अमररराज नहर्की
तनहुँ, फागुन ५ गते । पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा कालोपत्रे सुरु भएको छ ।
दुलेगौंडाबाट बेलचौतारमा सम्मको लागि अस्पाल्ट प्रविधिको कालोपत्रे सुरु गरिएको हो । पश्चिम खण्ड अन्तर्गत यस अघि तनहुँको शुक्लागण्डकी नगरपालिकाको हलेदी, बेलचौतार र म्याग्दे गाउँपालिकाको जामुनेमा र कास्कीको पोखरा महानगरपालिकाका–१२ मजुवामा कालोपत्र गरिएको छ । हाल सम्म ६ किलोमिटर कालोपत्र गरिसकिएको पश्चिम खण्डका प्रमुख इन्जिनियर राजेश पौडेलले जानकारी दिनुभयो ।
यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणमा ढिलाइ हुँदा आयोजनाको काम प्रभावित भएको थियो । सुस्त गतिमा काम भइरहेको पश्चिम खण्डले हाल गति लिन थालेको छ ।
आयोजनामा नयाँ प्रमुख आएसँगै तीन महिना अघि आठ प्रतिशत प्रगति रहेकोमा हाल १५ दशमलव पाँच प्रतिशत पुगेको छ । आयोजनाको कामलाई गति दिन रातको समयमा पनि काम भइरहेको र दसैँ, तिहार जस्ता चाडपर्वमा समेत काम गरिएकोले प्रगति साढे १५ प्रतिशत पुगेको पौडेलले बताउनुभयो ।
रातको समयमा समेत ४० देखि ५० जना कामदार पुल निर्माणका संरचना तयार पार्न खटिइरहेको पौडेलले बताउनुभयो । पौडेलका अनुसार चिनियाँ कामदार ५० जना र नेपालीसहित ६० इन्जिनियर खटिएका छन् ।
फिल्डमा चार सय २५ जना नेपाली कामदारले दैनिक काम गरिहरेका छन् । आयोजना प्रमुख पौडेलले भन्नुभयो, ‘कामलाई गतिशील बनाउन कामदारसँगै उपकरण थपेका छौँ रातमा पनि काम भइरहेको छ ।’
पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौंडासहित मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्रे हुनेछ । एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा भइरहेको पश्चिम खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो ।
पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरा ३८ दशमलव ८८ किलोमिटर दूरीको जसमध्ये २० किलोमिटर दूरीमा छ लेनको बनाइने आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार राजमार्गको पश्चिम खण्डमा १२ वटा मोटरेबल पुल निर्माण भइरहेको र एक सयको हाराहारीमा कल्भर्ट निर्माण हुनेछ । राजमार्गको सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म ६ लेन हुनेछ । गण्डकी प्रदेशको राजधानी समेत रहेको पर्यटकीय सहर पोखरालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडकका रूपमा पृथ्वी राजमार्ग रहेको छ । सरकारले यो राजमार्गको विस्तार तथा स्तरोन्नतिको काम अघि बढाएको हो ।
एसियाली विकास बैङ्क (एडिबी) को सहुलियत ब्याज ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजनामार्फत काम भइरहेको छ ।
राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको छ । पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ ।
पश्चिम खण्डको निर्माणका लागि सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा वि.सं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो। यस आयोजनाको काम वि.स. २०८१ भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ । पूर्वी खण्डमा हालसम्म ४६ दशमलव पाँच प्रतिशत काम पुरा भएको पूर्वीखण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले जानकारी दिनुभयो ।