• २५ वैशाख २०८१, मङ्गलबार

कुष्ठरोग अस्पतालमा नयाँ संरचना बन्दै

blog

लालगढ कुष्ठ रोग असपताल तथा सेवा केन्द्र तथा ठेकेदार कम्पनीबिच नयाँ संरचना निर्माणका लागि भएको सम्झौता अदानप्रदान हुँदै। तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, वैशाख १४ गते। लालगढ कुष्ठरोग असपताल तथा सेवा केन्द्रमा नयाँ संरचना निर्माण हुने भएका छन्। नेपाल लेप्रोसी ट्रष्टद्वारा सञ्चालित अस्पतालको भवन विस्तार कार्यक्रम अन्तर्गत सेवा केन्द्र परिसरमा एकैसाथ सात वटा नयाँ भवन निर्माण तथा तीन वटा पुराना भवनको पुनर्निर्माण गरिने भएको हो। 

अस्पतालका सपोर्ट सर्भिसेस म्यानेजर सुमन तामाङका अनुसार नयाँ निर्माण हुने संरचनामा अपरेसन थिएटर, रिसर्च युनिट, आतिथि आवास तथा अतिथि गृह, हाउस किपिङ, चमेनागृह तथा तालिम केन्द्रका लागि नयाँ भवन निर्माण हुन लागेको हो। 

नयाँ संरचनाले यस अस्पतालको सेवा सुविधालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप स्तरोन्नति गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो। 

अमेरिकी ल्याप्रोसी मिसनमार्फत दातृ निकाय युएसएड–आशा ले वित्तीय सहयोग उपलब्ध गराएपछि नयाँ संरचना थपिन लागेको अस्पताल स्राेतले जनाएको छ। 

यसका लागि डाक वढाबढमा काठमाडौं ६ स्थित श्याम सुन्दर नेरिसा जेभीले ९ कडोरमा बोलपत्र कवोल गरेर अस्पतालसँग शुक्रबार ठेक्का सम्झौतासमेत गरिसकेको छ। ठेकेदार कम्पनीका नवराज पहाडीले २४ महिनाभित्र निर्माण सम्पन्न गरेर अस्पताललाई नयाँ भवन हस्तान्तरण गर्ने बताउनुभयो। 

कुष्ठरोग निवारणका लागि सन १९९१ मा स्थापना भएको लालगढ अस्पतालले ३३ वर्ष लामो सेवाकालमा नेपाल र भारतका गरेर ४१ हजारभन्दा बढी कुष्ठरोगीको उपचार गरेको छ।