शशिधर पराजुली
विराटनगर, चैत ४ गते । मोरङको बुढीगंगा गाउँपालिका –४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो आगलागी हुँदा ११ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । बाँस र काठबाट बनेका घरहरुमा अचानक सुरु भएको आगोले बस्तीका ११ वटा घर केही बेरमै जलेर नष्ट भएको थियो ।
प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिएको छ । बुढीगंगाको बाँसबारीस्थित गोकुवा चोकबाट पूर्वतर्फ रहेको सो बस्तीमा दिउँसो करिब २ बजेतिर सोनु ऋषिदेवको घरबाट आगो लाग्न सुरु भएको थियो ।
कच्ची र टाटीबेरा गरिएको घरमा आगो तीब्र गतिले फैलिएको थियो । आगलागीका कारण घरभित्र भएका ग्यास सिलिण्डर विष्फोट हुँदा आगो फैलिएर थप घरहरुमा क्षति पुगेको हो ।
घटनाको जानकारी पाउनासाथ विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएका दमकल, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सक्रियतामा नियन्त्रणमा लिएको थियो ।
करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले इलाका प्रहरी कार्यालय नेमुवाका सई अशोक कार्की र जिल्लाबाट वरिष्ठ सई राजेन्द्र कटवालको नेतृत्वमा टोली खटिएर आगो नियन्त्रणमा सहयोग गरेको बताउनुभयो ।
थप क्षति हुन नदिन प्रहरी र स्थानीयले आगोले भेट्नै लागेको एउटा घर भत्काएर अग्निरेखा बनाएका थिए । आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, धनमाललगायत सबै वस्तु जलेर नष्ट भएको थियो । दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने अत्यन्त विपन्न मुसहर समुदायका परिवारहरू अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
आगलागीबाट घरबार गुमाएका परिवारलाई बुढीगंगा गाउँपालिकाले सामूहिक मेस सञ्चालन गरी तत्कालका लागि खाना खाने व्यवस्था मिलाइरहेको छ । उनीहरुलाई तत्काल बासको व्यवस्था मिलाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।