• १२ साउन २०८१, शनिबार

आशा जगाउने ‘गोर्खा वारियर’

blog

काठमाडौँ, फागुन १६ गते । नेपाललाई गोर्खालीको देश भनेर पनि चिनिन्छ तर यस विषयमा चलचित्र निर्माणको सङ्ख्या निकै कम छ । हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा खासै चलचित्र बनेका छैनन् । त्यसैले भूतपूर्व गोर्खा सैनिक तथा निर्देशक मिलन चाम्सले लामो समयदेखि थाती राख्नुभएको ‘गोर्खा वारियर’ को कथालाई चलचित्रको पर्दामा उतार्नुभएको छ । 

बेलायतका लागि ब्रिगेड अफ गोर्खाजले लडेका महत्वपूर्ण युद्धमध्येको एक हो, मलाया युद्ध । गोर्खाले आपत्कालका बेला आतङ्ककारीसँग सन् १९४८ देखि १९६० सम्म लडेर वीरता प्रदर्शन गरेका थिए । त्यही मलाया युद्धमा गोर्खाले देखाएको वीरताको कथालाई चलचित्रमा फरक तरिकाले पस्कन खोजिएको छ । पहिलो र दोस्रो विश्वयुद्ध लडेका गोर्खालीको कथा विश्वभर पु¥याउने उद्देश्यले चलचित्र निर्माणसँगै निर्देशनमा होमिनुभएका निर्देशक चाम्सले चलचित्रमा गोर्खालीको इतिहास, बहादुरी, उहाँहरूले भोगेका दुःख, कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्काउन खोज्नुभएको छ । 

जापानले बेलायती शासन अन्तर्गत रहेको मलाया (हालको मलेसिया) कब्जा गरेपछि बेलायती फौजको तर्फबाट गोर्खाली नेपाली युद्धमा होमिएका थिए । चलचित्रको सुरुवातमा युद्ध लडेका शिशिर वाङ्देलले आफ्नो नातिलाई कसरी गोर्खा सैनिकले युद्ध लडे भन्ने कुरा सुनाउँछन् । त्यसपछि सुरु हुन्छ गोरखा सैनिकको वीरताको कथा । आफ्नो पारिवारिक तस्बिर खल्तीमा राखेर आमा र श्रीमतीलाई घर फर्कने वाचा गरेर रितेश चाम्स (बिर्खे) छिमेकी रियर राई (धने) लाई लिएर मलाया हिँड्छन् । युद्ध मैदानमा बिर्खेमाथि थोपरिएका अनेकन चुनौती मात्र होइन उनको परिवारले बाटो कुर्दै गरेको दुःख पीडाले पनि चलचित्रको कथालाई तार्किक दिशातर्फ धकेल्ने काम गर्छ । चलचित्रमा देखाइएका केही वियोगका दृश्यले अवश्य नै दर्शकको मनलाई च्वास्स पार्दछ ।

चलचित्रमा बिर्खे र धनेको मित्रता तथा अन्य सैनिकले गरेका हस्यौली पाराको हास्य संवादले दर्शक केही मात्रामा भए पनि मनोरञ्जन दिन्छ । यता घरकी बुढी आमा र श्रीमतीबिचको प्रेम वियोगका दृश्यले दर्शकलाई केही हदसम्म वियोगान्त बनाउँछ । चलचित्रमा युद्धमा मरेका लडाकुहरूको शवमाथि झिँगा भन्किएका देखिलिएर खोला तर्दा बाँसको सोली प्रयोग गरेर पानीमुनिबाट सास फेरेका दृश्य दर्शकलाई अनौठो लाग्न पनि सक्छ । 

कुनै बेला चाम्सले निर्देशन गर्नुभएको चलचित्रका कथा कमजोर हुन्थे तर यस पटक उहाँले त्यो कमजोरी हटाउनुभएको छ । उहाँले चलचित्रमा नयाँ र फरक शैली पस्कन खोज्नुभएको छ । युद्ध कसैका लागि पनि सुखद हुन्न । झन् युद्ध मैदानमा होमिएका सैनिकको परिवारको वेदना अत्यन्त असह्य हुन्छ । 

अभिनयको हिसाबले मुख्य भूमिकामा देखिनुभएका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुनुुहुन्छ । उहाँले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी तालिमसमेत लिनुभएको थियो । उहाँले आफ्नो पहिलो चलचित्रबाटै अभिनय शिल्पको क्षमता देखाउनुभएको छ । उहाँको बोल्ने लवजदेखि लिएर अभिनय शैली तारिफयोग्य छ । नायिका रेबिका गुरुङको अभिनयमा खासै नयाँपन झल्किँदैन । उहाँको अभिनय पुरानै ढर्रामा बगेको छ । अन्य कलाकार सुरज तामु रियर राई, भुवन सिंह राई, तिर्छु राईलगायतकाले गर्नुभएको गोर्खा सैनिकको भूमिका ठिकठाक छ । छोटो भूमिकामा देखिएका कलाकार विजय लामाको अभिनय ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भन्ने उखान जस्तै छ । हलमा दर्शकको भिड औँलामा गन्ने जति भइरहेको बेला चलचित्र ‘गोर्खा वारियर’ ले केही मात्रामा भए पनि अन्य चलचित्रका लागि आशा जगाउने काम अवश्य गर्छ । यसको प्रदर्शनले सकारात्मक ऊर्जा प्रवाह गर्ने धेरैको अनुमान छ ।