• २२ वैशाख २०८१, शनिबार

‘सहकारी समस्याबारे राजनीतिक छलफल जरुरी’

blog

काठमाडौँ, वैशाख ९ गते । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले मौलिक चरित्रमा सहकारीलाई फर्काउन राजनीतिक दलबिच गम्भीर छलफल हुनुपर्ने बताउनुभएको छ ।

सहकारीमा देखिएको समस्या समाधानमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे नेपाली कांग्रेसको सहकारी विभाग र विज्ञहरूसँग शनिबार आयोजित ‘सहकारी समस्या तथा भावी रणनीति’ विषयक छलफलमा बोल्दै उहाँले देशले नै सहकारीका विषयमा गम्भीर भएर सोच्नुपर्ने समय आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यति धेरै ठुलो क्षेत्र रहेछ कि हाम्रो देशको जनसङ्ख्यामध्ये एक करोड त सहकारीमा सदस्य रहेछन् । २० वटाभन्दा बढी सहकारी क्षेत्र समस्याग्रस्त रहेछन्, त्यही भएर सहकारीका पीडितलाई न्याय दिलाउन नियमन निकाय र सरकारी संयन्त्रलाई चुस्त बनाउन जरुरी छ ।” उहाँले यसका लागि सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानबिन आयोग भरपर्दो हुनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसकी नेतृसमेत रहेकी सभापति राणाले सहकारी संस्थासँग ठगीमा परेको रकम असुली गर्ने जनशक्ति नभएको र नेपाल प्रहरीले पनि त्यसमाथिको उजुरी सुनुवाइमा समेत चासो नदिएको संसदीय समितिमा गुनासो आएको जानकारी दिँदै यसप्रति सबैले गम्भीर भएर सोच्नुपर्ने धारणा राख्नुभयो ।

विसं २०७४ सालमा सहकारी जथाभाबी खोल्न दिने ऐन बनेपछि यस क्षेत्रमा समस्या भित्रिएको र त्यसको समाधान गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । 

कांग्रेस सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले सहकारिता वचनमा नभई व्यवहारमा देखिनुपर्ने जनाउँदै सहकारी अभियानको आवश्यकता शुद्धीकरण सुदृढीकरणको रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारितामार्फत समुन्नत समाज निर्माण सम्भव बनाई समाजवादोन्मुख अर्थ व्यवस्था स्थापना गर्ने अठोट लिएर अघि बढ्नु पर्छ ।”

सहकारी क्षेत्रका वर्तमान समस्यामाथि प्रकाश पार्दै उहाँले सहकारी क्षेत्रमा सहकारिताको अभ्यास कमजोर हुनु वा सहकारी सिद्धान्त, मूल्यमान्यता, दर्शन र आदर्शको अभ्यासमा कमी देखिनु प्रमुख कारण रहेको बताउनुभयो ।

छलफलमा सहभागीले सहकारी क्षेत्र राज्य नियन्त्रित हुनुपर्नेमा जोड दिँदै हतारमा समस्याग्रस्त घोषणा गर्न नहुने, जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने र सहकारीको ऐन, नियम, आदर्श एकातिर र अभ्यास अर्कोतर्फ नहुनुपर्ने धारणा राख्नुभयो ।