• १२ साउन २०८१, शनिबार

कोशीको थेग्य्रान व्यवस्थापन नहुँदा नदीको सतह बढ्दै

blog

वराहक्षेत्र, फागुन १९ गते । वर्षामा बाढीले भरिने सप्तकोशी नदी हिउँदमा बालुवाका टापुले भरिभराउ देखिन्छ । वर्षायाममा आउने कोशीको बाढीले त्रसित बनेका कोरिडोर आसपासका बस्तीलाई कोशीको सतह बालुवाले पुरिँदै गएपछि थप भयभीत बनाउँछ । 

वर्षाको बाढीमा धमिलो पानीसँगै बगेर आउने बालुवा, लेदो, माटो र ग्रेगरले प्रत्येक वर्ष कोशीको सतह उच्च हुँदै गइरहेको छ । थुप्रिएको थेग्य्रान व्यवस्थापन नहुँदा नदीको सतह बढ्दै गएको हो । 

पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लामटाङ हिमाल (गोसाइँकुण्ड) सम्मको ठुलो भूभागमा फैलिएका साना ठुला नदीलाई समेटेको सप्तकोशी नदी नेपालको सबैभन्दा ठुलो नदी हो । यो भारतको गङ्गा नदीमा गएर मिसिन्छ । सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर, लिखु सहायक नदी मिसिएर बग्ने सप्तकोशी नदीमा बालुवा थुपिँ्रदै गएपछि नदीकै सतह पुरिँदै आएको छ । 

नदीको सतह उठेपछि नदीको बाढी तटबन्ध छेउसम्म आउँछ जसका कारण केही वर्षदेखि कोशीमा पानीको मात्रा थोरै बढ्दा पनि बाढीले ठुलो रूप लिने गरेको छ । वराहक्षेत्र–९ का स्थानीय भीम कार्की भन्नुहुन्छ, “पहिले पहाडतिरबाट घर नै बगाएर ल्याउँदा पनि कोशीमा त्यत्रो बाढी आउँदैनथ्यो, अहिले सामान्य बाढी आउँदा पनि तटबन्ध छेउमै पानी आइपुग्छ ।”

किन पुरिँदै छ कोशीको सतह चतरासम्म खोँच हुँदै बग्ने नदी चतराबाट समथर क्षेत्रमा फैलिएर बग्छ  । बाढीसँगै बगेर आएका बालुवा, माटोको गेग्य्रानले समथर भूभागमा टापु जस्तो बनेर जमिदिन्छ । जसका कारण बर्सेनि नदी सतह बढ्न पुगेको छ । कोशी ब्यारेजमा बनेको ढोकाले थेग्य्रानलाई निर्बाध रूपमा बग्न अवरोध गर्छ । सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोशी ब्यारेजका ढोका भारतले आफ्नो अनुकूलमा मात्रै खोल्ने हुँदा पुलकै कारण बाढीमा थेग्य्रान निर्बाध रूपमा बग्न पाउँदैन । यसबाट वर्ष याममा नेपालीले बाढीको ठुलो प्रकोप भोगिरहनु परेको छ । पाँच दशकदेखि सयौँ नेपाली परिवार त्यही प्रकोपको सामना गर्न बाध्य भएका छन् । 

सप्तकोशी डुबान कटान बाढीपीडित सङ्घर्ष समितिका उपाध्यक्ष लालबहादुर लिम्बू कोशी नदीले आफ्नो प्राकृतिक सीमा पार गर्दै आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सतह उच्च हुँदै आएपछि प्रत्येक वर्ष नदीले आफ्नो बाटो परिवर्तन गर्दै बग्ने गरेको छ । नदीलाई आफ्नै अवस्थामा फर्काउन नदीको सतहबाट बालुवा व्यवस्थापन गर्न अति आवश्यक भइसकेको छ ।” 

करिब नौ लाख क्युसेक पानी धान्न सक्ने क्षमताको नदीमा पछिल्ला केही दशकदेखि एक लाख ५० हजार क्युसेक पानी हुनेबित्तिकै नदी टिलपिल हुन्छ । स्थानीय नेत्र घिमिरेका अनुसार पहिला कोशी गहिरो थियो, अहिले बालुवाले पुरिँदै आएको छ । घिमिरे भन्नुहुन्छ, “मैले थाहा पाउँदासम्म कोशी पश्चिमतर्फ थियो । कोशी कहिल्यै स्थिर भएर बगेको छैन । कहिले पश्चिम भएर बग्छ कहिले बिचबाटै त कहिले पूर्वी तटबन्धको छेउबाट ।”