• ३ मंसिर २०८२, बुधबार

शेख हसिनालाई सुपुर्दगी गर्ने बङ्गलादेशको अनुरोधलाई भारतले जवाफ नदिनेमा सजीब वाजेद आशावादी

blog

बङ्गलादेशका अपदस्थ प्रधानमन्त्री शेख हसिना ।

वर्जिनिया (अमेरिका) ३ मङ्सिर गते । बङ्गलादेशका अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले बङ्गलादेश सरकारले भारतलाई गरेको सुपुर्दगी अनुरोध अवैध भएको भन्दै नयाँ दिल्लीले यसलाई सम्बोधन नगर्ने विश्वास व्यक्त गर्नुभएको छ ।  

वाजेदले भारत सरकारलाई यो अनुरोधलाई कसरी सम्हाल्ने भनेर राम्रोसँग थाहा भएको जनाउँदै भारत सरकारले यस्तो अवैध अनुरोधको जवाफ नदिने भन्दै भारतीय लोकतन्त्र र विधिको शासनमाथि विश्वास व्यक्त गर्नुभएको छ । बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सोमबार शेख हसिना र उहाँका निकट सहयोगी, पूर्व गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको सजाय सुनाएको छ । 

यसै गरी तेस्रो अभियुक्त, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्ला अल-मामुनलाई सन् २०२४ मा जुलाई-अगस्ट विद्रोहको क्रममा “मानवताविरुद्धको अपराध” गरेकोमा राज्य साक्षी बनेको कारण पाँच वर्षको जेल सजाय सुनाइएको छ । हसिनाले आफ्नो विरुद्धमा गरिएको फैसलाको जवाफ दिँदै बिना निर्वाचन बनेको सरकारले स्थापना गरेको र अध्यक्षता गरेको धाँधलीयुक्त न्यायाधिकरणले गरेको निर्णयमा कुनै लोकतान्त्रिक जनादेश नभएको बताउनुभएको छ ।

यस अघि, विदेश मन्त्रालयले शेख हसिनासँग सम्बन्धित बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले घोषणा गरेको फैसलालाई भारतले ध्यानमा राखेको र भारत बङ्गलादेशका जनताको सर्वोत्तम हितका लागि प्रतिबद्ध रहेको बताएको थियो । रासस/एएनआई