• २४ वैशाख २०८१, सोमबार

फोटोले बदलियो जीवन

blog

काठमाडौँ, फागुन १२ गते । दैलेखमा जन्मिनुभएका फोटो पत्रकार भरतबन्धु थापा कुनै बेला भक्तपुरको वासु उच्च मावि गणितका शिक्षक हुनुहुन्थ्यो तर २०५० सालमा जब उहाँको हातमा क्यामरा पर्‍यो त्यसपछि उहाँको जीवन नै बदलियो । फोटो पत्रकारिताको धेरै नै रुचि राख्नुहुने उहाँले क्यामरालाई छाड्न सक्नुभएन र शिक्षक पेसा छाड्नुभयो । उहाँको तस्बिरप्रतिको लगाबका कारण उहाँ ७७ वटै जिल्ला घुमिसक्नुभएको छ । उहाँ जिल्ला घुम्नुहुन्छ र त्यहाँका कला, संस्कृति, इतिहास, दृश्य, प्राकृतिक सुन्दरता, वाइल्ड लाइफसम्मका दृश्यलाई आफ्नो क्यामरामा कैद गर्नुहुन्छ । यो पेसाले नेपाल चिन्ने र चिनाउने मौका बढी पाइने थापा बताउनुहुन्छ । 

थापाको पहिलो पुस्तक ‘वाइल्ड बेस्ट नेपाल (२०१३)’ मा प्रकाशित भएको थियो । पुस्तकमा तत्कालीन मध्यपश्चिमका क्षेत्रको जीवन, जगत्, संस्कार, संस्कृति र प्रकृति समावेश छन्  । पुस्तकभित्र शैपाल, अपि, दुधकुण्डली, गुरिल्ला ट्रेल, यार्सागुम्बा, डोल्पो, हुम्ला, खप्तड, शुक्लाफाँटा, दैलेखको अखण्ड ज्वाला, रारा, स्वर्गद्वारीलगायतका तस्बिर समेटिएको थापा बताउनुहुन्छ । त्यसपछि उहाँको ‘गन्तव्य कर्णाली (२०१९)’ नामक फोटो पुस्तक प्रकाशित भयो । पुस्तकमा मध्यपश्चिमको पर्यटकीय स्थल, संस्कृति, संस्कार, वेशभूषा र प्राकृतिक दृश्य समावेश गरिएको थियो ।  यसअघि उहाँको ‘मध्यपुर थिमि’, ‘एक्सप्लोर फार वेस्ट’, ‘गन्तव्य कर्णाली’, ‘वेस्टर्न नेपाल’, ‘वाइल्ड वेस्ट नेपाल’ लगायतका पुस्तक सार्वजनिक भएका थिए । 

नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुसन्धान परियोजना अन्तर्गत ‘नेपाल इन इमेजेज’ र ‘तस्बिरमा नेपाल’ भन्ने पुस्तक पनि प्रकाशित गरेको थापाले बताउनुभयो । सातै प्रदेशका विविधता समेटिएको ‘नेपाल इन इमेजेज’ पुस्तकमा ओलाङचुङगोलादेखि सुदूरपश्चिमको कालापानीसम्म तथा सगरमाथादेखि जानकी मन्दिरसम्मका तस्बिर र तिनका विवरण समावेश गरिएका छन् । त्यस्तै ‘तस्बिरमा नेपाल’ पुस्तक अङ्ग्रेजीमा अनुवाद गरिएको हो । पाँच सयभन्दा बढी रङ्गीन तस्बिर पुस्तकमा छन् । पुस्तकमा प्रदेशलाई सात खण्डमा विभाजन गरी तिनलाई चिनाउने दृश्य सामग्रीलाई अलग अलग रूपमा प्रस्तुत गरिएको थापा बताउनुहुन्छ । 

पछिल्लो समय उहाँकै जन्मथलोको पुस्तक ‘पञ्चकोशी दैलेख’ प्रकाशित भएको छ । पुस्तकमा थापाले खिच्नुभएको दैलेख जिल्लामा अवस्थित पञ्चकोशी तीर्थस्थल र दुल्लु नगरपालिकालाई केन्द्रित गरेर दैलेख जिल्लाभित्रका सांस्कृतिक, धार्मिक एवं जीवनशैलीसँग सम्बन्धित तस्बिरहरू सङ्ग्रह गरिएको छ । ऐतिहासिक तथा धार्मिकका साथै कला र संस्कृतिको हिसाबले धनी रहेको भन्दै दैलेख जिल्लाका दुल्लु नगरपालिका क्षेत्रभित्रका प्राचीन सांस्कृतिक विरासतयुक्त सम्पदा, ऐतिहासिक स्थलहरू, कला र परम्परा झल्काउने तस्बिरहरू समावेश रहेको सङ्ग्रहले दैलेख जिल्लाका साथै पञ्चकोशी क्षेत्रको पर्यटन प्रवर्धन र विकासमा सहयोग पुर्‍याउने थापाले बताउनुभयो ।

‘हेम सुनील जोखिमपूर्ण पत्रकारिता पुरस्कार ०७४’, ‘टान सगरमाथा पत्रकारिता अवार्ड’, नेपाल ‘दावानोर्बु माउन्टनेरिङ पत्रकारिता अवार्ड’ लगायतबाट सम्मानित भइसक्नुभएका उहाँलाई नेपाल सरकारले जनसेवाश्री पदकबाट पनि सम्मानित गरिसकेको छ  ।  

“फोटो पत्रकारिता गरेर सबैभन्दा ठुलो कुुरा हासिल गरेको भनेको आत्मसन्तुष्टि नै हो,” थापाले भन्नुभयो, “मैले नेपाल चिन्ने, बुझ्ने र नेपालको दूरदराजमा पुग्ने मौका पाएँ जुन भोलि मेरो समयले साथ नदिन सक्छ । पैसाले किन्न नपाउने सन्तुष्टि पाएँ ।”