• ४ चैत २०८२, बुधबार

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख राजस्व सङ्कलन

blog

मालपोत कार्यालय ताप्लेजुङको कार्यालय। तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ को तुलनामा चालु आर्थिक वर्ष २०८२–८३मा ४० लाख ५ हजार १६३ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो ।

आर्थिक वर्ष २०८२–८३को पछिल्लो आठ महिना अर्थात फागुन मसान्त सम्ममा दुई करोड २२ लाख २५ हजार ८७ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालय प्रमुख निर्मल शेर्पाले जानकारी दिनुभयो । गत आर्थिक वर्षको सोही अवधिमा एक करोड ८२ लाख १९ हजार ९२४ रुपियाँ मात्र राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा रजिस्ट्रेसन दस्तुर, न्यायिक सेवा, मोठ रोक्का तथा प्रतिलिपि प्रदानबाट एक करोड पाँच लाख १८ हजार ७६५ रुपियाँ र पूँजीगततर्फ ७७ लाख एक हजार १५९ रुपियाँ गरी कुल एक करोड ८२ लाख १९ हजार ९२४ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा रजिस्ट्रेसन दस्तुरमार्फत एक करोड २३ लाख ३८ हजार ४८९ रुपियाँ, न्यायिक सेवामार्फत तीन लाख ७३ हजार २६९ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालय प्रमुख शेर्पाको भनाइ छ । उहाँका अनुसार मोठ रोक्का ६० हजार एक १ सय र प्रतिलिपि ७९ हजार १ सय रुपियाँ राजश्व सङ्कलन भएको छ । 

कार्यालय प्रमुख शेर्पाका अनुसार सबैभन्दा बढी माघमा ४८ लाख ९७ हजार ४२२ रुपियाँ र सबैभन्दा कम कात्तिकमा १२ लाख ४५ हजार १३ रुपियाँ राजश्व सङ्कलन भएको छ। त्यस्तै, चालु आवको साउनमा १६ लाख ४१ हजार ४३२ रुपियाँ, भदौमा १४ लाख ७१ हजार ३७७, असोजमा २४ लाख ४१ हजार ५०३, मङ्सिरमा ४२ लाख ८६ हजार ८०७, पुषमा ४२ लाख ९१ हजार २१० र फागुनमा १९ लाख ५० हजार ३२३ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।