• १५ मंसिर २०८१, शनिबार

विकास निर्माण सरकारको पहिलो प्राथमिकता : मन्त्री गुरुङ

blog

दोस्रो चापाकोट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ।

राधाकृष्ण डुम्रे

वालिङ,फागुन ३ गते। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकास निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ। स्याङ्जाको चापाकोटमा बिहीबारबाट सुरु भएको ‘दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०’ को शुभारम्भ गर्नुहुँदै मन्त्री गुरुङले देशलाई समृद्ध बनाउनु आफूहरूको दायित्व र कर्तव्य रहेको बताउनु भएको हो। 

‘‘सरकारको प्राथमिकता भनेको समृद्ध देश निर्माण हो, हामी त्यसमा नै लागेका छौँ’’, मन्त्री गुरुङले भन्नुभयो। विकास निर्माणमा सबैको सहकार्य जरुरी रहने भन्दै मन्त्री गुरुङले नेपाल एउटा घर र नेपाली एउटै परिवार भएको ठान्नुपर्ने बताउनुभयो, जसको लागि सोचमा परिवर्तन गर्नुपर्ने उहाँको तर्क छ। 

चापाकोटको कृषि क्याम्पस, ग्रामीण सडक, सिँचाइ, अस्पताल, कालीगण्डकीमा निर्माणाधीन पुल अलपत्र अवस्थामा परेको लगायतको सबै विषयमा आफ्नो आँखा पुगेको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो। 

स्थानीय स्तरमा रहेका सम्भावना, कला संस्कृतिको संरक्षणको लागि मेला महोत्सव प्रभावकारी हुने बताउनुभयो। उहाँले मेला महोत्सवले कला, संस्कृति र सरकारको संरक्षणका साथै स्थानीय स्तरमा उत्पादन भएका सामग्रीको बजारीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। 

महोत्सव फागुन १३ गतेसम्म सञ्चालन हुने चापाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष निर्मलराना मगरले जानकारी दिनुभयो।