• ३ असार २०८१, सोमबार

बागमती प्रदेशमा नयाँ सत्ता समीकरणका लागि सकस

blog

बागमती प्रदेशको हेटौँडामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय । तस्बिर : गोरखापत्र

राममणि दाहाल

हेटौँडा, फागुन २२ गते । केन्द्रमा सत्ता गठबन्धन टुटेसँगै बागमती प्रदेशको नयाँ सरकार निर्माणको लागि सत्ता समीकरणको चर्चा सुरु भएको छ ।

लोकतान्त्रिक बामगठबन्धन टुटेर केन्द्रमा नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरूको नयाँ सत्ता समीकरण निर्माण भएसँगै बागमती प्रदेशमा नयाँ सरकार निर्माणका सत्ता समीकरण परिवर्तनको चर्चा सुरुभएको हो ।

केन्द्रमा नयाँ समीकरण बन्दा यस प्रदेशमा नयाँ समीकरणका लागि सकस देखिएको छ । माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारलाई केन्द्रमा भएको समीकरण अनुसार नै यस प्रदेशमा बहुमत पुर्‍याउन समस्या पर्ने सम्भावना रहेको छ ।

अहिलेको लोकतान्त्रिक बामगठबन्धनको निरन्तरताको सम्भावना नरहेको र नयाँ समीकरणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ नदिएको अवस्थामा मुख्यमन्त्री जम्कट्टेललाई बहुमत पुर्‍याउन एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन जुटाउनुपर्ने छ ।

११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ । सरकार गठनका लागि यस प्रदेश सभामा कुनैको पनि दलको स्पष्ट बहुमत नभएकोले सत्ता गठबन्धनको विकल्प छैन । 

केन्द्रमा गठबन्धन गरेका एमाले र माओवादी केन्द्रको यस प्रदेशमा ४८ जना प्रदेश सभा सदस्य छन् जुन सरकार निर्माण गर्न आवश्यक बहुमत पुग्दैन । यस प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गर्न कांग्रेसलाई १९, एमालेलाई २९,  माओवादी केन्द्रलाई ३५ र राप्रपालाई ४३ जना प्रदेश सभा सदस्यको समर्थन जुटाउनु पर्छ ।

यस प्रदेशमा केन्द्रको वर्तमान गठबन्धनलाई राप्रपाले साथ दिएमा एमालेको २७, माओवादी केन्द्रको २१ र राप्रपाको १३ जना प्रदेश सभा सदस्य गरी ६१ प्रदेश सभा सदस्य पुग्ने छ । तर राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म अब सत्ताको खेलमा नलाग्ने भन्दै अझै कुनै निर्णय गरेको छैन । 

जम्कट्टेल नेतृत्वको सरकारको निरन्तरता दिन अहिलेको गठबन्धनलाई निरन्तरता दिनेसहितका तीन वटा विकल्प छन् । कांग्रेसलाई हटाएर एमाले र राप्रपासहितको सरकार बनाउने वा एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको साथ लिने । 

कांग्रेस, राप्रपा र एकीकृत समाजवादी मिल्दा बागमती प्रदेशमा केन्द्रको सत्ता समीकरणभन्दा फरक समीकरण बन्ने सम्भावना पनि रहेको छ । तीन दल मिल्दा सरकार गठनका आवश्यक बहुमत अर्थात् ५६ जना प्रदेश सभा सदस्य जुट्ने छ । प्रदेश सभा सबैभन्दा ठुलो दल कांग्रेसको ३७, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य रहेका छन् । 

प्रदेश सभा सदस्यसमेत रहनुभएका माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल केन्द्रमा सत्ता समीकरण परिवर्तनभएपछि त्यसको प्रभाव प्रदेश सरकारमा पर्नु स्वाभाविक भएको बताउँदै केन्द्रमा सरकार निर्माण प्रक्रिया पूरा भएपछि नयाँ सत्ता गठबन्धन अनुसारको सरकार प्रदेशमा पनि बन्ने बताउनुभयो । 

उता एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसूदन पौडेलले प्रदेशमा सत्ता समीकरण बारेमा अहिले नै टुङ्गोमा नपुगेको भन्दै केन्द्रको कुरा टुङ्गो लागेपछि यता पनि छलफल हुन्छ र निष्कर्षमा पुग्ने छौ । गत वर्ष पुसमा बनेको बामगठबन्धन केन्द्रमा टुटेर लोकतान्त्रिक बामगठबन्धन बनेसँगै यस प्रदेशमा एमाले सत्ताबाट बाहिरिएर माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीसहितको सत्ता गठबन्धन बनेको थियो ।