• १२ साउन २०८१, शनिबार

सामाजिक सुरक्षा भत्ताले कुचिकारलाई सम्मान

blog

विशाल सुनार 

दुल्लु, फागुन १० गते । नारायण नगरपालिका दैलेखमा कार्यरत कुचिकारलाई सम्मान गरिएको छ । दैलेखको सदरमुकाम समेत रहेको नारायण नगरपालिकास्थित देवकोटा चोकमा नगरको सरसफाई र स्वच्छताका लागि काम गर्दै आएका कुचिकारलाई सम्मान गरिएको हो । 

उमेरले ८० वर्ष पुग्नै लाग्नुभएकी नागरिक आन्दोलनकी अगुवा एवम् समाजसेवी इन्दिरा थापाले आफनाे सामाजिक सुरक्षा भत्ताबाट नगर सफाइमा खटिँदै आएका ५ जना कुचिकार र २ जना सवारी चालकलाई नगदसहित सम्मान गर्नुभएको हो । 

कामले सानो वा ठुलो कोही पनि नहुने भन्दै सन्देश दिने हेतुले सम्मान गरेको बताउनुभयो । ठुला पदासीन व्यक्तिलाई मात्र सबैले हेर्ने तर हाम्रो दैनिकिसँग जोडिएका पात्रहरुलाई कसैले नहेर्ने भएकाले कुचिकारलाईनै सम्मान गर्नुपर्छ भन्ने बुझाइ रहेको जिकिर गर्नुभयो ।  

सम्मान कार्यक्रममा सम्वोधन गर्दे थापाले भन्नुभयो, “उहाँहरु हाम्रो स्वास्थ्य हो, उहाँहरुको कामले हामी सफा ठाउँमा छौं भन्ने अनुभूति भएको छ । यस्तो काम गरिरहँदा उत्साह नभएको हुन सक्छ, उत्साही बनाउने काम नगरबासीको हो, सरकारको हो,”। 

विगत ११ वर्षदेखि निरन्तर कुचिकारको रुपमा काम गर्दै आउनुभएका मानबहादुर सुनार भन्नुहुन्छ, “हामी पनि कोही हाैं भन्ने हौसला मिलेको छ, यत्तिका वर्षपछि कामले सम्मान पाएकोमा खुशी छौं।” 

विगत २१ वर्षदेखि सवारी चालकको रुपमा काम गर्दै आउनुभएका मानबहादुर थापाले भन्नुभयो, “सँगै काम सुरु गरेका तीन जनाको मृत्यु भइसक्यो । स्वास्थ्य समस्याले ज्यान गुमाएकाहरुले सम्मान मात्र हैन उपचार समेत राम्रो पाएनन् । सरसफाइ कर्मचारीको स्वास्थ्य बिमासँगै जीवन सुरक्षाको सवालमा सरकार जिम्मेवार बनोस् ।” 

त्यस्तै कार्यक्रममा प्रमख अतिथिको रुपमा सहभागी नगरप्रमुख लोमन शर्माले कार्य सराहनीय भएकाले सिकाइ भएको बताउनुभयो । शार्माले भन्नुभयो, “स्थायी बनाउनेदेखि दिगो व्यवस्थापन, स्वास्थ्य सुरक्षा र स्रोत साधनको सम्वन्धमा कार्यविधि नै बनाउनेछौं । ” 

दिनानुदिन बढ्दै गएको सहरीकरणको चपेटामा जनस्वास्थय जोखिममा परेको बेला नगरलाई स्वच्छ राख्न सरसफाइ कर्मचारीलाई गरिएको सम्मानले ढाडस मिलेको सहभागीले प्रतिक्रिया दिएका थिए। यस्ताखाले सम्मानले कामप्रति थप जिम्मेवार बन्न प्रेरित गर्ने र र्जा मिल्ने विश्वास गरिएको छ ।