• २१ असार २०८२, शनिबार

सञ्चालनमा आएन बालउद्यान

blog

दोलखा समाचारदाता

दोलखा, असार २१ गते  । दोलखाको उत्तरी गौरीशङ्कर गाउँपालिका इविथानमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त एक करोड ५३ लाख रुपियाँमा निर्माण सम्पन्न बालउद्यान अझै सञ्चालनमा आउन नसक्दा जीर्ण बन्दै गएको छ । आवतजावतमा सहजसमेत नहुँदा निर्माण भएको चार वर्ष बित्नै लाग्दा पनि यो पार्क सञ्चालनमा आउन नसकेको पालिकाका सूचना अधिकारी भीमसेन विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले आसपासका केही बालबालिका ताला लगाइएको गेट नाघेर खेल्ने गरेका छन् । पार्क चार रोपनी जग्गामा फैलिएको छ । वडा कार्यालय, सुरी प्राथामिक स्वास्थ्य केन्द्र, सहकारीलगायतका कार्यालयसहित झन्डै ७० घरधुरी रहेको इविथानको यो पार्क सञ्चालनमा आए बालबालिकाको पर्यटकीय केन्द्र बन्न सक्थ्यो । 

प्रदेशको लगानीमा उपयुक्त ठाउँमा यो पार्क निर्माण गरेको भए पनि समयमै सञ्चालनमा नआउँदा आलोचना सुरु भएको छ । सूचना अधिकारी विष्टले गुनासो गर्दै भन्नुभयो, “संरक्षण छैन, वातावरण छैन, संरक्षणसमेत हुन नसक्दा खेलकुदका सामग्री खिया लागेर जोखिम बनेको बताउनुभयो । यो पार्क चाँडै सञ्चालनमा आउन सके स्वास्थ्य केन्द्र, विद्यालय र बजार क्षेत्रमा आउने बालबालिकालाई फुर्सदको समयमा रमाउन सहज हुने र निर्माणको उद्देश्य पूरा हुने स्थानीय छिन्डोमा शेर्पाले  बताउनुभयो । 

हिमाली गाउँलाई पर्यटकीय केन्द्र बनाउन, स्वास्थ्य केन्द्र तथा वडा कार्यालय आउने सेवाग्राहीको बालबालिकालाई भुलाउन र बजार क्षेत्रका बालबालिका फुर्सदको समयमा रमाउन पार्क निर्माण गरिएको हो । बालबालिकाका लागि आवश्यक भए पनि सञ्चालन हुन नसक्दा उपयोग विहीन बनेको स्थानीय व्यवसायी राजन घतानीले बताउनुभयो ।