• १४ वैशाख २०८१, शुक्रबार

अर्थचित्र विमोचन, तीन आर्थिक पत्रकार पुरस्कृत

blog

काठमाडौं, असोज १३ गते । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेको हो । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित रहेको छ । 

नाफिजले आफ्ना सदस्यलाई महत्वपूर्ण पुरस्कारसमेत वितरण गरेको छ । शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार एक जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार दुई जनालाई प्रदान गरिएको हो ।

आर्थिक पत्रकारितामा सबैभन्दा ठूलो एक लाख रुपियाँ धनराशीको ‘शारदा– ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बाट बिजमाण्डु डटकमका खेमराज श्रेष्ठ पुरष्कृत हुनुभएको छ भने ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार (५० हजार राशी)’ बाट बाह्रखरी डटकमका विजय पराजुली र टक्सार म्यागेजिनका अनुप आचार्य पुरष्कृत हुनुभयो । उहाँहरुलाई नगद र पुरस्कारसँगै प्रमाणपत्र पनि वितरण गरिएको हो ।

जर्नल विमोचन तथा पुरस्कार वितरण समारोहमा डेपुटी गर्भनर बमबहादुर मिश्रले पत्रकारिता पेशा आफैँमा जटिल रहेको बताउनुभयो । विशेष गरी आर्थिक पत्रकारिता थप जटिल हुनसक्ने उहाँको धारणा छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नाफिजसँग जोडिएर आर्थिक पत्रकारलाई थप दुई पुरस्कार दिने घोषणा गर्नुभयो । 

नेपाल निर्जीवन बीमा व्यवसायी संघले स्रोत जुटाई एउटा कृषि र अर्को बीमासम्बधी पुरस्कार दिने घोषणा गरेको छ । दुई पुरस्कारको धनराशी ५०/५० हजारको हुने पनि उहाँले घोषणा गर्नुभयो । 

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष तथा पुरस्कारका ट्रष्टी पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्तिको कुरा हुनुपर्ने र सोही अनुसारको मुद्दा उठ्नुपर्ने बताउनुभयो ।

बैंक तथा बीमा विज्ञसमेत रहेका अर्का पुरस्कार ट्रष्टी तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले पत्रकारिता गहिराइमा हुनपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल घरेलु तथा महासङ्घका अध्यक्ष उमेशकुमार सिंहले उद्योगी व्यवसायीले गलत गरेको खण्डमा झक्झक्याउने काम हुने गरेको बताउनुभयो ।