• २५ वैशाख २०८१, मङ्गलबार

महासमितिप्रति बढ्दो चासो

blog

मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक समाजवादी विचारधारा अँगालेको पार्टी नेपाली कांग्रेसले स्थापनाको ७७ औँ वर्ष पूरा गरिसकेको छ । मुलुकमा विद्यमान हुकुमी जहानियाँ राणा शासनविरुद्ध सशस्त्र क्रान्ति गरेर २००७ सालमा प्रजातन्त्रको जग बसाल्न सफल यो पार्टीले राजनीतिक कालखण्डमा पटक पटक भएका जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । प्रजातान्त्रिक मूल्य र मान्यतामा अडिग रहेर जनचाहना अनुरूप अगाडि बढेको पार्टीले प्रजातन्त्र स्थापना, पुनस्र्थापना, राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापनासम्मको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको छ । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका निम्ति अग्रमोर्चामा अडिग कांग्रेसले गणतन्त्रको संस्थागत विकास र सङ्घीयता कार्यान्वयनको जिम्मेवारीबोध गर्न पनि उत्तिकै आवश्यक छ । 

लोकतान्त्रिक चरित्रका कारण पार्टीभित्र हुने सानातिना मतभेदबिच पनि एकढिक्का रहेर मुलुकको राजनीतिमा मियोको भूमिका निर्वाह गरिरहेको पार्टीको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा महासमिति बैठक प्रारम्भ हुँदै छ । यस बैठकमा कांग्रेसले समयसापेक्ष अवलम्बन गर्नुपर्ने नीति र कार्यदिशाका बारेमा घनीभूत छलफल भएर स्पष्ट मार्गचित्र तय गरिने विश्वास राजनीतिक वृत्तमा गरिएकोले राष्ट्रिय रूपमै उच्च चासो देखिएको छ । महासमिति बैठकमा पार्टीले अवलम्बन गर्नुपर्ने नीतिमाथि केही समयअघिदेखि नै गम्भीर विमर्श हुँदै आएको छ । त्यसक्रममा महासमितिमा प्रस्तुत गरिने गरी मूल रूपमा तीन वटा प्रस्ताव तयार पारिएको छ । कांग्रेस केन्द्रीय समितिमा गहन बहस भएको उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावले व्यापक तरङ्ग ल्याएको छ । 

महासमिति बैठकले राजनीतिक रूपमा देखिएका मतभेद, अविश्वास, सैद्धान्तिक अस्पष्टतालगायतलाई आन्तरिक विमर्शमार्फत समाधान गरेर नवीन कार्यदिशा प्रदान गर्ने अपेक्षा आमकांग्रेसजनले गरेका छन् । कांग्रेसलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अनुकूल मुलुकको राजनीतिमा अग्रणी भूमिकामा रहिरहन केही प्राविधिक, व्यावहारिक एवं नीतिगत समस्या देखिएको अनुभव नेतृत्वपङ्क्ति स्वयम्ले नै गरेको अनुभव हुन्छ । पार्टीलाई एकढिक्का बनाउन तथा समयसापेक्ष स्पष्ट दिशानिर्देश गर्न महासमिति बैठक सफल हुने आमकांग्रेसजनको विश्वास छ । विधानतः महासमिति बैठक महाधिवेशन भएको एक वर्षभित्रै बस्नुपर्ने थियो, सो हुन सकेन । पार्टीलाई चलायमान बनाउन नसकेको भन्ने कार्यकर्ताको अनेक गुनासोलाई समेत महासमिति बैठकले सम्बोधन गर्ने अपेक्षा गरिएको छ । 

महासमिति बैठकको पूर्वसन्ध्यामा कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सम्पन्न गरिसकेको छ । अभियान सञ्चालन गरेर आमनागरिकमा कांग्रेसप्रतिको विश्वास, अपेक्षा र गुनासोको सुनुवाइ गर्न सफल भएको देखिन्छ । सङ्कलित सुझावहरूमा पनि विचार विमर्श गरेर आगामी कार्यदिशा तय गर्न मद्दत पुग्ने अपेक्षा उक्त अभियानमा सहभागीहरूले गरेका छन् । नौ लाख क्रियाशील सदस्य भएको पार्टीका कार्यकर्ताले नेतृत्वप्रति राखेको अपेक्षाको सम्बोधन गर्न महासमिति पक्कै पनि चुक्ने छैन । महासमितिमा प्रस्तुत हुने तीन वटै प्रस्ताव उत्तिकै महत्वपूर्ण छन् । संविधान जारी गर्न अहम् भूमिका खेलेको कांग्रेसले संविधानको व्यावहारिक र प्रभावकारी कार्यान्वयनका लागि खरो उत्रिनुपर्ने आवश्यकताबोध हुन्छ । बढ्दो बेरोजगारी, जनशक्ति पलायन, विप्रेषण आप्रवाहमा टिकेको अर्थतन्त्र एवं बढ्दो भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा पार्टीलाई दिशानिर्देश गर्न पनि महासमितिमा घनीभूत छलफल हुनुका साथै सही निष्कर्ष आउने अपेक्षा गरिएको छ । 

मुलुकको सबैभन्दा ठुलो पार्टीको हैसियतमा हुँदाहुँदै पनि गठबन्धन सरकारको नेतृत्व नगरेको सम्बन्धमा मतदाताद्वारा व्यक्त गुनासो एकातिर छ भने अर्कोतिर विपरीत सिद्धान्तका पार्टीसँग गरिएको गठबन्धनले पारेको अलमललाई पनि महासमितिले छिनोफानो गरेर आगामी निर्वाचनमा पार्टीले कुन किसिमको बाटो तय गर्ने भन्ने स्पष्ट मार्गचित्र अहिले नै पारित गर्न आवश्यक भएको महासमिति सदस्यको विचारलाई पनि नेतृत्वपङ्क्तिले मनन गरी नीतिगत मार्गदर्शन गर्नुपर्ने हुन्छ । महामन्त्री गगन थापाद्वारा प्रस्तुत गरिने साङ्गठनिक प्रस्तावमा वर्तमान राजनीतिक प्रणालीलाई व्यवस्थित बनाउन केही नवीन कार्ययोजना प्रस्तुत गरिएको सन्दर्भ सार्वजनिक भएको छ । मुलुकको शासन प्रणालीमा सुधार गर्न आवश्यक भएको भन्दै राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसदको जिम्मेवारीमा चार पटकभन्दा बढी कार्यकाल बस्न नपाउने गरी सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिनुलाई राजनीतिक रूपान्तरणको अभियानमा लागिपरेको देखाउँछ । उही व्यक्ति पार्टीको नेतृत्वमा निरन्तर रहिरहने तथा राज्यका महत्वपूर्ण जिम्मेवारीमा निरन्तर दोहोरिने गर्दा क्षमतावान्ले अवसर नपाउने गरेको तितो सत्यको बहस हुने छ । मुलुकको राजनीतिमा अग्रणी पार्टी भएका कारण कांग्रेसले मुलुकको समृद्धि अहम् भूमिका खेल्ने गरी आगामी कार्यदिशा तय गरेर अगाडि बढ्नु छ ।