गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २८ गते । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा साढे सात अर्ब प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रिएको छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि माघ महिनासम्म सात अर्ब ४५ करोड रुपियाँ लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा पाँच अर्ब १९ करोड रुपियाँ लगानी भित्रिएको हो । गत आवको सात महिनाको तुलनामा चालु आवमा दुई अर्बभन्दा बढी लगानी भित्रिएको हो ।
यस्तै सात महिनामा २६ अर्ब ८४ करोड १७ लाख ३३ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । नेपालमा लगानी गर्छु भनेर लगानी प्रतिबद्धता धेरै गरे पनि न्यून परिणाममा लगानी भित्रिने गरेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । सात महिनाको अवधिमा खुद पुँजीगत ट्रान्सफर पाँच अर्ब ८३ करोड रुपियाँ रहेको छ । गत वर्ष सो अवधिमा तीन अर्ब ८० करोड रुपियाँ खुद पुँजीगत ट्रान्सफर भएको थियो ।
उद्योग विभागका अनुसार पर्यटन, सेवामूलक र जलविद्युत् क्षेत्रमा बढी लगानी भित्रिने गरेको छ । सबैभन्दा धेरै लगानी चीन, भारत, जापान, अमेरिका, बङ्गलादेशलगायतका मुलुकबाट लगानी प्रतिबद्धता आउने गरेको छ । विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार २६७ परियोजनामार्फत पाँच खर्ब ११ अर्ब ८९ करोड तीन लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ तर प्रतिबद्धताको न्यून रकम मात्र नेपालमा भित्रिने गरेको तथ्याङ्कले देखाएको छ ।