव पुँजी हुन् । हामी नेपाली मानवीय गुणका निकै धनी छौँ । हामीभित्र भएको इमानदारी, मेहनत, लगनशील, धीरता, सहजता, मिलनसारिता, सहयोगी स्वभाव आदि गुणहरूले विश्वका धेरै मुलुकमा विश्वसनीयता हासिल गरेका नेपालीलाई नेपालमै बस्ने वातावरण निर्माण गर्न जरुरी छ । यसका लागि उपयुक्त दिग्दर्शन र व्यवस्थापनको आवश्यकता छ । 

आजको समयसम्म आइपुग्दासमेत निरपेक्ष गरिबीको सङ्ख्या १५.१ प्रतिशत रहेको छ । जसले आधारभूत आवश्यकता परिपूर्ति गर्न सकेका छैनन् । आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान दिँदै नागरिकका दैनिक आवश्यकता परिपूर्ति गर्ने वातावरण निर्माण गर्नु÷गराउनु विशेष गरी राज्यको दायित्व हो । यसका लागि हामी आमनागरिक समग्र राष्ट्रहितका लागि अगाडि बढ्न सक्नु पर्छ । नागरिकको मानवीय मूल्य वृद्धि गर्नका लागि शिक्षा र अनुसन्धानको क्षेत्रमा व्यापक लगानी गर्नु पर्छ । आधारभूत आवश्यकता नै परिपूर्ति गर्न नसकेका मानवलाई क्षमतावान्, ऊर्जाशील र उत्पादनमुखी बनाउनु भनेकै मानव पुँजीको विकास गर्नु हो । मानिसभित्र स्वयम् नैतिक, मानसिक, सामाजिक र सांस्कृतिक गुणको पर्याप्त विकास हुनु पर्छ भन्ने अवधारणाले समेत मानव पुँजीको अवधारणासँग सिधा सम्बन्ध राख्छ । 

विश्वका विकसित देशमा मानव संसाधन विकासलाई संस्थाको व्यावसायिक रणनीति बनाएर व्यवस्थापन र सञ्चालक समितिमा समेत लैजाने गरिन्छ । त्यसको कार्यान्वयन पनि पूर्ण रूपमा हुने गरेको पाइन्छ । नेपालमा समेत यसको अनुसरण हुन आवश्यक देखिन्छ । मानव विकासका सबै आयाममा प्रदेशहरूबिच रहेको अन्तरलाई न्यूनीकरण गर्न हाल सञ्चालनमा रहेका कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्छ । स्थानीय आवश्यकताका आधारमा मात्र स्थानीय कार्यक्रम सञ्चालन गर्ने/गराउने परिपाटी बसाल्नु पर्छ । प्राविधिक तथा व्यावसायिक शिक्षामा नागरिकको सहज पहुँच हुनु पर्छ । हाम्रा निर्वाचित जनप्रतिनिधि अहिलेको अवस्थाबाट माथि उठी मानव पुँजीका रूपमा प्रस्तुत हुन सक्नु पर्छ । अहिलेको हाम्रो जनशक्तिलाई व्यापक रूपमा मानव पुँजीका रूपमा विकास गरी सोको उचित व्यवस्थापन गर्नु तीन वटै तहका सरकारको साझा दायित्व हो । 

  

Author

गायत्री लम्साल