• १३ साउन २०८१, आइतबार

दाङमा एक लाख बढी बालबालिकालाई खोप लगाउने लक्ष्य

blog

घोराही उपमहानगरपालिका–१४ बालमन्दिर आधारभूत विद्यालयमा रहेको खोप केन्द्रमा बालबालिकालाई खोप लगाउँदै स्वास्थ्यकर्मीको टोली । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, फागुन १३ गते । दाङमा दादुरा-रुबेला रोग विरुद्धको खोप अभियान–२०८०-०८१ सुरु भएको छ । जिल्ला खोप समन्वय समिति दाङले घोराही उपमहानगरपालिका–१४ बालमन्दिर आधारभूत विद्यालयमा कार्यक्रमको आयोजना गरेर बालबालिकालाई खोप लगाउन सुरु गरेको हो । 

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वयन समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्ष तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यता एवम् घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्यमन्त्री खनालले खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीलाई खोप सामग्री हस्तान्तरण गर्नुभएको थियो।

खोप सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि मन्त्री खनालले दादुरा–रुवेला रोग सङ्क्रमणका दृष्टिले दाङसहित लुम्बिनी प्रदेशका तराईका जिल्लाहरू जोखिममा रहेकाले सबै बालबालिकालाई समेट्ने गरी अभियानलाई प्रभाकारी बनाउनुपर्ने बताउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले भन्नुभयो, "पटकपटक अभियान सञ्चालन भएपनि दाङ, बाँके, बर्दिया लगायतका जिल्लाहरूमा जोखिम कायमै छ । जोखिमलाई हटाउनका लागि खोप अभियानलाई प्रभावकारी बनाउनुपर्छ ।"

घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले दादुरा-रुवेलाको जोखिमबाट आफ्ना बालबालिकालाई बचाउनका लागि अभिभावकहरू सचेत बनेर खोप लगाउन लाग्नुपर्ने बताउनुभयो । सानो लापरबाहीले पछि ठुलो क्षति समेत हुने जोखिम भएकाले त्यसतर्फ समयमै सोच्नुपर्ने बताउनुभएको थियो ।       

जिल्लामा दादुरा-रुवेला रोग विरुद्धको खोप अभियानका क्रममा ९ महिनादेखि १५ वर्ष उमेर समूहका १ लाख ७१ हजार ६ सय ३४ बालबालिकालाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन किशोर आचार्यले जानकारी दिनुभएको छ । खोप फोकल पर्सन आचार्यका अनुसार जसमा ९ महिनादेखि पाँच वर्षमुनिका ४९ हजार तीन सय ८ जना र पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका १ लाख २२ हजार तीन सय ३६ जना छन् । 

बालबालिकालाई खोप लगाउनका लागि जिल्लामा ७ सय ५ वटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप केन्द्रमा एक हजार चार सय १० जना स्वास्थ्यकर्मी र दुई हजार एक सय १५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएको छ । खोप फोकल पर्सन आचार्यका अनुसार पहिलो चरणमा फागुनको १३ गतेदेखि २१ गतेसम्म जिल्लाका घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बंगलाचुली गाउँपालिका राजपुर गाउँपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा खोप लगाउन सुरु गरिएको छ । 

दोस्रो चरणमा फागुनको २३ गतेदेखि चैतको ३ गतेसम्म तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगीशरण गाउँपालिकामा दादुरा-रुबेला विरुद्ध रोग विरुद्धको खोप अभियान सञ्चालन हुनेछ । खोपको प्रभावकारिताका लागि ९५ प्रतिशत बालबालिकाले लगाउनुपर्ने भएकाले जिल्लामा दादुरा-रुबेला रोगको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै दुई चरणमा खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभएको छ । 

कार्यालय प्रमुख शाहीका अनुसार २०७९ मङ्सिर ३ गतेदेखि २०८० पुस महिनासम्म जिल्लाका विभिन्न स्थानमा ३९ जनामा दादुराको सङ्क्रमण देखिएकाले खोप अभियान सबै बालबालिकाहरूसम्म पुग्नेगरी सञ्चालन गरिएको बताउनुभयो ।