• १ जेठ २०८३, शुक्रबार

कार्यालय छन्, छैन सेवा

blog

कोल्टी बजारमा स्थापना गरिएको भूमि प्रशासन कार्यालय । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, जेठ १ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ कोल्टीमा भूमि प्रशासन कार्यालय स्थापना गरेको करिब एक महिना भए पनि यहाँका नागरिकले अझै सेवा भने पाउन सकेका छैनन् । हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयलाई जग्गाको कारोबार गर्न सहज बनाउन वैशाख १ गते कोल्टीमा सो कार्यालय स्थापना गरेको थियो । त्यहाँबाट सेवा नपाउँदा यहाँका नागरिकमा अन्योलता छाएको छ ।

हिमाली गाउँपालिका बासिन्दा नरवीर रोकायाले, कोल्टीमा स्थापना गरेको मातपोत र नापीले अझै काम सञ्चालन नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “इलाका प्रशासन कार्यालय कोल्टीले स्थापना भएकै दिनदेखि जसरी नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने काम सुरु गरेको थियो । त्यसै गरेर यहाँको मालपोत र नापीले पनि काम सुरु गरेको भए राम्रो हुने थियो ।” यहाँ कार्यालय स्थापना भएको दिनदेखि कार्यालय खुला छन् । त्यहाँ कर्मचारी पनि हाजिर हुने गरेका छन् तर नागरिकको सेवा प्रवाह भने अभैm हुन नसकेको रोकायाले बताउनुभयो ।

इलाका प्रशासन कार्यालयले आफ्नो काम सुरु गरेसँगै अहिले यहाँका स्थानीयले निकै सहजता महसुस गरेका छन् । उनीहरूले एकै दिनमा नागरिकता बनाउन पाउँदा राहतको अनुभूति गरिरहेका छन् ।

भूमि प्रशासन कार्यालय कोल्टीका प्रमुख देवराज नाथले, कर्मचारी कार्यालयमा हाजिर हुने गरेको भए पनि काम गर्नका लागि आवश्यक सामग्री नजुटेकाले सेवा प्रवाहमा समस्या भइरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यहाँका स्थानीय तहले कार्यालय सञ्चालन गर्नका लागि आवश्यक सामग्री उपलब्ध गर्ने भन्ने सहमति गरेका हुन् । अहिलेसम्म केही स्थानीय तहले ती सामग्री दिएका छैनन् ।” 

बुधबार सदरमुकाम मार्तडीदेखि ढड्डा पनि ल्याइसकेका छौँ । काठमाडौँबाट केही बाँकी काम राखिएकाले नागरिकका काम हुन नसकेको नाथले बताउनुभयो । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले भने प्रतिबद्धता अनुसारको सामग्री भूमि प्रशासन कार्यालय कोल्टीलाई हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो ।