बाजुरा समाचारदाता
बाजुरा, फागुन ४ गते । बाढीपहिरोबाट विस्थापित बस्तीलाई स्थानान्तरणमा सकस भएको छ । विपत्को दृष्टिकोणले असुरक्षित ती बस्ती स्थानान्तरणका लागि बजेट नहुँदा यस्तो समस्या आएको हो ।
त्यस्तै बस्ती स्थापनाका लागि उपयुक्त जमिन फेला नपरेकाले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारलाई सकस भएको हो । स्वामिकार्तिक–१, मुक्तिकोटका नरे लुहारले सुरक्षित बासका लागि सरकारसँग माग राख्दै आएको बताउनुहुन्छ तर बस्ती स्थानान्तरणका लागि कुनै पनि सरकारले चासो नदिएको भनाइ उहाँको छ । उहाँले भन्नुभयो, “गत वर्ष जमिन सबै पहिरोले लग्यो । अहिले घर पनि पहिरोको जोखिममा छ । अब बर्खा लागेपछि कता गएर बस्ने हो चिन्ता छ ।”
गत पुसमा बस्ती स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोली अनुगमनका लागि गाउँमा पुगेको लुहारले बताउनुभयो । बाजुराका अन्य आठ स्थानीय तहका एक दर्जन बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । २०५६ सालमा बुढीगङ्गा नदीमा आएको बाढीपहिरोले बुढीगङ्गा–३, बसाली, सेरा बजार र खेतीयोग्य जमिन र दर्जनौँ घर बगरमा परिणत गरेको थियो । २०६४ सालमा आएको बाढीले बुढीगङ्गा–१, अम्कोट, बल्दे, भलाने, कुडीकर्रालगायतका दर्जनौँ घर पहिरोले बगाएको थियो ।
सरकारले उक्त बस्तीका स्थानीयलाई राहतस्वरूप कपडा, त्रिपाल, नुन, तेल, चामललगायत खाद्यान्न सामग्री उपलब्ध गराए पनि स्थायी बसोबासका लागि भने कुनै व्यवस्था गरेको छैन । २०७७ साल साउन ४ गते राति आएको अविरल बर्साका कारण गौमूलको घटमुना बडीमालिकाको, राप्का, सेलाघाट, घाँघर, जडाङ्गा, रिला र तिपाडालगायतका दर्जनौँ बस्ती विस्थापित छन् ।
ती बस्तीले उपभोग गर्दै आएका सयौँ रोपनी जमिन बुढीगङ्गा नदीले बगाएको थियो । बाँकी रहेको केही जमिनलाई समेत अहिलेसम्म नदीले कटान गर्दै आएको छ । २०७८ जेठ २३ गतेको अविरल बर्साका कारण बुढीगङ्गा १ र २ को कुँडी, खेतकोट नडाग, ताँप्रीसेरालगायतका दर्जनौँ बस्ती पनि बाढीपहिरोको उच्च जोखिममा छन् ।
बडीमालिकाको ओलेना र बुढीगङ्गा नगरपालिकाको ताँप्रीसेरा, बसाली, फालासैन, आसपासका स्थानीय बर्खाको समय सधैँ त्रसित बन्ने गरेका छन् । बर्खामा बुढीगङ्गाको बहाव बढ्दै जान्छ अनि नदी आसपासका ती बस्तीका स्थानीय रातभर जाग्राम बस्छन् । हिउँदमा त यतै बसेका छौँ, अब बर्खा लाग्दो भयो, त्यो बेला कता गएर बस्ने, बडीमालिकाका स्थानीय कमलनाथले बताउनुभयो । उहाँले भन्नुभयो, “जडाङ्गा, ओलेना तिपाडा पैमा, बल्देलगायतका स्थानीयलाई बर्खाको समय खोलाले बगाउँछ कि भन्ने डरैडरमा रात काट्नु परेको छ ।”
तटबन्धन गरे पनि एकीकृत बस्ती व्यवस्थापन नहुँदा यहाँका स्थानीयले बुढीगङ्गा नदी कटानको जोखिम मोल्दै आएका छन् । खप्तड छेडेदहको गुइबन, पाटा, बुढीगङ्गाको अम्कोट, बजेडी, त्रिवेणीको, पैमा, पन्ताली, ढँडाली, कालापानी, मौरे, किम्नी छतारा बस्तीलाई चाँडै नै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको भनाइ स्थानीयवासीको छ तर पनि बस्ती व्यवस्थापन गर्नका लागि स्थानीय तथा सङ्घीय सरकारलाई निकै सकस भएको छ । नौ वटै स्थानीय तहका अध्यक्ष तथा प्रमुखले आआफ्नो स्थानीय तहमा विस्थापित बस्ती स्थानान्तरणका लागि जिल्ला विपत् व्यवस्थापन समितिमा तथ्याङ्क पठाइसकेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।
जिल्लामा पुगेको तथ्याङ्क हेरफेर गरी सङ्घीय सरकारको गृह मन्त्रालयमा पठाएका छौँ, उताबाट थोरै रकम आउँछ, रकम कम आउनु र विस्थापित बस्तीलाई स्थानान्तरण गर्नका लागि उपयुक्त ठाउँ नभएकाले स्थानान्तरण गर्न सकस भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौड्यालले बताउनुभयो ।