• १४ वैशाख २०८१, शुक्रबार

आठ दलद्वारा दर्ताको निवेदन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते । आउँदो माघ ८ गतेका लागि निर्धारित राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा भाग लिन आठवटा राजनीतिक दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनका लागि पुस २५ गतेदेखि २८ गतेको समयसीमा निर्धारण गरेको थियो । 

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आठवटा राजनीतिक दलले भाग लिन निवेदन दर्ता गराएका हुन् । लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ रिक्त रहेको राष्ट्रिय सभा सदस्यको एक पदको उपनिर्वाचन आगामी माघ २५ गते हुँदै छ । 

आयोगका अनुसार बिहीबार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले निवेदन दिएका हुन् । यसअघि नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दर्ता गराएका थिए । आयोगले उपनिर्वाचनका लागि माघ ११ गते उम्मेदवारी दर्ता हुने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ । 

रिक्त रहेको सदस्य पदको उपनिर्वाचनमा लुम्बिनी प्रदेशअन्तर्गतका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यलाई मताधिकार हुन्छ । लुम्बिनी प्रदेशको स्थानीय तह र प्रदेश सभामा प्रतिनिधित्व रहे पनि लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले भने उपनिर्वाचनमा भाग लिन निवेदन दर्ता गराएन ।