• १३ साउन २०८१, आइतबार

‘अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन’

blog

राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएका नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन २८ गते । सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरभन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै  उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरमा नहुने बताउनुभएको हो ।

उहाँले आफू राष्ट्रपतिबाट मनोनीत सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रूपमा नरहेको उल्लेख गर्नुहुँदै कानुन अनुरूप चल्नुपर्ने कुरामा मानसिक रूपमा तयार भएको बताउनुभयो ।

राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरूपको स्तरमा पुर्‍याउन आफ्नो भूमिका हुने जानकारी दिनुभयो । उहाँले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरूलाई एकताबद्ध बनाएर लैजाने पनि बताउनुभयो । दाहालले तत्काल बनाउनुपर्ने कानुनहरूमा ध्यान दिइने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कतिपय अपूरा कामहरू छन्, त्यसलाई पूरा गर्ने कुरा । विशेषगरी अहिले तत्काललाई केही विधेयकहरू पास गर्नु छ । कानुनहरू बनाउनु छ । त्यस विषयमा गम्भीरताका साथ छलफल पनि भइराखेकै छ । पहिले त्यता ध्यान दिनेकुरा भइहाल्छ । राष्ट्रिय सभाप्रति अहिले बुझाइ जुन ढङ्गको छ नि, संविधानमा लेखेको विषय र राष्ट्रिय सभालाई बुझ्ने कुरामा जुनखालको अन्तरजस्तो देखिएको छ, त्यसकारण राष्ट्रिय सभालाई संविधानत्व जे उल्लेख गरिएको छ ।,’’ उम्मेदवार दाहालले भन्नुभयो, ‘‘जुन मान्यताका साथ राख्न कोसिस गरिएको छ, त्यो स्तरमा राष्ट्रिय सभामा पुर्‍याउनुपर्छ भन्ने मलाई लागिराखेको छ । तेस्रो कुरा, समृद्ध नेपाल निर्माणको कुरा आइराखेको छ । त्यसको निम्ति चाहिने राजनीतिक सवाल हुन सक्छन् । त्यसमा सबै राजनीतिक दलहरूसँग मिलेरै एकताबद्ध भएर, राजनीतिक दललाई साथमा लिएर जाने कुरा हुन्छ ।’’

दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीको प्रस्ताव र एमाले सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसाल र जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।