• ८ मंसिर २०८१, शनिबार

समृद्ध मधेश

blog

मधेश मध्यदेशको सङ्क्षिप्त रूप हो । मधेश वर्तमानमा तराईको एउटा अभिन्न भूभाग हो, जसले पृथक् पहिचान बोकेको छ । यो पहिचान केवल भौगोलिक बनोटको कारणले उब्जिएको होइन । वस्तुतः कुनै स्थान वा समुदायको सांस्कृतिक पहिचान, इतिहास, जातजाति, भाषा, रहनसहन जस्ता एकभन्दा बढी तìवको संयोजन नै मधेश हो । मधेश एक बहुजातीय, बहुभाषिक र बहुधार्मिक स्थल भए पनि यसको एउटा साझा सांस्कृतिक पहिचान छ, जसको बनोट साझा मनोविज्ञानबाट बनेको छ ।

सन् १९७५ मा प्रकाशित पुस्तक ‘रिजनलिज्म एन्ड नेसनल युनिटी इन नेपाल’ मा अमेरिकी लेखक फ्रेडरिक एच गेजले लेखेका छन्, ‘तराईको महत्वपूर्ण उत्पादन धान हो ।’ यो पुस्तक सन् १९६० को दशकमा अनुसन्धान गरेर प्रकाशित भएको हो । पुुस्तकमा उल्लेख छ, ‘खाद्यान्न अभाव हुने नेपालका पहाडी भेगमा ठुलो परिमाणमा तराईबाट चामल लगिन्छ । त्यति मात्र होइन, तराईको धान भारतमा समेत ठुलो परिमाणमा निर्यात हुन्छ । सन् १९६५ मा तीन लाख ४८ हजार मेट्रिक टन धान तराईबाट भारत निर्यात भएकोे छ ।’ त्यस वर्ष नेपाल विश्वकै पाँचौँ ठुलो धान निर्यातक देश थियो र नेपालले धान निर्यात गरेर २३ करोड ७७ लाख ७२ हजार ६८५ भारतीय रुपियाँ आर्जन गरेको विवरण उक्त पुस्तकमा छ । तराईबाट निर्यात भएका अन्य वस्तु, खास गरी सनपाट र तेलहनबाट धान जत्तिकै मात्रामा नभए पनि उल्लेखनीय भारतीय मुद्रा भित्रिएको थियो । झन्डै छ दशकअघि सात समुद्रपारिका अनुसन्धानकर्ता फ्रेडरिकले देखेको तराई र वर्तमान तराईमा केही भिन्नता र केही समानता छन् । त्यसबेला धान निर्यातमा नेपाल विश्वमै पाँचौँ थियो र त्यो धान तराईले फलाउँथ्यो । यसबाट मधेशको गौरवशाली इतिहास पुष्टि हुन्छ ।

फ्रेडरिकले आफ्नो पुस्तकमा त्यतिबेला नेपालमा सङ्कलन हुने कृषि र औद्योगिक क्षेत्रको राजस्वको ७६ प्रतिशत तराईबाटै जुटेको पनि लेखेका छन् । तराईको उर्वरता र सक्षमता यसैबाट दृष्टिगोचर हुन्छ । देशका अन्य भागभन्दा तराई आजको भाषामा समृद्ध थियो र छ । यहाँ समृद्धिका सूचक पनि प्रशस्त छन् । कृषिमा उर्वरता, भाषा–संस्कृतिमा विविधतायुक्त सम्पन्नता, भौगोलिक सुगमताका आधारमा हेर्दा मधेशको गौरवलाई झल्काउँछ । मधेश प्रदेशको अर्थ मन्त्रालय अनुसार मधेश प्रदेशले नेपालको कुल क्षेत्रफलमध्ये ६.६ प्रतिशत (९,६६१ वर्ग किमी) ओगटेको छ । नेपालको कुल खेतीयोग्य जमिनको १७.७५ प्रतिशत र खेती गरिएको जमिनको १९.०२ प्रतिशत मधेश प्रदेशमा छ । यो प्रदेशमा नेपालकै सबैभन्दा बढी सिञ्चित जमिन (२८.६८%) रहेको देखिन्छ । २०७८ को जनगणना अनुसार यस प्रदेशको जनसङ्ख्या ६१ लख २६ हजार २८८ छ । यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको करिब २१ प्रतिशत हो । जनघनत्वका हिसाबले यो प्रदेश पहिलो स्थानमा छ । मानव विकास सूचकाङ्कका हिसाबले यो प्रदेश अन्य प्रदेशको तुलनामा कमजोर छ ।

मधेश र सीमा जोडिएको भारतमा हिन्दु संस्कृतिसँग सामीप्य छ । यो क्षेत्र धार्मिक पर्यटनका लागि प्रचुरताको खानी हो । मधेश भाषा, संस्कृतिमा सम्पन्न छ । जनकपुर र आसपासमा बोलिने मैथिली नेपालीभन्दा पुरानो भाषा हो । भोजपुरी, अवधी, बज्जिका, थारू, सतारलगायत यहाँका मातृभाषा हुन् । होली, छठ मधेशका मौलिक चाड हुन् । थारू नाच, नेटुवा नाच यहाँ लोकप्रिय छन् । छठमा बनाइने ठेकुवा, पूर्वी मधेशको भक्का, थारू समुदायमा प्रसिद्ध घोँगी जस्ता परिकार यहाँका विशेषता हुन् ।

मधेशमा बोलिने भाषाको कथ्य र लेख्य दुवैको लिखित इतिहास र साहित्य छ । भोजपुरी भाषा विश्वका झन्डै ५० करोड जनसङ्ख्याले बोल्छन् । मैथिली साहित्य र भोजपुरी सङ्गीत विश्वमै गणनामा आउँछ । मैथिली भाषाको इतिहास नेपालका अन्य भाषाभन्दा निकै पुरानो छ । नेपाल भाषा र बङ्गला भाषाको उत्पत्तिको आधार–स्तम्भका रूपमा रहेको मैथिली राजा जनकको तिरहुत राज्यदेखि नै प्रचलनमा रहँदै आएको छ । तिरहुतिया लिपिबाटै विकास भएर मिथिलाक्षर बनेको हो । काठमाडौँका भजन मण्डलीहरूमा अझै नेवार जातिले गाउने भजनमा मैथिली शब्द र विद्यापतिको विषय उल्लेख छ । मुस्लिम शासकको आक्रमणपछि दक्षिणी क्षेत्रबाट भागेर कर्नाट वंशीय राजा नान्यदेव उत्तरी भारतमा आएपछि उनकै दरबारका कवि विद्यापति (मैथिली भाषाका महाकवि) भए । मैथिली भाषाको इतिहास त्रेतायुगमा भगवान् रामको विवाह तिरहुतका राजा जनककी छोरी वैदेही अर्थात् सीतासँग भएको अवस्थादेखि रहिआएको छ ।

राजनीतिक चेत

भाषा संस्कृति मात्र होइन, देशको मुख्य मियो राजनीतिमा पनि मधेश परिवर्तनको सधैँ संवाहक बनेको छ । राणा, राजा फाल्दै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाको बिगुल पनि मधेशबाट फुकियो । पृथ्वीनारायण शाहकै पालादेखि मधेशको भूमि राजाका कारिन्दाहरूलाई जागिर बिर्तामा दिने चलन बसाइएको थियो । सन् १८१५ मा सम्पूर्ण तराईको भूभाग इस्ट इन्डिया कम्पनीलाई सुम्पिइएको थियो । यसबापत राणाहरूले वार्षिक एक लाख रुपियाँ पाउँथे तर उक्त कम्पनीले आफूलाई धेरै रकम दिनु परेको बताएपछि फेरि तराईको भूभाग फिर्ता गरेको थियो ।

राजनीतिमा राणालाई फाल्नेदेखि हालसम्मका आन्दोलनमा मधेशकोे भूमिका अग्रमोर्चामा छ । नेपाली कांग्रेसले २००७ सालको जनक्रान्तिको सुरुवात गर्नुअघि २००५ मा बिहारको दरभङ्गामा गरेको सम्मेलनको खर्च सप्तरीका जनताले उठाएर दिएका थिए । २००७ मा भारतको बैरगनियामा भएको नेपाली कांग्रेसको सम्मेलनले नेपालमा आन्दोलन गर्ने सहमति गर्दा त्यसबेला प्रमुख सहभागिता पनि मधेशकै नेताहरूको थियो । २००७ सालमा प्रजातन्त्रका लागि क्रान्तिको तयारी हुँदा त्यसमा मधेशीको उल्लेखनीय योगदान थियो । सुरुमा उनीहरूले पर्दा पछाडि बसेर सघाए, व्रmान्तिकारी नेताहरूलाई ‘सेल्टर’ दिए । महोत्तरी, सप्तरी र मोरङमा मधेशी जमिनदारहरू प्रजातन्त्रका लागि होमिएका थिए । मधेशमा गजेन्द्रनारायण सिंह, कुशेश्वर पाठक, महेन्द्र राय २००७ सालको क्रान्तिका सूत्रधार थिए । मधेशीहरूको राजनीतिक अभ्यासमा नयाँ आयामको सुरूवात रघुनाथ ठाकुरले गरेका थिए । पञ्चायतकालमा पनि मधेशी नेता र क्रान्तिकारीहरू व्यवस्थाविरुद्ध लडेका थिए । रामराजाप्रसाद सिंह र धनुषाका डा. लक्ष्मीनारायण झा, सत्यनारायण साह, सूर्यनाथ राय यादव र सप्तरीका साकेतचन्द्र मिश्र र दिलीप चौधरी सरकारद्वारा बेपत्ता पारिए । समग्रमा २००७, २०१७ र २०४६ सालमा भएका राजनीतिक परिवर्तनको केन्द्रमा मधेश रह्यो । प्रजातन्त्रको पुनस्र्थापनापछि मधेशी राजनीति केही रणनीतिक रूपमा अगाडि बढेको देखिन्छ । जसको प्रणेता नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंह थिए । मधेशको राजनीति २०६३ सालपछि उत्कर्षमा पुगेको देखिन्छ । २०६३ सालको पहिलो मधेश आन्दोलन र त्यसपछि भएका अन्य आन्दोलनले मधेशी जनतामा सामाजिक, आर्थिक र राजनीतिक सबलीकरण बढाएको छ । नेपालमा सङ्घीयता मधेशकै उपज हो । २०४७ सालमा सद्भावना पार्टी गठनलगत्तै सङ्घीयता, नागरिकता र सामाजिक न्यायको कुरा उठेको थियो । २०४२ सालमा पहिलो पटक गणतन्त्रको नारा पनि मधेशमै लागेको थियो । सप्तरीका रामराजाप्रसाद सिंहले पहिलो पटक सङ्घीयताको बहसलाई सतहमा ल्याएका थिए । 

शिक्षा

मधेश प्रदेशमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान १०.३ प्रतिशत छ । सात वटै प्रदेशमध्ये मधेश प्रदेशको साक्षरता अवस्था सबैभन्दा न्यून छ । यहाँ ६३.५३ प्रतिशत जनसङ्ख्या साक्षर छन् । मधेश प्रदेशमा सबैभन्दा बढी साक्षरता भएको जिल्ला पर्सा र सबैभन्दा कम साक्षरता भएको जिल्ला रौतहट हो । भाषा, कला, उर्वर भूमि, राजनीतिक चेतनालगायत विषयमा समृद्ध मधेश वर्षौंदेखि उर्वर नै रहँदै आएको छ । मिथिला राज्यमा राजा जनकको समयमा शैक्षिक क्षेत्रमा निकै उन्नति भएको थियो । बृहदारण्यक उपनिषद्मा धेरै ठाउँमा राजा जनकको समयमा मिथिला शिक्षाको उन्नयन भूमि थियो । त्यसबेलासम्ममा लेखनकलाको पनि विकास भइसकेको हुँदा शैक्षिक जागरण हुनु स्वाभाविकै थियो । तत्कालीन विद्वान्हरूमा याज्ञवल्क्यको नाम अग्रपङ्क्तिमा छ । श्वेतकेतु, उद्दालक, आरुणि, सत्यकाम, गार्गी, मैत्रेयी आदि पनि सुप्रसिद्ध थिए । याज्ञवल्क्य शुक्लयजुर्वेदका उद्घोषक मानिन्छन् । यी याज्ञवल्क्यको विद्वताकै कारणले मिथिलाको ख्याति सर्वत्र फैलिएको थियो । अनेकौँ ऋषि मिथिला गएर याज्ञवल्क्यसँग वर्णाश्रम, धर्म र अन्य विविध विषयमा शिक्षा लिने गर्थे । यसरी भएको शैक्षिक विकासले मिथिला परवर्ती वैदिक संस्कृतिको महत्वपूर्ण केन्द्र भएको स्पष्ट बुझ्न सकिन्छ ।

स्वयम् दुर्योधनले बलरामसँग मिथिलामा गदायुद्धकलाको अभ्यास गरेको प्रसङ्ग महाभारतमा छ । यसबाट पनि मिथिलाको उच्च शैक्षिक अवस्थाको बोध हुन्छ । शिक्षाप्रतिको जागरुकताका कारणले नै मिथिलाबाट तक्षशिलासम्म अध्ययन गर्न जाने चलन पनि थियो । अहिले पनि मधेश शिक्षाको केन्द्रबिन्दु नै छ । यहाँका स्कुल र कलेजबाट उत्पादित विद्यार्थी राज्यका उच्च पदमा आसीन छन् । मधेश प्राविधिक शिक्षाको हबका रूपमा पनि विकास भइरहेको छ । मधेशमा चार वटा विश्वविद्यालय छ । जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र सप्तरीमा मधेश कृषि विश्वविद्यालय स्थापना भइसकेका छन् । वीरगन्जमा मधेश विश्वविद्यालय र विज्ञान तथा प्राविधिक विश्वविद्यालय स्थापना भएको छ । प्रदेश सरकारले प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा एउटा प्राविधिक विद्यालय स्थापना गर्ने उद्देश्य पनि लिएको छ । यसबाहेक केन्द्र सरकारको मातहत जनकपुरमा राजर्षिजनक विश्वविद्यालय खुलेको छ ।

मधेशमा जति पनि ठुला विद्यालय र आङ्गिक क्याम्पसहरू छन् जस्तो जनकपुरधामको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस र राजविराजको महेन्द्र विन्देश्वरी क्याम्पस नेपालकै पहिलो र जेठो त्रिभुवन विश्वविद्यालयभन्दा पनि जेठा छन् । त्रिभुवन विश्वविद्यालयभन्दा पहिला नै मधेशले शैक्षिक जागरणको सन्देश देशभर फैलाइसकेको थियो । यद्यपि अहिलेको अवस्था त्यस बेलाको भन्दा उल्टो मोडमा छ । तीन हजार ४२० सामुदायिक विद्यालयसहित मधेश प्रदेश सात प्रदेशमध्ये छैटौँ स्थानमा पर्छ । विद्यार्थी सङ्ख्याको आधारमा बागमती प्रदेश पहिलो र मधेश प्रदेश दोस्रो स्थानमा रहेको छ ।  बालिकाको आर्थिक, सामाजिक र शैक्षिकस्तर उकास्न मधेश सरकारले २०७५ साल भदौ १५ गते ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान घोषणा गरेको थियो तर त्यो अभियान सफल हुन सकेको छैन । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान साक्षरता बढाउने एउटा उत्कृष्ट प्रयास हो । यसका साथै मधेश सरकारले ‘छोरी शिक्षा बिमा’ र ‘मुद्दती बचत खाता’ पनि सुरु गरेको हो ।

कृषि

कृषिमा देशैलाई पाल्न सक्ने ठाउँ मधेश हो । १९७८ सालसम्म मधेशले ठुलै परिमाणमा धान भारततर्फ निर्यात गथ्र्यो । तत्कालीन समयमा मधेशका विभिन्न सात स्थानमा धान, चामल निर्यात कम्पनी स्थापना भएको थियो भने २०४० को दशकमा संसारकै प्रमुख खाद्यान्न निर्यातकर्ता थियो । मधेशको जमिन समथर मात्र होइन, उर्वर पनि छ । यहाँको उत्पादकत्व राम्रो छ । अधिकांश जमिनमा तीन बाली लाउन सकिन्छ । 

चाहे नगदे बाली तरकारी होस् वा उखु खेती, धान, मकै, गहुँ आदि सम्पूर्ण खाद्यान्नका लागि मधेश प्रदेश अत्यन्त सम्भावनायुक्त प्रदेश हो । सिँचाइका लागि यहाँ सजिलो र कम खर्चिलो छ । यातायातको सुगमता छ । समग्र देशको २४ प्रतिशत भूमि कृषियोग्य छ । यस प्रदेशमा छ लाख १३ हजार हेक्टर कृषियोग्य जमिन छ । मधेश त्यस्तो प्रदेश हो, जहाँका करिब ६९ प्रतिशत भूमि कृषियोग्य छ । सिङ्गो देशलाई हेर्दा ६३ प्रतिशत कृषि भूमिमा चिस्यान वा ओसिलोपन छ । मधेशमा ९४ प्रतिशत कृषि भूमिमा चिस्यान वा ओसिलोपन छ । यी तथ्याङ्क नै मधेशले कृषिबाटै विकासमा फड्को मार्न सक्छ भन्ने बलिया आधार हुन् ।


समथर भूभागका जिल्लालाई समेटेको मधेश कृषिमा उर्वर भूमि हो । माछा पालनका लागि जनकपुर र बाराको परवानीपुर प्रसिद्ध छ । मधेश प्रदेशका अन्य स्थानमा उत्पादिन माछा देशै भर धानेको छ । केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रको २०७९/८० को तथ्याङ्क अनुसार देशै भर सबैभन्दा बढी बारा जिल्लामा ११ हजार ६३५ मेट्रिक टन माछा उत्पादन भएको छ । वीरगन्ज चिनी कारखाना, कृषि औजार र जनकपुर चुरोट कारखाना जस्ता कृषि उपजमा आधारित उद्योग मधेशमै थिए । हाल ती सबै वर्षौंदेखि बन्द छन् । १९९० को दशकमा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले औद्योगिक प्रतिष्ठानहरू स्थापना गर्न सुरु गर्दा मधेश प्रदेशको वीरगन्ज, कोशी प्रदेशको विराटनगरमा सुरु गरेका थिए । त्यसपछि क्रमशः औद्योगिकीकरण हुँदै २०४८ मा निर्वाचित सरकारले ल्याएको खुला अर्थनीति तथा बदलिँदो समयमा भएको सन् १९९६ को नेपाल–भारत व्यापार तथा पारवहन सन्धिका कारण नेपालमा विदेशी लगानी भित्रिएको र त्यसको मुख्य क्षेत्र मधेश प्रदेशको बारा–पर्सा औद्योगिक क्षेत्र नै भएकाले आजसम्म पनि साना तथा ठुला उत्पादनमूलक उद्योग स्थापनाको प्रमुख स्थल मधेश प्रदेश नै रहेको छ । 

पर्यटन

मधेशको केन्द्र र मधेश प्रदेशको राजधानी जनकपुर आफैँमा धर्म र संस्कृतिको धरोहर हो । भारतसित धर्म र संस्कृति मिल्दोजुल्दो भएकाले यसले पर्यटनको सम्भावनालाई प्रचुर मात्रामा बोकेको छ । धर्म, संस्कृति, भौगोलिकता, आर्थिक स्रोतसाधन तथा राजनीतिक अनुभवले परिपूर्ण जनकपुरको सम्बन्ध मानव सभ्यताको विकाससँगै जोडिएको छ । मिथिला संस्कृतिको केन्द्र, ऋषिमुनिको तपोभूमि, अष्टावक्र, गार्गी, विद्यापतिलगायतको ज्ञानभूमि तथा आफ्नै भाषा मैथिली र लिपि तिरहुत यहाँका सम्पदा हुन् । जनकपुरधाम परापूर्वकालदेखि मैथिली संस्कृतिको केन्द्रका रूपमा परिचित छ । राजा जनक र जानकी अर्थात् सीताको जन्म भएको राज्यको गौरवका रूपमा जनकपुरधामको इतिहास छ । नेपालमै रहेको एक मात्र जनकपुर–जयनगर रेलवे नेपालकै इतिहास हो । जनकपुर धामलाई नेपालका अन्य प्रमुख स्थलसँग जोडेर सर्किट बनाई धार्मिक पर्यटक ल्याउन सकिने सम्भावना देखिन्छ । सर्लाही जिल्लाको बागमती नगरपालिकामा भरतताल मधेशकै पर्यटकीय स्थल बनेको छ । देशकै ठुलो जलाशय रहेको सप्तकोशी नदी प्रदेशको सीमा हुँदै बगेकाले नदीमा जल मनोरञ्जन गर्ने पर्यटकका लागि उपयुक्त छ । वीरगन्ज आसपासका माईस्थान, बिन्दवासिनी, बाराको गढीमाई र सिम्रौनगढलगायत धार्मिक स्थल र पर्सा राष्ट्रिय निकुञ्ज मधेशमै छ । धनुषाको जनकपुरधाम, धनुषाधाम, सिरहाको सलहेश, सप्तरीको छिन्नमस्ता, ठेलिया दह, सर्लाहीको नाढीमन ताल, सतही बिहुला, नारायणपुर, नुनथर, महोत्तरीको पडौलस्थान, रौजा मजारलगायत स्थान मधेशको सौन्दर्य हो । जनकपुरधामका गङ्गासागर, धनुषसागर, वीरगन्जको घडीअर्वासहित ११५ वटा धार्मिक तथा सांस्कृतिक महìव बोकेका पोखरी छन् । भगवान श्रीरामले त्रेतायुगमा जुन, जुन ठाउँमा चरण राखे ती ठाउँलाई एउटै परिपथमा जोडेर रामायण सर्किट नाम दिइएको छ । 

भारतले रामायण सर्किटको अवधारणा सन् २०१४ मै ल्याएर बजेट प्रस्ताव गरी पूर्वाधार विकास गर्दै आएको छ । रामायण सर्किट अन्तर्गत भारतको अयोध्या, शृङ्गवेरपुर र चित्रकुट, सीतामढी, बक्सर र दरभङ्गा, नन्दीग्राम, महेन्द्रगिरी, जगदलपुर, भद्राचलम, रामेश्वरम, हम्पी, नासिक र नागपुर गरी १५ स्थल पर्छ । नेपालमा धनुषाको जनकपुरधाम, महोत्तरीको कञ्चनवनसहित श्रीरामले जुन जुन ठाउँमा चरण राखे ती स्थल पनि रामायण सर्किटमा स्वतः आएका छन् ।

वन्यजन्तु र चरा अवलोकन 

मधेशमा सम्भाव्यता बोकेको अर्को क्षेत्र हो, वन्यजन्तु पर्यटन तर उचित प्रचारप्रसार र पूर्वाधारको अभावमा मधेशका आरक्ष र राष्ट्रिय निकुञ्जले अपेक्षाकृत पर्यटकलाई आकर्षित गर्न सकेको छैन । भारतको उत्तरप्रदेश र बिहार राज्यबाट केही किलोमिटरकै दुरीमा कोशी टप्पु वन्यजन्तु आरक्ष र पर्सा राष्ट्रिय निकुञ्ज छन् । नेपालमा अति दुर्लभ मानिएको अर्नाको बासस्थान रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा ४९० प्रजातिका चरा पाइन्छन् । 

‘कनेक्टिभिटी’ को सुगमता

समथर भौगोलिक बनावटका कारण मधेशलाई ‘कनेक्टिभिटी’ को लाभ छ । पूर्व–पश्चिम राजमार्गले पर्साबाहेक सात वटै जिल्लालाई छोएको छ । जिल्ला सदमुकामसँग विभिन्न हुलाकी सडक जोडिएका छन् भने प्रदेशका हरेक जिल्ला भारतीय सडकसँग जोडिएका छन् । प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रूपमा सप्तरीदेखि पर्साको ठोरीसम्म सहिद मार्ग बनाउन थालेको छ । ढल्केबर–जनकपुर–जटही छ लेन सडक तयार छ । यो सडक भारतको विहार राजमार्गसँग जोडिएको छ । जनकपुरधाम, बाराको सिमरा र सप्तरीमा विमानस्थल सञ्चालनमा छन् । जनकपुर–जयनगर रेल सेवा सुरु छ, जुन भारतीय विशाल रेल सञ्जालसँग जोडिएको छ । भारत र भारतीय मार्ग हुँदै सामान आयात–निर्यातका लागि देशकै प्रमुख सुक्खा बन्दरगाह वीरगन्जमा छ ।

मानवीय विकासमा पछाडि परेको मधेश प्रदेश समृद्धिको मार्गमा अघि बढ्ने प्रयत्नमा छ । प्रदेशको सत्ता नेतृत्व यतिखेर विकास र दिगो समृद्धिका योजनाको तानाबानामा अग्रसर छ । आर्थिक र सामाजिक विकासका सवालमा अन्य प्रदेशको तुलनामा पछाडि परेको मधेश प्रदेश उत्पादनको आपूर्तिको मुहान भए जस्तै सम्भावनाको पनि सङ्गम हो । मधेशका आठै जिल्लाको सिमाना भारतसित जोडिएको छ । विश्वकै उदीयमान अर्थतन्त्र र ठुलो बजार सम्भाव्यता समेटेको भारतसँग जोडिएर रहनुको लाभ यो मधेशसँग छ । छिमेकी लगानीकर्ताले सीमा क्षेत्रका सम्भावनाको उपयोगलाई लगानीको प्राथमिकतामा राखेको देखिन्छ । खुला र भौगोलिक रूपमा सहज हुनुले भारतीय लगानीलाई मधेशले अवसरको रूपमा रूपान्तरण गर्न सहज छ । यसमा उदारवादी सत्ता राजनीतिको आकर्षण उपलब्ध छ । भारतले आफ्नो सीमा क्षेत्र लक्षित पूर्वाधार निर्माणमा रुचि देखाएको प्रस्ट छ । वीरगन्जको सुक्खा बन्दरगाहसम्म विस्तार गएिको रेलवे सेवा, वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जमा एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) यसका प्रमाण हुन् । 

पूर्वपश्चिम रेलमार्गले सीमाका सम्भावनालाई नै लक्षित गरेको बुझ्न कठिन छैन । यस्ता ठुला लगानीले सीमावर्ती क्षेत्रमा औद्योगिक पूर्वाधारलाई मध्य उद्देश्यमा राखेका छन् । यी पूर्वाधार मधेशमा औद्योगिकीकरणका बलिया आधार हुन् । यस्ता आयाम वीरगन्ज र आसपासका क्षेत्रमा बढी विस्तार भएको छ । उद्योग र व्यापारको केन्द्र मानिएको वीरगन्जको आइसिपी, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन, निर्माणाधीन रक्सौल–काठमाडौँ रेलवे मार्ग, व्यापारिक मार्ग, हुलाकी मार्ग, काठमाडौँ–निजगढ द्रुतमार्ग, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, जनकपुर र सिमरा विमानस्थलको स्तरोन्नति जस्ता पूर्वाधारले मधेशको उद्योग र व्यापारको सम्भाव्यतालाई बढाउँछन् । आर्थिक रूपबाट मधेश प्रदेश अनन्त सम्भावना भएको प्रदेश हो तर वर्षौंदेखिको राजनीतिक अस्थिरता, राज्यको आर्थिक क्षेत्रमा न्यून प्राथमिकता, उपयुक्त आर्थिक नीतिको अभाव, आयातमुखी अर्थतन्त्रको बढ्दो प्रभाव, सार्वजनिक शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, औद्योगिक विकासमा न्यून प्राथमिकता, मधेशको मेरुदण्डका रूपमा रहेको चुरेक्षेत्रको विनाश आदि कारणबाट मधेश प्रदेशको अपार सम्भावना रहँदारहँदै पनि यसको अपेक्षित विकास हुन सकेको छैन । 

  

Author

निमिष झा