सुर्खेत समाचारदाता
सुर्खेत, फागुन १६ गते । वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा शनिबार राति भएको गोलीकाण्डका अभियुक्त चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
शनिबार राति विनोद गिरीमाथि गोली प्रहार भएको थियो । गोलीकाण्डमा संलग्न भएको आरोपमा भारतीय सुटर र अन्य तीन गरी चार जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार भारत उत्तर प्रदेशका रोहित राजपुत, घटनामा संलग्न मोटरसाइकलचालक कैलाली गौरीगङ्गा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक, सहयोगी सोही स्थानका भरत भुललाई पक्राउ गरिएको छ । भारतीय सुटरलाई ल्याउने, होटलमा खानेबस्ने व्यवस्था मिलाउने सुर्खेतका राजन गिरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुर्खेतका प्रहरी प्रमुख एसपी रूपेश खड्काका अनुसार पक्राउ परेकाको बयानका आधारमा अन्य केही व्यक्ति पनि जोडिएकाले थप अनुसन्धान भइरहेको छ । घटनाका मुख्य आरोपित फरार छन् । पक्राउ परेका इन्द्र विकले फरार व्यक्तिसँग गिरीलाई गोली हान्ने विषयमा डेढ महिनादेखि योजना बनाएको बताइन्छ । त्यसपश्चात् २०/२५ दिनअघि विक र फरार व्यक्तिको कैलालीको अत्तरियामा भेटघाट भई सामान्य कुराकानी भएको, सोही ठाउँका भरत भुल तथा भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगन्ज बस्ने १९ वर्षीय रोहित राजपुतसमेतलाई बोलाई घटनाका सम्बन्धमा पूर्वयोजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले जानकारी दिनुभयो ।
पक्राउ अभियुक्तको बयान अनुसार आठ/नौ दिनअघि इन्द्र विक र भरत भुललाई फरार भनिएका व्यक्तिले नेपालगन्ज बोलाई आफूहरूसँग सुटर रहेको र सुर्खेत बस्ने विनोद गिरीलाई मार्नुपर्ने भन्दै डेढ लाख रुपियाँ दिन्छु भनी कुराकानी भएको थियो । ती फरार अभियुक्तले इन्द्र विकलाई मोटरसाइकल, एक नाल कटुवा पेस्तोल र दुई राउन्ड गोली नेपालगन्जमा उपलब्ध गराएका थिए ।
शनिबार बेलुका विनोद गिरी चढेको गाडीमा गिरीलाई लक्ष्य गरी गोली हानिएको तर गोली नलागी प्रयोग गरिएको मोटरसाइकल दुर्घटनामा परेको थियो । राजन गिरीलाई सुटर राजपुतलाई नेपालगन्जबाट सुर्खेतमा ल्याई होटलमा बसाल्ने, खाने व्यवस्था मिलाएको भन्दै पक्राउ गरिएको एसपी खड्काले जानकारी दिनुभयो । उनीहरूलाई पाँच दिनको म्याद थपी थप अनुसन्धान सुरु गरिएको उहाँको भनाइ छ ।