प्रकृति सतत् परिवर्तनशील छ । आज जुन वस्तु छ त्यो भोलि हुँदैन । त्यसकारण पृथ्वीमा भएका जति पनि जीवित वस्तु वा प्राणी छन् ती एक न एक दिन मर्ने छन् ।
एक त जीव मर्न चाहँदैन, सबै जीवले बाँच्न चाहन्छन् । मनुष्यमा बुद्धि र विवेक भए पनि म एक दिन मर्छु भन्ने चेत भएकै हुँदैन । यदि मर्छु भन्ने चेत जागे पनि जीवन अजर अमर नै छ जस्तो व्यवहार गर्छ ।
शास्त्रले भन्दछ समुद्र मन्थनबाट अमृत निस्क्यो । यसलाई प्राप्त गर्नका लागि देवताहरूले दानवसँग छल गरे । अमृत पिएर देवता अमर भए । यसको तात्पर्य के हो भने के समुद्रमा त्यस्तो केही चिज छ जसबाट अमृत निस्कोस् ?, के आज पनि निस्किन्छ ? यो साङ्केतिक पनि हुन सक्छ । अहिले अधिकतम सय वर्षको जीवनमा त अनेकानेक रोग, कष्ट, सन्ताप र झन्झट छन् भने अमरता प्राप्त गर्दा के होला ?
महाभारतमा अष्ट चिरञ्जीवीहरूको उल्लेख गरिएको पाइन्छ । चिरञ्जीवीको अर्थ अमर व्यक्ति । अमरको अर्थ कहिल्यै नमर्ने । आठ जना चिरञ्जीवी हुन्– राजा बलि, परशुराम, विभीषण, हनुमान, वेदव्यास, मार्केण्डेय, अश्वस्थामा र कृपाचार्य । अब प्रश्न उठ्छ यिनीहरू अमर छन् भने अहिले उनीहरूलाई भेट्न पर्ने हो, किन भेटिँदैनन् ?
धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार ती आठै जना चिरञ्जीवी कैयौँ हजार वर्षदेखि यस पृथ्वीमा विचरण गरिरहेका छन् या बसिरहेका छन् तर के धर्तीमा बसेर यति लामो समय जीवित रहन सम्भव छ त ? यद्यपि कतिपय यस्ता ऋषिमुनि थिए, जो धर्तीभन्दा बाहिर गएर फेरि फर्केर आउँथे, शास्त्रमा भनिएको छ ।
यद्यपि हिमालयमा बस्नाले पनि आयु बढ्ने सम्भावना हुन्छ । हिन्दु धर्मशास्त्रहरूमा यस्ता कतिपय कथा छन् जसमा के लेखिएको छ भने अमरता प्राप्त गर्नका लागि फलानो–फलानो दैत्य वा साधुले घोर तप गरी शिवजीलाई प्रसन्न बनाए । कालान्तरमा त्यसको वध गर्नका लागि भगवान्को पनि पसिना आयो । अमर हुनका लागि कतिपय यस्ता मन्त्र छन्, जुन जप्नाले शरीर सधैँ युवा बनिरहन्छ भनिएको छ ।
‘महामृत्युञ्जय’ मन्त्र त्यही अमरता प्राप्त गर्ने साधना मन्त्र हो । यसका बारेमा के भनिएको के छ भने निरन्तर नियममा बसेर, गुरु आज्ञामुताबिक मृत्युञ्जय मन्त्रको जप गर्न सकेमा अमरता पाइन्छ । वेद, उपनिषद्, गीता, महाभारत, पुराण, योग र आयुर्वेदमा अमरत्व प्राप्त गर्ने अनेक साधन बताइएका छन् । आयुर्वेदमा कायाकल्पको विधि त्यसकै एक हिस्सा हो ।
शास्त्रमा उल्लेखित सावित्री–सत्यवान्को कथा त सबैले सुनेको हुनु पर्छ । सावित्रीले आफ्नो तपोबलले यमराजसँग खोसेर आफ्ना पति सत्यवान्को प्राण फिर्ता लिएकी थिइन् । सावित्री र यमराजका बीचमा लामो कुराकानी भयो । के कुरा थाहा हुन सकेको छैन भने सावित्रीले के यस्तो गरिन् र उनका पति सत्यवान् पुनः जीवित भएर फर्के । यस विषयमा जीवित गरिदिने वा हुन जाने प्रक्रियाका बारेमा महाभारत पनि मौन छ तर अवश्य पनि सावित्रीसँग यस बारेमा कुनै प्रक्रिया थियो होला । जुन दिन यो प्रक्रिया वैज्ञानिक ढङ्गले ज्ञात हुन जाला, हामी अमरत्व प्राप्त गर्न सक्ने छौँ ।
भनिएको छ अमरता प्राप्त गर्ने जडीबुटीहरू हिमालयको उच्च पर्वत क्षेत्रमा पाइन्छ । अमर हुने औषधि आर्युवेदाचार्यहरूले केही मात्रामा खोज गरेका पनि छन् तर त्यो व्यवहारमा आउन सकेको छैन । त्यस्तै साधनाद्वारा दैवी सिद्धि प्राप्त गर्न सकेमा वन, पाखा, पर्वत, नदी र हिमालमा भएमा त्यस्ता जडीबुटीको ज्ञान गर्न सकिन्छ भन्ने पनि छ ।
तपाईंले अमरबेलको नाम सुन्नु भएको होला । विज्ञान के चाहन्छ भने मनुष्य पनि यसै अमरबेल जस्तै बनोस्, कायापलट भइरहोस् र जीवित बनिरहोस् । वैज्ञानिकको एक समूह मानवलाई अमर बनाउन दत्तचित्त भएर लागेको छ । समुद्रमा पाइने जेलीफिस (ट्युलिटोप्सिस न्युट्रिकुला) नामक माछा पाइन्छ । यो प्राविधिक दृष्टिबाट कहिल्यै मर्दैन तर एउटा कुरा यदि कसैले यसको हत्या ग¥यो भने वा कुनै अन्य जीवले जेलीफिसको भक्षण गरिदियो भने त उसलाई नमरी सुखै छैन । यस कारण यसलाई ‘इम्मोर्टल जेलीफिस’ पनि भनिन्छ । जेलीफिस बुढेसकालबाट बाल्यकालतिर फर्कने क्षमता राख्दछ ।
माथि जे कुरा भने पनि अमरताको अर्थ प्रकृतिभन्दा पर छैन । प्रकृति हरसमय परिवर्तनशील छ । यसर्थ धर्मशास्त्रको भनाइ साङ्केतिक छ भन्न सकिन्छ । सङ्केत नबुझ्दा मानिस अन्योलमा परेका छन् । महापुरुषहरूको भनाइ के छ भने आत्मा अमर छ, शरीर र इन्द्रीयहरू नासवान् छ । शरीर अलग हो र आत्मा अलग हो भन्ने अनुभूति भएपछि मानिस अजर अमरताको ज्ञात गर्दछ । यसैलाई अमर हुन सकिन्छ भन्ने अलौकिकताको विचार शास्त्रले दिएको हो । हामी शास्त्रको सोझो भनाइको पछि लाग्ने हो भने अमरताको रहस्य बुझ्न हजारौँ वर्ष लाग्न सक्छ ।