मुस्ताङमा स्याउ उत्पादन बढ्यो

ठाकुरप्रसाद आचार्य

 

बेनी (म्याग्दी), असोज ८ गते । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यसपटक स्याउको उत्पादनमा वृद्धि भएको छ । दसैँ नजिकिँदै जाँदा यतिखेर मुस्ताङीलाई स्याउ टिप्न भ्याई नभ्याई भएको छ । स्याउका बगैँचामा स्याउ टिप्नेहरूको भीड लागेको छ ।
सडक सुविधासँग उत्पादित स्याउ बजारमा पु¥याउन सहज भएपछि मुस्ताङमा स्याउ खेती विस्तारले तीव्रता पाएको हो । बेनी–जोमसोम सडक निर्माण भएपछि बजार पाउन थालेपछि स्याउको खेती विस्तार र उत्पादन बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्ष चार हजार पाँच सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष अनुकूल मौमस र उत्पादन दिने नयाँ बिरुवा थपिएकाले गत वर्षको तुलनामा दस प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको कार्यालयका योजना अधिकृत शिवपुजन गुप्ताले जानकारी दिनुभयो ।
जिल्लाभर एक हजार ११५ हेक्टरमा गरिएको स्याउ खेतीमध्ये ३७० हेक्टरमा लगाइएको बोटले फल दिन्छ, योजना अधिकृत गुप्ताले भन्नुभयो । अनुकूल मौसम, रोग कीराको समस्या कम भएको र नयाँ बोट थपिएकाले उत्पादन बढेको हो । Apple jumla
कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबोनी, छुसाङमा रेड, गोल्डेन, रिचारेड, फुजी र रोयल डेलीसियस जातको स्याउ खेती हुन्छ । स्याउ बेचेर एक जनाले वार्षिक एक लाख रुपियाँ देखि ७०÷८० लाख रुपियाँसम्म कमाइ गर्छन् । स्याउ खेती हिमाली जिल्ला मुस्ताङका बासिन्दाको प्रमुख आयस्रोत बनेको छ ।
म्याग्दी, बागलुङ, पर्वत, पोखरा, चितवन, काठमाडौँ, चितवन, धादिङ, तनहुँ, स्याङ्जामा मुस्ताङको स्याउ निकासी हुने गरेको छ । गत वर्ष २३ करोड रुपियाँँ मूल्य बराबरको तीन हजार २०० मेट्रिक टन स्याउ मुस्ताङबाट निकासी भएको कृषि विकास कार्यालयले जनाएको छ ।
सडक र स्याउले मुस्ताङका कृषकको जीवनमा नसोचेको परिवर्तन ल्याएको कोवाङका रत्नप्रसाद शेरचनले बताउनुभयो । मुस्ताङका खाली पाखो र बगरमा स्याउ खेती विस्तारको लहर नै चलेको छ ।
अधिकांश स्याउ बगैँचा फल टिप्नुअघि नै बिक्री भइसकेको छ । बगैँचामा लटरम्म स्याउ फलेकोमा उत्साहित बनेका मुस्ताङका कृषक बगैँचाबाटै बिक्री हुन थालेकोमा अझ दङ्ग छन् । व्यापारीले अग्रीम पैसा दिएर स्याउ बगैँचा ठेक्कामा लिएका हुन् । नटिप्दै बगैँचा नै खरिद गर्न थालेपछि स्याउले उचित मूल्य र बजार नपाउने समस्या हटेको थासाङ गाउँपालिका–२ कोवाङका वसन्त शेरचनले बताउनुभयो ।
उहाँले ४५ बोट स्याउलाई चार लाख २५ हजार रुपियाँ बिक्री गर्नुभएको छ । उत्पादनमा सुधार आएको छ । व्यापारीको घुइँचो लागेको छ, तुलाचनले भन्नुभयो । स्याउको राम्रो मूल्य पाएका छौँ । भदौको अन्तिम सातादेखि स्याउ टिप्दा उपयुक्त हुने भए पनि कतिपय व्यापारीले पाक्नुअघि नै स्याउ बजार पु¥याउन थालेका छन् ।
दशकअघिसम्म डोको र खच्चर लिएर आउने व्यापारीलाई फकाई फुलाई स्याउ बेच्नुपर्ने बाध्यता थियो । पहिले बजारमा पु¥याउन नसकिँदा स्याउ बारीमै कुहिएर खेर जान्थ्यो । सस्तोमा बिक्री गर्नुपर्दथ्यो ।
थासाङ गाउँपालिका–१ टुकुचेका निरज तुलाचनको बगैँचामा फलेको स्याउ नटिप्दै बिक्री भएको छ । भदौ पहिलो हप्ता ४१० बोटमा फलेका स्याउलाई व्यापारीले ३० लाख रुपियाँमा ठेक्का लिएका कृषक तुलाचनले बताउनुभयो, भनेजति मूल्य पाएपछि स्याउ पाक्नु र फल टिप्नुअघि नै पेस्की लिएर बगैँचा नै ठेक्कामा दिएको हो, तुलाचनले भन्नुभयो । स्याउ किन्न व्यापारीको प्रतिस्पर्धा छ ।
थासाङ गाउँपालिका–२ कोवाङका नरेन्द्र शेरचनले ४० बोटलाई चार लाखमा ठेक्का दिई सक्नुभएको छ । गाउँकै आफन्तलाई बगैँचा हेरालु राखेर काठमाडौँमा एक दशकसम्म व्यापार गरेका कोवाङका नरेन्द्र शेरचन गाउँ फर्किएर स्याउ खेतीमा लागेका छन् । बेनी–जोमसोम सडक सञ्चालन भएपछि स्याउले बजार पाउन थालेकाले काठमाडौँको व्यापार छाडेर स्याउ स्याहार्न मुस्ताङ फर्किएको शेरचनले बताउनुभयो ।
अरूलाई दिँदा २५ हजार मात्र आम्दानी हुन्थ्यो, शेरचनले भन्नुभयो । आफैले बगैँचा स्याहार गर्न थालेपछि यसपालि उत्पादन पनि बढ्यो, चार लाखमा बगैँचा ठेक्कामा लगाएको छु । भदौको अन्तिम सातादेखि स्याउ टिप्न सुरु हुने जनाइएको छ ।
वि.स. २०६४ मा बेनी–जोमसोम सडकको ट्रयाक खुलेपछि किसानमा उत्साह र जाँगर पलाउनुका साथै स्याउ खेतीमा उभार आएको छ । रासायनिक मल र विषादीको प्रयोग नगरिएको, स्वच्छ वातावरणमा उत्पादित मुस्ताङको स्याउ स्वादिलो र रसिलो हुनाले बजारमा प्रसिद्ध छ ।
बढ्दो तापक्रम र रोग कीराको समस्या स्याउ खेतीमा चुनौतीका रूपमा देखिएको मार्फा शितोष्ण बागवानी विकास फार्मका प्रमुख बालकृष्ण अधिकारीले भन्नुभयो । पहिले स्याउ खेती हुने लेते र कुञ्जोमा अहिले स्याउका बिरुवा नै छैन, अधिकारीले भन्नुभयो । तापक्रम वृद्धिसँग स्याउखेती विस्तारै माथि चढ्दै गएको छ । मुस्ताङको स्याउको गुणस्तर र उत्पादन वृद्धिका लागि कृषकहरूले खेती विस्तारसँग बगैँचा र रोग कीराको व्यवस्थापनमा प्राथमिकता दिनुपर्ने अधिकारीले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना