• ६ चैत २०८०, मङ्गलबार

पीएसजीको रोमाञ्चक जित

blog

ट्रोयसविरुद्ध गोल गर्दै पीएसजीका केलियन एमबाप्पे । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक १३ गते । साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा ट्रोयसमाथि रोमाञ्चक जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले ट्रोयसलाई ४–३ गोलले हरायो ।

पीएसजीको जितमा कार्लोस सोलेर, लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पेले गोल गर्नुभयो । ट्रोयसका मामा बाल्देले दुई तथा एन्टे पलभर्साले एक गोल गर्नुभयो । खेलमा सुरुवाती अग्रता ट्रोयसले लिएको थियो । तेस्रो मिनेटमै मामा बाल्दले गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो ।

त्यसपछि २४औँ मिनेटमा  कार्लोसले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । बाल्देले ५२औँ मिनेटमा गोल गर्दै ट्रोयसलाई पुनः अग्रता दिलाउनुभयो । ५५औँ मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याउनुभयो ।

नेयमारले ६२औँ र एमबाप्पेले ७७औँ मिनेटमा गोल गर्दै पीएसजीलाई बलियो बनाउनुभयो । ८८औँ मिनेटमा पलाभर्साले गोल गरेपछि  ट्रोयसले हार टार्न सकेन । जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले १३ खेलबाट ३५ अङ्क बनाएको छ । पीएसजीले लिगमा अपराजित यात्रा समेत कायम गरेको छ ।

पराजित ट्रोयस १३ अङ्क सहित ११औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको लेन्सको ३० अङ्क छ । शनिबार राति नै भएको खेलमा लेन्सले टोउलुसेलाई ३–० गोलले हरायो । अर्को खेलमा मार्सेली र स्टार्सबर्गले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी