• १ वैशाख २०८१, शनिबार

पालिकाको मुहार फेर्न लागिपरेका छौँ

blog

बागलुङ जिल्लाको दक्षिणी भेगमा पर्ने बरेङ गाउँपालिकामा साबिकका धुल्लुबास्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गरी पाँच वटा गाविस समावेश गरिएको छ । पूर्वमा बागलुङ जिल्लाको जैमिनी नगरपालिका, पश्चिममा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, उत्तरमा गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका पर्दछन् । यस गाउँपालिकामा जिल्लाकै प्रसिद्ध साग्दी सत्यवती मन्दिर रहेको छ । जिल्लाको दुर्गम गाउँपालिकाका रूपमा परिचित रहेको पालिका स्थानीय तह कार्यान्वयन आएसँगै विकास निर्माणले गति लिन थालेपछि सुगम पालिकाका रूपमा चिनिन थालेको छ । ३३ वर्षको उमेरमा पालिका अध्यक्षमा निर्वाचित कृष्णप्रसाद शर्मा २०७९ सालको स्थानीय तहको निर्वाचनमा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो । अध्यक्ष शर्मासँग गोरखापत्रका पत्रकार ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी : 


पालिकाको अध्यक्षमा निर्वाचित भएपछि विकासका काम गर्नुभएको छ ? 

बरेङ गाउँपालिका दुर्गम गाउँपालिकाका रूपमा रहेको पालिका हो । स्थानीय तह कार्यान्वयनमा आएसँगै जनप्रतिनिधि निर्वाचित भएर आएपछि नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी काम अगाडि बढाएका छौँ । सडक, कृषि, शिक्षा र पर्यटन नै विकासको पहिलो आधार मानेर काम गरेका छौँ । पहिलो कार्यकालमा धुलो उड्ने ग्रामीण सडकलाई स्तरोन्नति गर्दै कालोपत्रेको चरणमा पुर्‍य ाएका थियौँ । गाउँपालिकाको व्यापारिक केन्द्र बरेङ बजारभित्रको सडक कालोपत्रे भएको छ । दोस्रो कार्यकालमा छिमेकी नगरपालिका जैमिनी नगरपालिकासँग जोड्ने सडक कालोपत्रे गर्ने क्रममा रहेको छ । सडक स्तरोन्नतिसँगै पालिकाले आर्थिक सामाजिक तथा पूर्वाधार विकासमा फड्को मारेको छ । शिक्षा, स्वास्थ्य, खानेपानीमा हामीले उल्लेख्य मात्रामा सुधार गरेका छौँ । सडकको दुरवस्थाका कारण सदरमुकाम जान पहिला एक दिन लाग्थ्यो । अहिले त्यो अवस्थाको अन्त्य भएको छ । बिहानै हिँडेपछि कार्यालय समयमा सदरमुकाम बागलुङ बजार पुग्न सक्ने अवस्था भएको छ । साथै हामीले ग्रामीण सडकलाई बाह्रै महिना गाडी चल्न सक्ने गरी स्तरोन्नति गरेका छौँ । 

शिक्षा र स्वास्थ्य क्षेत्रमा कसरी काम गर्नुभएको छ ? 

पहिलो कार्यकालमा ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’ बाट सामुदायिक विद्यालयमा आशा गरे अनुसार शैक्षिक सुधार भएको अनुभव गरेका छौँ । शिक्षक, विद्यार्थी र अभिभावकसँग जोडिएका कार्यक्रम सञ्चालनदेखि पूर्वाधार निर्माण गर्‍य ाैं । स्वास्थ्यतर्फ सबै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरेका छौँ । प्रत्येक आधा घण्टाको दुरीमा स्वास्थ्य संस्था स्थापना गरेर नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रवाह गरेका छौँ । जसबाट सामान्य सिटामोल खानसमेत घण्टौँ हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

कृषि क्षेत्रको उत्पादन बढाउँदै हुनुहुन्छ ? 

गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउन सबै वडामा माटो र हावापानी अनुसार कृषि पकेट क्षेत्र घोषणा गरेका छौँ । वडा नं. १ धुल्लुबास्कोटलाई मकै पकेट क्षेत्र, भैँसीपालन कार्यक्रम, भैँसीका पाडापाडी उत्पादन, दुध उत्पादन र व्यावसायिक मकै खेतीतर्फ आकर्षित गर्ने योजना बनाएका छौँ । वडा नं. २ हुग्दीशिरमा अलैँचीको व्यावसायिक उत्पादन थालेका छौँ । वडा नं. ३ बाटाकाचौरलाई फलफूल पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । वडा नं. ४ सल्यानलाई बाख्रा, वडा नं. ५ सुखौरालाई आलु पकेट क्षेत्र बनाएर किसानलाई प्राविधिक सहयोग र उत्पादनमा अनुदानको व्यवस्था पालिकाले मिलाएको छ । कृषि उपजको बजारीकरण र मूल्य निर्धारणमा पालिकाले सहयोग गरेको छ । पशुपालक किसानलाई तालिम, औषधी, गोठ सुधार र नस्ल सुधारलगायतका कार्यक्रम सञ्चालन गरेका छौँ ।   

गाउँपालिकाको विकास र समृद्धिका आधार के के हुन् ? 

कृषि उत्पादनमा वृद्धि र पर्यटनको विकास गरेर आर्थिक समृद्धि हासिल गर्ने हाम्रो मुख्य योजना छ । गाउँपालिकाभित्रका सत्यवती मन्दिर, कालीलेक, सिद्धिथान मन्दिर, छहरेखोला, भैँसीखोला झरना, भित्री वन, भातेपोखरालगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गरेर पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना बनाएका छौँ । कला संस्कृति, भेषभूषा र परम्परा संरक्षणसहित पर्यटन प्रवर्धन गर्ने योजना बनाएका छौँ । 

गाउँपालिकाका नमुना कार्यक्रम पनि छन् ? 

एक घर एक महिला रोजगार कार्यक्रम, नमुना प्राध्यापक शिक्षण कार्यक्रम, जनप्रतिनिधिदेखि राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम, एक वडा एक उत्पादन कार्यक्रम, कर्मचारीलाई प्रोत्साहन गर्न पालिकाभित्रका सम्पूर्ण कर्मचारीलाई पुरस्कृत गर्ने र पालिकावासीलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचजस्ता हाम्रा नमुना कार्यक्रम हुन् । छिमेकी पालिकासँग भगिनी सम्बन्ध पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरेका छौँ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र अनुभव आदानप्रदान गर्न अन्तरविद्यालय शिक्षण कार्यक्रम सञ्चालन गरेका छौँ । 

पालिकाले कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेको छ ? 

कृषि, वन, पर्यटन र मानव तथा सामाजिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गरेका छौँ । 

प्रदेश र सङ्घ सरकारसँग समन्वय भइरहेको छ ? 

समपूरक र विशेष अनुदानका कार्यक्रम सञ्चालन भएका छन् । विद्यालयको भौतिक सुधार गर्ने योजना, सङ्घको समपूरक अनुदान र गाउँपालिकाको साझेदारी योजनामा कालीगण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने पेरीवाङ–बरेङ–उर्लेनी सडक स्तरोन्नति योजना छन् । प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिका रिङरोडको स्तरोन्नति योजना, प्रदेशको विशेष अनुदानमा सर्वोदय मावि विद्यालय भवन निर्माण हुँदै छ । नयाँ बजार–सल्यान–सुखौरा सडक स्तरोन्नति योजना प्रदेश र पालिकाको साझेदारीमा सञ्चालित छ ।  

खानेपानीको अवस्था कस्तो छ ? 

पानीको स्रोत नभएका ठाउँमा लिफ्टिङ गरेर पानी पुर्‍याउने प्रयास गरेका छौँ । सौर्य ऊर्जाको प्रयोग गरेर पानी तान्ने काम थालेका छौँ । सुखौराको लिफ्टिङ खानेपानी योजना सम्पन्न हुने क्रममा छ । अबको एक वर्षपछि गाउँका सबै समस्याग्रस्‍त क्षेत्रमा खानेपानी पुर्‍याउने योजना छ । 

गाउँपालिकाको आन्तरिक आम्दानीको अवस्था कस्तो छ ? 

हाम्रो पालिका आन्तरिक आम्दानी कम भएको पालिका हो । यहाँ नदीजन्य प्रदार्थको स्रोत छैन । पालिकाले लिने सेवा शुल्क र व्यावसायिक कर आन्तरिक स्रोत हुन । आन्तरिक आम्दानीको वृद्धिका लागि कर क्षेत्रलाई फराकिलो बनाउने योजना बनाएका छौँ । 

गाउँपालिकामा के कस्ता चुनौती देख्नुभएको छ ? 

यस ग्रामीण भेगमा अवस्थित पालिका भएकाले कर्मचारी आउन कठिन मान्छन् । अत्यन्तै छरिएको बस्ती र ती छरिएका बस्तीमा सडक, पानी र विद्युतलगायतका पूर्वाधार निर्माण गर्न सीमित स्रोतसाधनका कारण चुनौती छ । उत्पादनमा आधारित कृषि अनुदानको कार्यक्रम लागू गरेपछि यसबारे बुझाउन चुनौती भएको छ । साथै प्राकृतिक विपत्ति र भौगोलिक अवस्था विकासका चुनौतीका रूपमा लिएका छौँ ।