• १२ साउन २०८१, शनिबार

भुइँमा पछारेर आठ महिनाको नाबालकको हत्या

blog

विष्णुप्रसाद पोखरेल

दमक, फागुन २ गते । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आठ महिनाको बालकको हत्या भएको छ । नाबालकलाई भुइँमा पछारेर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ दमक नगरपालिका वडा नं. ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी, ४ हट नं. ४३२ मा घटना भएको हो । २५ वर्षीया सुस्मिता बिश्वा बरालको छोरा आठ महिनाको एरित ओलीलाई सोही घरका पञ्चवीर घिसिङले पछारेको प्रारम्भिक बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पछारेपछि गम्भीर घाइते अवस्थामा बालकलाई उपचारका लागि दमक अस्पताल ल्याइएको थियो ।  त्यहाँ उपचार सम्भव नभएपछि दमकस्थित किओच बाल अस्पतालमा पुर्याउनसाथ नाबालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो ।

घिसिङको घरमा विश्वा नाबालक बच्चासहित चार महिनादेखि बस्दै आएको पाइएको प्रहरीको भनाइ छ । घटनाको भएको समयमा घिसिङले मादक पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । विश्वा आफ्नो श्रीमानिँग मनमुटाव भएपछि घिसिङकोमा बस्दै आएको स्थानीयहरुले बताएका छन् ।

घटनामा संलग्नता रहेको आशङ्कामा नाबालककी आमा विश्वालाई समेत सोधपुछका लागि नियन्त्रणमा लिइएको र घटना भएको समयमा घटनास्थलमा नरहेको पाइएपछि छाडिएको प्रहरीले जानकारी दिएको छ ।