• ९ जेठ २०८१, बुधबार

योजनाको सम्झौता भटाभट हुँदा असारे विकास नहुनेमा आसा

blog

गाउँपालिकाद्वारा निर्माण कार्य सम्पन्न भएर भुक्तानी भएको सिमकोट रिङ रोड । तस्बिर: राजन रावत

राजन रावत 

हुम्ला फागुन ५ गते ।  चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमले तर्जुमा गरेका कुल योजना मध्ये हालसम्म त्रिहत्तर प्रतिशत भन्दा बढी योजनाको सम्झौता कार्य गर्न सिमकोट गाउँपालिका सफल भएको छ । 

यसअघि फागुन चैत र वैशाख महिनामा मात्र सम्झौता हुने योजनाहरू यस वर्ष भने अधिकांश योजनाहरू समय मै सम्झौता भएर निर्माण कार्य समेत धमाधम भई रहेको पाइएको हो ।

सिमकोट गाउँपालिका लेखा शाखाका लेखा अधिकृत विशाल बोहराले पहिलो पटक गाउँपालिकाले माघ मसान्तसम्म त्रिहत्तर दशमलव २७ प्रतिशत योजनाहरूको गाउँपालिका सम्झौता गर्न सफल भएको बताउनुभयो । यो दर उक्त गाउँपालिकाको गत वर्ष १७ प्रतिशत रहेको थियो । उहाँले गाउँपालिका सार्वजनिक सूचना नै जारी गरेर माघ महिनासम्म सम्झौता गर्नै पर्ने जनाएपछि उपभोक्ताहरू सम्झौताका लागि तातेको बताउनुभयो । उहाँले गाउँपालिका लक्ष शतप्रतिशत योजनाको सम्झौता गर्ने रहे पनि त्यो भने पुरा हुन नसकेको र यति बेला फेरी सम्झौता चाँडो गर्नका लागि सूचना जारी गरिएको बताउनुभयो । 

चालु आर्थिक वर्षका लागि कुल ११६ वटा योजनाहरू गाउँपालिकाका रहेको र त्यस मध्य माघ मसान्तसम्म ८५ वटाको सम्झौता भएर काम सुरु भई रहेको छ । अझै ३१ वटा योजनाहरूको सम्झौता गर्न बाँकी रहेको पाइएको हो । उहाँले पहिलो पटक गाउँपालिका माघ महिना भित्र धेरै योजनाहरूको सम्झौता गरेर निर्माण कार्य अगाडी बढाउन सफलता प्राप्त गरेको बताउँदै गरेपछि हुन्छ भन्ने मान्यता स्थापित भएको बताउनुभयो । विगतका वर्षहरूमा योजनाहरूको सम्झौता कार्य फागुन चैत र वैशाख महिना मात्र मात्र हुने गर्थ्यो । 

सम्झौता भएका ती योजनाहरूमा  ६८ वटा उपभोक्ता र सत्र वटा ठेक्काबाट निर्माण गर्ने रहेका छन् । त्यसको ३४ वटालाई पेस्की समेत गई सकेको छ भने १७ वटा योजनाका लागि काम सम्पन्न भएर अन्तिम भुक्तानी समेत गई सकेको लेखा शाखाले जनाएको छ । यस पटकको यो प्रयासले गाउँपालिकालाई समय मै योजनाहरू सम्पन्न गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । 

जिल्लाका अन्य छ वटा गाउँपालिकाहरूको योजना सम्झौता गर्ने कार्य भने भरखर सुरु भएको पाइएको छ ।