• १३ असोज २०८१, आइतबार

भलिबल विकासका लागि साढे ४६ लाख रुपियाँको अक्षयकोष

blog

सहयोग रकमको डमी चेक हस्तान्तरण गर्नुहुँदै मोना युकेका अध्यक्ष कुमार फगामीसहित । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य

म्याग्दी, फागुन १६ गते । म्याग्दीमा भलिबल खेलको विकासका लागि साढे ४६ लाख रुपियाँ बराबरको अक्षयकोषको स्थापना गरिएको छ ।

विभिन्न पेसा र रोजगारीका लागि विदेशका विभिन्न मुलुकमा पुगेका म्याग्देलीहरुले चन्दा सहयोग जुटाएर सङ्कलित भएको ४६ लाख ५१ हजार तीनसय ९९ रुपियाँबाट म्याग्दी जिल्ला भलिबल सङ्घ अक्षयकोष स्थापना गरिएको जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । 

अक्षयकोषका लागि संकलत रकम हस्तान्तरणका लागि आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाल सङ्घ (मोना) युकेका अध्यक्ष कुमार फगामीले प्रतिनिधिसभा सदस्य खमबहादुर (खमबिर) गर्बुजामार्फत जिल्ला भलिबल सङ्घका अध्यक्ष बानियाँलाई ४३ लाख ६१ हजार तीनयसय ९९ रुपियाँ बराबरको रकम हस्तान्तरण गर्नुभयो । बेलायतमा बसोबास गर्नुहुने मोना युकेका अध्यक्ष फगामीको पहलमा त्यहाँ रहेका म्याग्देलीहरुबाट उक्त रकम सङ्कलन भएको हो । 

यसैगरी अक्षय कोष स्थापनाका लागि अक्षयकोष संस्थापक समितिबाट एकलाख बिस हजार, म्याग्दी प्रवासी नेपाली सङ्घ मोना कुवेतबाट पचास हजार, म्याग्दी प्रवासी नेपाली सङ्घका अध्यक्ष ददिबल खड्काबाट एकलाख, जिल्ला भलिबल सङ्घका सल्लाहकार प्रकाश कार्कीबाट २० हजार, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना युके) बाट पाँचलाख रुपियाँ सङ्कलन भएको छ । 

म्याग्दी जिल्ला भलिबल अक्षयकोषलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको सङ्घका सचिव कुमार किसानले बताउनुभयो । उहाँका अनुसार उक्त अक्षयकोषको रकम बेनीमा स्थित राष्ट्रिय वाणिज्य बैङ्कमा खाता खोली रकम जम्मा भइसकेको छ । 

अक्षयकोषबाट प्राप्त भएको ब्याज रकमबाट भलिबल क्षेत्रको विकास र भलिबलका नयाँ प्रतिभाको खोजीमा उपयोग गरिने  सङ्घका अध्यक्ष बानियाँले बताउनुभयो । 

बानियाँले भन्नुभयो, ‘‘खेल क्षेत्रमा लगानीको अभावमा भलिबलका प्रतिभाहरू बाहिर आउन सकिरहेका छैनन् । यो अक्षयकोषले नयाँ प्रतिभाको खोजी,खेलाडीलाई प्रोत्साहन,खेलाडी उत्पादन र खेल क्षेत्रको विकासमा ठुलो टेवा पुग्ने आशा गरेका छौँ ।’’ अक्षय कोषको रकम बढाएर आगामी दिनमा एककरोड रुपियाँ पुर्‍याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।