• ४ चैत २०८२, बुधबार

देवदहमा सवारी दुर्घटना बढेपछि सडकमै पूजा

blog

सवारी दुर्घटना बढेपछि सडकमै पूजा गर्दै देवदहका स्थानीय । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली 

सिद्धार्थनगर, चैत ४ गते । रूपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृतआत्माको चीर शान्तिको कामना गरेका छन् । सडक दुर्घटनाबाट ज्यान गुमाएकाहरूको आत्मशान्तीको कामना गर्दै देवदह-९, घोडाहाका स्थानीयले सडकमा पूजा गरेका हुन् । 

स्थानीयवासीले स्वतः स्फूर्त रूपमा सहयोग सङ्कलन गरेर मृतकहरूको आत्मशान्तिको कामनासहित स्वस्ती शान्ति, नारायणबली, लक्ष्यवर्ती प्रज्वलन तथा भागवत पूजा गरेको स्थानीय नारायण पाण्डेयले जानकारी दिनुभयो । १४ जना पण्डितहरू जुटाएर गरिएको पूजा कार्यमा देवदह–९, घोडाहामा विभिन्न समयमा दुर्घटनामा परी ज्यान गुमाएकाहरूको परिवारका सदस्यसमेत सरिक भएको थिए। 

सो क्षेत्रमा केहि वर्ष यता १८ जना भन्दा बढीले ज्यान गुमाएको प्रहरीको भनाइ छ । पछिल्लो ४ महिना यतामात्र देवदह–९, घोडाहा काँटाचोकमा भएको सवारी दुर्घटनामा २ जनाको घटना स्थलमै ज्यान गएको थियो ।

‘हामीले घोडाहामा विभिन्न समयमा भएका दुर्घटनामा परि मृत्युवरण गरेकाहरूको स्मृतिमा सडकमै सामुहिक पूजन कार्यक्रम गरेका हाैँ,’ पाण्डेयले भन्नुभयोे, ‘पटक–पटक दुर्घटना हुने र दुर्घटनामा ज्यान गुमाउनेहरूको नारायणवली नगरिएकै कारण थप दुर्घटना हुनेगरेको भनी पण्डित जि हरुले समेत सुझाएपछि हामीले यो कार्य गरेका हौं ।’

यसैबिच स्थानीयले सडकमा पूजा गरिरहँदा प्रहरी चौकी देवदहले त्यहाँ उपस्थित सर्वसाधारणलाई ट्राफिक सचेतना शिक्षा प्रदान गरेको छ । प्रहरी सहायक निरीक्षक मिथिलेस कुमार यादवले उपस्थित सर्वसाधारणलाई ट्राफिक नियमको पालना नगर्दा अधिकांश दुर्घटना हुने गरेको भन्दै ट्राफिक नियमबारे सामान्य जानकारी सबैमा हुनुपर्ने बताउनुभयो ।