• ४ जेठ २०८१, शुक्रबार

‘कलाघर सिन्धुली’ पर्यटन गन्तव्य बन्दै

blog

एकै पोशाकमा सजिएर पञ्चेबाजा बजाउँदै कलाघर सिन्धुलीका युवती । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा
सिन्धुलीमाढी, फागुन १८ गते ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ चपौलीस्थित ‘कलाघर सिन्धुली’ पर्यटन गन्तव्य बन्दै गएको छ । कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माणाधिन कलाघर सिन्धुलीमा सिर्जना गरिएको परम्परागत, मौलिक, लोपोन्मुख, रैथाने र आधुनिक कला संस्कृतिको अबलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्दै गएको स्थानीय बताउछन् ।

स्थानीयका अनुसार कलाघर घुम्न आउने पर्यटकलाई एकै पोशाकमा सजिएका कलाघर सिन्धुलीका युवतिले सुरुमा पञ्चेबाजाले स्वागत गर्दछन् । कुनै बेला जात विशेषले मात्र बजाउने पञ्चेबाजा पर्यटन प्रवर्धनमा गतिलो माध्यम बनेको छ । कलाघर सिन्धुलीले सुरु गरेको पञ्चेबाजा संरक्षण अभियानले त्यस क्षेत्रको पहिचान फराकिलो बनाएको छ ।

कलाघरमा पुराना, लोपोन्मुख कला संस्कृती, रैथाने सामग्री, परम्परागत कलाले भरिपूर्ण भएपछि त्यहा घुम्न आउने पर्यटकको घुइँचो लाग्दै गएको स्थानीय शिक्षक खिलप्रसाद सिग्देल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘कला घरमा आएपछि अहिलेका पुस्ताले पहिलेका पुस्ताले उपभोग गर्दै आएका रैथाने सामग्री, लोपोन्मुख खैजेडी भजनलगायत परम्परागत कला संस्कृति देख्न पाउँछन् ।’’


यतिखेर कलाघरमा लोपोन्मुख हुँदै गएका काठका ठेकी, हर्पे, मदानीलगायत काठ तथा बाँसबाट निर्मित पुराना परम्परागत सामग्री, सिन्धुलीलाई चिनाउने जुनारको आकृति, लालीगुराँस, खुला आकृतिमा पञ्चेबाजाका स्तम्भ, पशुपतिनाथको मन्दिर, जानकी मन्दिर, बौद्ध स्तुपा, धरहरा र अन्य कला संस्कृतिले भरिपूर्ण बन्दै गएको छ ।

बीपी राजमार्गको सोलाभञ्ज्याङबाट ऐतिहासिक सिन्धुलीगढी हुँदै पुगिने कलाघरमा जान पक्की सडक बनेकाले कलाघर सिन्धुली घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको अर्का स्थानीय दुर्गा देवकोटा बताउनुहुन्छ । उहाँका अनुसार कलाघरका युवतीले गाउँघरमा हुने विवाह, व्रतबन्ध जस्ता शुभकार्यमा पञ्चेबाजा बजाउन जाने, विभिन्न धार्मिक कार्यमा खैंजडी भजन गाउने तथा नाच्ने र अन्य विभिन्न सांस्कृतिक कार्यक्रम तथा नाटक प्रदर्शन पनि गर्दै आएका छन् ।

कलाघरका कलाकारको कलाको पहिचान स्वदेशका विभिन्न ठाउँ तथा विदेशको हङकङ, मलेसिया, दुबई, भारतको देहरादुनसम्म फैलिएर विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापामगर बताउनुहुन्छ । कलाघर कला सङ्ग्रहालयमा परिणत हुँदै गएको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘‘मौलिक कलाको संरक्षण गर्दै नयाँ कलाको आविष्कार गर्ने गरी सांस्कृतिक विद्यालयको रुपमा सिन्धुली कलाघरलाई विकास गर्ने लक्ष्य छ ।’’


‘‘सिङ्गो देशको कलालाई कलामार्फत कलैकलाले भरिएको घर बनाउने एउटा अभियान हो,’’ अध्यक्ष थापामगरले थप्नुभयो, ‘‘जसअन्तर्गत नेपाली मौलिक कलाको संरक्षण गर्ने, सँगसँगै नयाँ कलाको आविष्कार केन्द्रको रुपमा विकास गर्ने योजना छ ।’’ कलाघरको वृत्ति विकासका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले सहयोग गर्दै आएको उहाँले सुनाउनुभयो ।

सिन्धुली जिल्लामा नमुना बन्दै गएको कलाघरलाई थप विकास गर्न सके सिन्धुली जिल्लाको मात्र नभई नेपालकै एक पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय बासिन्दा बताउँछन् ।