• २० वैशाख २०८१, बिहिबार

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा

blog

बुटवलमा रहेको सुप्रिम सहकारी र अध्यक्ष गुरुङ । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख ७ गते ।
 सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको छ ।

शुक्रबार न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिनुभयो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा आज थुनछेक बहसका क्रममा सात जना उपस्थित थिए ।

न्यायाधीश डा. उप्रेतीको इजलासले उनीहरूमध्ये गुरुङलाई थुनामा पठाउने र अरू ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको हो । 

अदालतले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई चार लाख रुपियाँ धरौटीमा रिहा गर्न  आदेश गरेको  छ ।

त्यस्तै, नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईँसँग १८ लाख, दीपक न्यौपानेसँग चार लाख ४५ हजार, निता थापामगरसँग दुई लाख र रोशनी गुरुङसँग दुई लाख रुपियाँ धरौटी माग भएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिनुभयो । अदालतमा उपस्थित नभएका प्रतिवादीहरूका नाममा भने म्याद जारी गरिएको छ ।

यस्तै, कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश हुँदा जीबीराईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ ।

सुप्रिम सहकारीमा रकम बचत गर्ने एक हजार ८३१ जनाले आफूहरूको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । बचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब सवा एक अर्ब रुपियाँ अपचलन गरेको छ ।

सहकारी पीडितहरूले वैशाख ४ गतेदेखि निर्णायक आन्दोलन सुरु गरेका थिए । प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीवी राईसहितका प्रतिवादीलाई पक्राउ गरेर कारबाही गर्नसमेत माग गरेका छन् ।

सङ्घर्ष समितिका संयोजक विजयकुमार नेपालले आफूहरूले न्याय नपाएसम्म सङ्घर्षलाई निरन्तरता दिने बताउँदै माग पूरा नभए काठमाडौँ गएर संसद् घेराउ गर्नेसमेत चेतावनी दिनुभएको छ ।