• १५ वैशाख २०८१, शनिबार

अर्थतन्त्रको पुनरुत्थानका लागि समन्वय आवश्यक

blog

नेपाल राष्ट्र बैङ्कको ६७औँ वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित समारोहमा सम्बोधन गर्नुहुँदै गभर्नर महाप्रसाद अधिकारी । तस्बिर : कविन अधिकारी

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १५ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोरोना खोपका कारण केही सहज भएको अर्थतन्त्रमा फेरि रुस–युक्रेन युद्धका कारण समस्या थपिएको बताउनुभएको छ । राष्ट्र बैङ्कको ६७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले खस्किँदै गएको शोधानान्तर स्थितिमा तत्काल सुधार नआउने भएकाले समस्या बढ्ने बताउनुभयो ।

अर्थतन्त्रको पुनरुत्थान हुँदै जाने भन्दै उहाँले असहज अवस्थामा सबै पक्षले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । हाल कायम विदेशी मुद्रा सञ्चिति अभाव अझै बढ्नेतर्फ सङ्केत गर्दै उहाँले आर्थिक क्रियाकलापसँगै रकमको माग अधिक बढ्ने भएकाले विदेशी मुद्राको सञ्चितिमा सुधार नआउने बताउनुभयो ।

कोभिड सङ्क्रमण र त्यसको असर क्रमिक रूपमा बढिरहेको अवस्थामा अर्थतन्त्रमा त्यसको चाप प्रत्यक्ष रूपमा पर्ने भएकाले विदेशी मुद्रा सञ्चितिको हालको अवस्था झनै कमजोर बन्ने उहाँको भनाइ थियो ।

अर्थतन्त्रमा समस्या देखिँदै गएको अवस्थामा राष्ट्र बैङ्कले केही नीतिगत व्यवस्थाबाट अर्थतन्त्रलाई सहज बनाउने प्रयास गरेको बताउँदै गभर्नर अधिकारीले तरलता अभावका कारण ब्याजदर बढेको बताउनुभयो । 

रेमिट्यान्समा १ प्रतिशत बढी ब्याज, सुनचाँदीको आयातमा कडाइ, रिपोदर वृद्धि, नगद मार्जिन, एनआरएनलाई डलर खाता, पुनर्कर्जा दर ७ प्रतिशत कायम, घरजग्गा तथा सेयर कर्जा जोखिमको भार वृद्धिजस्ता व्यवस्थाले समस्या न्यूनीकरणमा मद्दत पुगेको उहाँले बताउनुभयो ।

राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. तिलक रावलले अहिले अर्थतन्त्र समस्यामा रहेको भन्दै दुर्घटनामा जान सक्ने बताउनुभयो । अहिले आएको समस्या विश्वव्यापी रूपमा आएको भन्दै कुनै व्यक्तिका कारण अर्थतन्त्रमा समस्या नभएको उहाँको भनाइ थियो । राष्ट्र बैङ्कले केही गर्न सकेन भन्ने कुरा पनि गलत भएको भन्दै उहाँले अर्थतन्त्र कुनै व्यक्तिका कारण समस्यामा परेको नभई बढ्दो आयातले भुक्तानी सन्तुलन बिगारेको र यसले अर्थतन्त्र दुर्घटना उन्मुख बनेको बताउनुभयो ।

अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले बजेटभन्दा व्यापार घाटा धेरै भएकाले अब उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

राष्ट्र बैङ्कको डेपुटी गभर्नर बमबहादुर मिश्रले खाना, नाना र छाना आयात गर्नुपर्ने बाध्यताले बाह्य क्षेत्रमा चाप परेको भन्दै आवश्यकताअनुसार लचिलो र कसिलो हुनुपर्ने भएकाले कोभिड कालमा लचिलो भएकाले अहिले कसिलो भएको बताउनुभयो ।

राष्ट्र बैङ्क डिजिटल मुद्रातर्फ अघि बढेको भन्दै उहाँले भौतिक मुद्रा व्यवस्थापनका लागि स्थापना भएकामा अहिले डिजिटल मुद्राको बहससम्म पुगेको बताउनुभयो । वार्षिकोत्सवको अवसरमा केन्द्रीय बैङ्कले पूर्वगभर्नर डा. तिलक रावललाई सम्मान गरिएको थियो । यस्तै राष्ट्र बैङ्कमा सेवा निवृत्त भएका पूर्वकार्यकारी निर्देशक र २० वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।