• ५ वैशाख २०८१, बुधबार

भजन शिरोमणि आचार्यको निधन

blog

काठमाडौँ, फागुन १५ गते । 

जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर,

त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर ।

प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता,

छल्किन्छ ममता मेरो भावगङ्गा जता तता ।।

मन मुटुमा प्राणभन्दा प्यारो देश राखेर यो र यस्तै गीत तथा भजनलाई कालजयी बनाउने गायक भक्तराज आचार्यले काललाई जित्न सक्नुभएन । उहाँले तीन दशकभन्दा बढी त मौन रहेर नै फेरि कालजयी गीत गाउने प्रतीक्षा गर्नुभएको थियो । २०४६ देखि आवाजविहीन आचार्यको सोमबार निधन भयो । 

विसं १९९९ असोज १६ गते धनकुटामा जन्मनुभएका भक्तराज आचार्यको ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो । बाल्यकालदेखि नै जीवनका लागि सङ्घर्ष गर्नुभएका आचार्यले डेढ वर्षको हुँदा नै पितृस्नेह गुमाउनु प¥यो । पति बलभद्रको निधनपछि आमा रेनुकाले भक्तराजलाई आसाम (भारत) को डुअर्स चियाबगानमा काम गर्दै हुर्काउनुभएको थियो ।

३१ वर्ष त्यसरी नै सङ्घर्ष गर्दै सङ्गीत साधनामा लागेका भक्तराज विसं २०३० पछि भने नेपाली साङ्गीतिक क्षेत्रमा तारा जस्तै चम्कन थाल्नुभयो । २०३० सालमा भएको राष्ट्रिय गीत प्रतियोगितामा उहाँले गाएको ‘होसियार यसबखत समयको मुखलाई चिन’ प्रथम हुँदै स्वर्ण पदक प्रदान गरिएको थियो । उहाँसँगै उक्त गीतका सङ्गीतकार तथा रचनाकार अम्बर गुरुङले पनि स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । 

त्यसपछि आचार्य रेडियो नेपालका जागिरे हुनुभयो । त्यसयता २०४६ सालसम्ममा उहाँले साढे चार सयभन्दा बढी गीत रेकर्ड गराइसक्नुभएको थियो तर नियतिलाई उहाँको स्वर मन परेन । २०४६ सालमा आचार्यको जीवनमा भएको दुःखद घटनाले उहाँको आवाज छिन्यो । उहाँमाथि भएको साङ्घातिक हमलापछि उहाँको गायन यात्रामा पूर्णविराम नै लागेको थियो । 

काठमाडौँको बौद्धस्थित ‘छिरिङ रेस्टुरेन्ट’ मा भएको साङ्घातिक आक्रमणका कारण उहाँको टाउकोमा मात्रै एक सय जति टाँका लगाइए । घाइते आचार्यलाई वीर अस्पताल भर्ना गरियो तर १२ दिनसम्म शल्यक्रिया नै हुन सकेन । कवि र गीतकार राममणि रिसालले अति नै अनुनय गरेपछि मात्र डाक्टर उपेन्द्र देवकोटाले उहाँको शल्यक्रिया गर्नुभएको थियो । 

त्यसपछि उहाँ निको त हुनुभयो तर जिब्रोमा अचानक सेतो दाग देखियो, जसले उहाँलाई क्यान्सरको रोगी बनाइसकेको थियो । अन्ततः २०५० साल असोज ११ गते दिल्लीस्थित एम्स अस्पतालमा क्यान्सरग्रस्त उहाँको जिब्रो काटियो । त्यसको छ वर्षपछि जर्मनीमा उहाँको जिब्रो त प्रत्यारोपण गरियो तर उहाँको सुर, ताल र लय आउन सकेन । यसरी उहाँले सारै कष्टकर दिन बिताउनुभयो । 

उहाँका दुई सुपुत्र सत्यराज आचार्य तथा स्वरूपराज आचार्यले बुवाका केही गीत गाएर फेरि जीवन भर्नुभएको छ । 

आचार्यका अधिकांश गीतमा उहाँ आफैँ शब्द रचना गर्नुहुन्थ्यो । सुरुमा दिइएको गीत बमबहादुर थापा जितालीको शब्दमा आचार्यले सङ्गीत भरेर गाउनुभएको थियो । उहाँका दर्जनौँ भजन छन्, जसले उहाँलाई भजन शिरोमणि उपाधि दिलाएको छ । यसका साथै आधुनिक गीत, गजल, राष्ट्रिय, बालगीतलगायत विभिन्न शैलीका गीत गाउनुभएको छ ।

‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘हजार सपना’, ‘माया मेरी साँझ बनी’, ‘जीवन भन्नु त’, ‘यहाँ जिन्दगीले’ लगायत सयौँ गीतमा आवाज दिएका भक्तराजले सङ्गीत क्षेत्रमा ठुलो योगदान दिनुभएको छ । सङ्गीतमा योगदान पु¥याएबापत उहाँ गोरखा दक्षिणबाहु, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, इमेज लाइफ टाइम अवार्डलगायत दर्जनौँ अवार्डले सम्मानित हुनुभएको छ ।  आचार्यको पार्थिव शरीरलाई मङ्गलबार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।