• १४ असार २०८१, शुक्रबार

कोटेश्वर क्याम्पसको ३४औँ वार्षिकोत्सव

blog

काठमाडौँ, फागुन २ गते । कोटेश्वर बहुमुखी क्याम्पसले ३४औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बुधबार आयोजना गरिएको क्याम्पसको वार्षिकोत्सव कार्यक्रमको त्रिभुवन विश्वविद्यालयका उपकुपति प्रा.शिवलाल भुसालले सरस्वतीको प्रतिमामा माल्यार्पण गरेर सुभारम्भ गर्नुभएको थियो । 

समारोहलाई सम्बोधन गर्दै त्रिविका उपकुलपति प्रा.भुसालले शिक्षाको गुणस्तर उकास्न सामुदायिक क्याम्पसहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्नमा कोटेश्वर क्याम्पसको योगदान प्रशंसनिय रहेको पनि बताउनुभयो । 

त्रिभुवन विद्यालयको सम्बन्ध जनस्तरसम्म जोड्ने काममा कोटेश्वर क्याम्पस लगायतका सामुदायिक क्याम्पसहरुले गरेको योगदानको स्मरण गर्दै भुसालले हरेक क्याम्पसहरुले अब संख्यात्मक भन्दा गुणात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चता तथा प्रत्यायन (क्यूएए) प्रमाणिकरण हुन सफल कोटेश्वर क्याम्पसले माग गरेको अवस्थामा बिबिए लगायत जुनसुकै नयाँ कार्यक्रम दिन विश्वविद्यालय तयार रहेको प्रा.भुसालको भनाई थियो । कार्यक्रममा क्याम्पस प्रमुख गोबिन्दबहादुर कार्कीले कोटेश्वर क्याम्पसमा देशका ७७ वटै जिल्लाका विद्यार्थी पढ्न आउने गरेको तथ्यांक प्रस्तुत गर्दै क्याम्पसले अबको ध्यान गुणस्तरीय शिक्षामा मात्र केन्द्रित गरेको बताउनुभयो । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपालले पढ्नको लागि देशबाट हजारौँ बिद्यार्थी विदेश जाने गरेको स्मरण गर्दै स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि पाठ्यक्रममा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । समारोहमा २० वर्षभन्दा बढी समय क्याम्पसमा अध्यापन गर्नुभएका प्राध्यापक रेसम पौडेललाई दीर्घसेवा सम्मान र विद्यावारिधि पुरा गर्नुभएका डा.भरत राई र विनोद लिड्देनलाई सम्मान गरिएको थियो ।