गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ५ गते । सिन्धुलीको कमलाखुँज क्षेत्रमा २०३५ सालतिर भिमान गौरनटोलका रघुनाथ कोइरालाको हत्या गरिएको थियो । राजनीतिक रङ दिइएको यो हत्याले गाउँमा भयङ्कर त्रास फैलियो । परिवार विस्थापित बन्न पुग्यो । त्यही वास्तविक घटनाको पृष्ठभूमिमा अनिता कोइरालाले लेख्नुभएको ‘उज्यालो औँसी’ उपन्यासको परिचर्चा सोही पात्र र परिवेशमा सम्पन्न गरिएको छ ।
स्रष्टा पदयात्रा नेपालद्वारा आयोजित १०६ औँ यात्रा शृङ्खला (जेठ १–३) अन्तर्गत सो परिचर्चा गरिएको हो । सिन्धुलीको कमलामाई नगरपालिका–९, गौरनटोलमा सहिद रघुनाथ कोइराला ट्रस्टद्वारा आयोजित कार्यक्रममा सहिद रघुनाथ कोइरालाले सो क्षेत्रमा पु¥याउनुभएको सामाजिक, आर्थिक, शैक्षिक योगदानबारे चर्चा गरिएको थियो ।
ट्रस्टकी संरक्षक तथा सहिद रघुनाथ कोइरालापत्नी कालिकादेवी कोइरालाको अध्यक्षता तथा पूर्वसांसद श्यामकुमार घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार भारती न्यौपानेले गौरनटोलमा उपस्थित भइरहँदा ‘उज्यालो औँसी’ का पात्रलाई आफैँले भेटिरहेको आभास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “औँसीले अन्धकारलाई जनाए पनि जीवनका पीडा र कठिनाइ चिर्दै उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने यस उपन्यासको सजीव कथावस्तुले जीवनमा गहिरो र सार्थक प्रभाव पारेको छ ।”
समीक्षक डा. हेम भण्डारीले समाजमा व्याप्त कुसंस्कार र असमानताबिच चेतनाको राँको बाल्न उत्प्रेरित गर्ने उपन्यास कृतिका लागि सर्जक कोइरालालाई बधाई दिनुभयो ।
लेखिका अनिता कोइरालाले दिवङ्गत पिताका सत्कर्मलाई साहित्यको माध्यमबाट उजागर गरेको चर्चा गर्नुभयो । कार्यक्रममा कविहरूले रचना वाचन गर्नुभएको थियो । त्यसअघि साहित्यकारले गौरनटोलदेखि रानीचुरी दरबारसम्म पदयात्रा गर्नुभएको थियो ।