शंकर केसी
सल्यान, चैत ४ गते। जिल्लामा जंगली जनावरको आतंक बढ्दै जाँदा किसानहरू चिन्तित बनेका छन् । वर्षायाममा मुख्य अन्नबाली मकै खेतीमा ठुलो क्षति पुर्याउँदैआएको बँदेलले अहिले हिउँदयाममा समेत उत्तिकै क्षति गर्न थालेपछि किसानहरु थप मारमा परेका हुन् ।
वर्षायाममा पनि बँदेल, बाँदर, दुम्सी लगायतका जनावरको उपद्रो सहन बाध्य यहाँका किसान हिउँदयाममा पनि क्षति व्यहोर्न बाध्य छन् । जिल्लाको कपुरकोट, सिद्धकुमाख, छत्रेश्वरी, बनगाड, कुपिण्डे लगायत सबैजसो पालिकाका किसान जंगली जनावरको आतंकका कारण हैरान छन्।
कपुरकोट गाउँपालिका –३ लामिडाँडाका किसानहरु बँदेलले रातिको समयमा गहुँ, केराउ लगायतका बालीनाली चौपट पारेको बताउँछन् । बारीमा पसेर गहुँको बाला चपाउने, गोयार हालेर बाली सखाप पार्ने तथा लगाएका तरकारी समेत नष्ट गर्ने गरेको किसानहरूको गुनासो छ । स्थानीय नन्दी कवरले बँदेलले दिनदिनै क्षति गर्न थालेपछि आफूहरू बाध्य भएर काँचै अवस्थामा नै गहुँ काट्न थालेको बताउनुहुन्छ ।
“एक त सिँचाइको सुबिधा छैन, बल्लतल्ल गहुँका बाला लागेका थिए । बाली पाक्नै नदिइ बँदेलले सखाप पार्न थालेपछि काँचैमा काट्नुपर्ने भयो” उहाँले भन्नुभयो । लामिडाँडाकै अर्का किसान चन्द्रबहादुर वलीले रातभरि बारीमा बस्दा पनि बँदेलबाट बाली जोगाउन नसकिएको गुनासो गर्नुभयो । “राति बेला बखतमा बारीमा गएर बस्दा पनि हुँदैन, कतिखेर बँदेल आउँछन् अनि बारीमा बस्छन्, गहुँ र केराउ सबै सखाप पार्यो” उहाँले दुःखेसो पोख्नुभयो।
बँदेलको संख्या बढ्दै जाँदा नियन्त्रण गर्न कठिन भएको स्थानीयको भनाइ छ । परम्परागत रूपमा धपाउने उपायहरू प्रभावकारी नहुँदा किसानहरू झनै समस्यामा परेका छन्। स्थानीय तह र सम्बन्धित निकायले जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि ठोस योजना ल्याउनुपर्ने माग किसानहरूले गरेका छन् । किसानहरूले क्षतिपूर्ति व्यवस्था, खेतबारीमा तारबार तथा प्रभावकारी नियन्त्रण उपाय अवलम्बन गर्न आग्रह गरेका छन्।