• १४ वैशाख २०८१, शुक्रबार

सजिलो र आकर्षक होलीको पहिरन

blog

काठमाडौँ, १८ गते । होली (फागुपूर्णिमा) नजिकिएसँगै असनको रामचन्द्र खड्गीलाई रङ तथा होलीको लुगा बेच्न भ्याइनभ्याई छ । फागु खेल्न सेतो टी–सर्ट वा होली लेखिएको लुगा अनिवार्यजस्तै भएपछि सबैको मन लोभिएको हो । उहाँले ‘ह्याप्पी होली’, होलीका रङ, मिलेर खेलौँ होली लेखिएका टी–सर्ट बिक्री गर्दै आउनुभएको छ । बच्चा तथा युवा पुस्ताले यस्ता लुगा बढी खरिद गर्ने अनुभव उहाँले व्यक्त गर्नुभयो । खड्गीले होलीको एक दिन अगाडि भने धेरै लुगा बिक्री हुने बताउनुभयो । 

पछिल्लो समय समूहमा मिलेर होली मनाउने प्रचलन बढ्दो छ । कार्यालय, शैक्षिक संस्था तथा विभिन्न निकायमा जमघट भई होली मनाउने चलन बढेको छ । होली आपसमा अबिर लगाई शुभकामना आदान–प्रदान गरेर मनाइन्छ । समयक्रमसँगै होलीमा पनि विभिन्न लुगा लगाउने फेसन बढ्दो छ । यस पर्वमा विशेष गरेर सेतो रङका लुगा लगाउने प्रचलन छ । होलीमा सेतो रङका प्रिन्टेड टी–सर्ट र ग्रन्च पाइन्टको कम्बिनेसन राम्रो हुन सक्छ । होली खेल्दा आफूलाई फेसनेबल र युनिक देखाउन चाहनेका लागि राम्रो रोजाइ हुन सक्छ । 

होली खेल्दा नाच्न रुचाउने र हलुका लुगा लगाउन मन पराउनेको रोजाइ बन्न सक्छ– सेतो रङको पहेँला कुर्ता सेट । सेतो रङको कुर्ती, सुरुवाल र रातो रङको सल लगाउँदा ट्रेडिसनल लुक्स देखिने फेसन डिजाइनर रमा उप्रेती बताउनुहुन्छ । कुर्ता लगाउँदा शालीन र फेसनेबल देखिने उहाँको भनाइ छ । खुला लुगा लगाउन रुचाउनेको रोजाइमा पर्न सक्छ– पटेला कुर्ता सेट । पटेला कुर्ता सेटमा सल भने चम्किलो (रातो, पहेँला, सुन्तला र नीलो) रङको प्रयोग गर्दा आकर्षक देखिन्छ । होलीमा आफूलाई फेसनेबल देखाउन हाफपाइन्ट प्रयोग बढी गर्ने गरेको छ । गर्मीको आगमन भयो भन्ने सन्देश दिन छोटा पहिरन लगाएको युवतीको भनाइ छ । 

रङमा विभिन्न किसिमका केमिकल प्रयोग गरिने भएकाले यसले छालामा समस्या उत्पन्न गराउन सक्छ । त्यसकारण होली खेल्नु अगाडि यसबारे ध्यान दिन सौन्दर्यविज्ञको सुझाव छ । रङले छालालाई गर्ने असरबाट बचाउन केही सरल उपाय अपनाउन सकिने ब्युटिसियन माया मानन्धरको भनाइ छ । 

उहाँका अनुसार नरिवलको तेल, चिउरीको घिउ, जैतुनको तेल एकैठाउँमा मिसाएर पेस्ट बनाई शरीरमा लगाई तीन मिनेट मसाज गर्नुपर्छ । 

मिक्स तेलको पेस्टले छालालाई चिल्लोपना दिइराख्छ । मिक्स तेलको पेस्टलाई छालामा लगाएपछि सन ब्लक क्रिम प्रयोग गर्दा फाइदा हुने जानकारी दिनुभयो । होलीमा विभिन्न प्रकारका रङले कपाल बिगार्न सक्ने भएकाले यसको स्याहार गर्नु आवश्यक रहेको मानन्धरले भन्नुभयो, “रङमा प्रयोग गरिएको केमिकलले कपाललाई रुखो र ड्यामेज बनाउँछ ।” त्यसैले तोरी, रोजमेरी र जैतुन तथा नरिवलको तेल मिसाएर टाउकोमा पाँच मिनेट मालिस गर्न सुझाव दिनुहुन्छ ।