• १८ असार २०८१, मङ्गलबार

भ्रष्टाचारविरुद्धको लडाइँ

blog

दुःख, सङ्घर्ष, उद्यमशीलता र पौरख गरेर कमाएको धनले मानिसमा आत्मगौरव बढाउँछ तर भ्रष्टाचार, अनियमितता र ठगी गरेर गरेर कमाएको धनले उसमा अस्वाभाविक खालको घमण्ड र अभिमान बढाउँछ । अहिलेको नेपाली समाजको तस्बिर अस्वाभाविक खालको घमण्ड र अभिमानतिर जाँदै गरेको देखिन्छ । त्यसैले सुख र समृद्धिको पूर्वसर्त भ्रष्टाचारको अन्त्य नै हो । भ्रष्टाचारको दाग नहटुञ्जेल मुलुकको मुहार सफा हुन सक्दैन । उद्यमशीलता र नवप्रवर्तनमा पछाडि पर्नु, स्वच्छ व्यावसायिक वातावरणको अभाव खट्किनु, विकासको गति धिमा हुनु, पूर्वाधारमा गरिएका लगानी बालुवामा पानी बगे जस्तै हुनु, प्रशासन सञ्चालनको लागत अत्यधिक बढ्नु तर जनताले पाउनुपर्ने आधारभूत सेवासमेत सहज हुन नसकी तजविजी अधिकार, भनसुन, पक्षपात, विभेद र अन्यायले राज गर्नुको पछाडि भ्रष्टाचार नै हो । यस प्रकारका प्रवृत्ति मुलुक र भावी पुस्ताका लागि निकै घातक छ । समृद्धिको यात्रामा बाधक छ । 

सार्वजनिक सम्पत्ति हडप्ने प्रतिस्पर्धा हट्न सकेको छैन । निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता बढाउन सकिएको छैन । उद्यमशीलताको विकास हुन सकेको छैन । च्याँखे थापेर खाने प्रवृत्ति हाबी हुँदै छ । सेवा प्रदायक र सेवाग्राहीको बिचमा दलाली गर्नेहरू हट्न सकेका छैनन् । सहकारीको भेषमा सर्वसाधारणको रकम कुम्ल्याएर विचल्ली बनाउनेहरू खुलेयाम घुमिरहेका छन् । सरकारी विद्यालय र विश्वविद्यालयमा आफ्ना छोराछोरी पढाउन हम्मेसी कुनै पनि अभिभावक तयार हुँदैनन् तर महँगो स्कुलमा छोराछोरी पढाउँदा र महँगो अस्पतालमा उपचार गराउँदा आफूलाई ठालु ठान्नेको सङ्ख्या भने बढ्दो छ । नदीको उर्लंदो भेलमाथि तुइनमा झुन्डिएर स्कुल जान बालबालिकाहरू अझै विवश छन् । भलै तुइन विस्थापित गर्ने प्रशासनिक टिप्पणी सदर भएको धेरै भइसक्यो । 

लगानीबिना र जोखिमबिना नै छोटो समयमै मनग्गे आयआर्जनको आकर्षक माध्यम भ्रष्टाचार न्यूनीकरण गर्न सकिएको छैन । जसरी भए पनि तडकभडक गर्नेलाई नेपाली समाजले प्रोत्साहन गर्ने संस्कार जो छ । सत्ता, शक्ति र सम्पत्तिको लत लागेपछि भ्रष्टाचारदेखि नडराउने र नलजाउनेको सङ्ख्या कम हनु सकेको छैन । निजी स्वास्थ्य तथा शैक्षिक संस्थाहरू असाध्यै महँगो भएको कारण अतिरिक्त आर्जन गर्न धेरैले भ्रष्टाचारको सहारा लिएको पनि देखिन्छ । सामाजिक आडम्बरका लागि महँगो शिक्षा र स्वास्थ्य सेवा लिन तथा विलासी जीवनयापनको मोहमा पर्दा अतिरिक्त कमाइको खोजीमा कतिपय नेता, कर्मचारी, व्यापारी, सर्वसाधारण लागेको देखिन्छ । सरकारी संस्थाहरूलाई विश्वासिलो र भरपर्दो बनाउन सरकारी प्रयास पर्याप्त त छैन नै जनदबाबको पनि सुरसारै देखिँदैन । च्याउ झैँ उम्रेका धेरै सञ्चार र सोसल मिडियाले हाइलाइट गर्नुपर्ने विषयभन्दा भाइरल हुने लोभले समाज सुधारतर्फ कुनै योगदान दिन सकेका छैनन् । भ्रष्टाचार, तस्करी, कालोबजारी, गुन्डागर्दी, असुली र आर्थिक अपराधका घटना न्यूनीकरण हुन नसक्नु यस प्रकारका प्रवृत्ति जिम्मेवार छन् । 

परिवर्तन हुँदै गएको सामाजिक, आर्थिक, प्रशासनिक, न्यायिक, सांस्कृतिक, धार्मिकलगायतको नयाँ डिस्कोर्सले भ्रष्टाचारलाई न्यूनीकरणका लागि सघाउन सेकेको छैन । पैसा कमाउन सक्ने र नसक्नेलाई क्रमशः ‘मर्द’ र ‘नामर्द,’ ‘व्यापारलाई अपार,’ ‘जसको शक्ति उसको भक्ति,’ ‘जोगी हुन राजनीति गरिँदैन’ भन्ने जस्ता भनाइको पछि लाग्दा पैसा कमाउने चाह बढ्नु स्वाभाविक हो । 

उद्योग व्यवसाय फस्टाउन स्वच्छ व्यावसायिक वातावरण सिर्जना गर्नुको सट्टा राजनीतिक छहारीको ओत लागेर उद्योग व्यवसाय गर्ने प्रवृत्तिले व्यावसायिक प्रतिस्पर्धा हुन सकेको छैन । राजनीतिको व्यवसायीकरण र व्यवसायको राजनीतीकरण हुनु यसैको परिणाम मान्न सकिन्छ । राजनीति गर्नेले व्यवसाय गर्नु त राम्रै हो तर व्यवसायलाई राजनीतिको छहारी दिएर अस्वस्थ बनाउनाले मुलुकको स्वच्छ आर्थिक क्रियाकलापमा बाधा पुगेको छ । 

निर्वाध र निर्विकल्प प्रवाह हुनुपर्ने सार्वजनिक सेवा भनसुनको आधारमा हुनु भ्रष्ट र पछौटे प्रवृत्तिको विम्ब सिवाय केही होइन । जागिर खोज्ने परम्परागत शिक्षा प्रणाली र पैसाका लागि मरिहत्ते गर्ने सामाजिक सोचले घुसखोरी, भ्रष्टाचार, अनियमितता, कीर्ते र ठगी मौलाउन पुग्छ । व्यक्तिको लोभबाट उठान हुने भ्रष्टाचारको त्यान्द्रो समूहमा बाटिँदै संस्थागत र सङ्गठित हुन पुग्दा त्यो मजबुत माखेसाङ्‍लोलाई चुँडाल्न मौजुदा सामाजिक सोच, संस्कार र संयन्त्रले सक्ने कुरै भएन । 

भ्रष्टाचारको लडाइँमा पहिलो पाइला भनेको सामाजिक तगारोलाई नै भत्काउनु पर्छ । सोझो र इमानदार व्यक्तिको खिल्ली उडाउने र भ्रष्टाचारमा लिप्त रहेरै भए पनि अकुत कमाउनेको आदर, सत्कार गर्ने सामाजिक प्रवृत्ति फेर्नै पर्छ । भ्रष्टाचार गरी कमाएको केही पैसा सामाजिक कार्यका लागि चन्दा दिएर ठालु पल्टनेलाई अब समाजले पाखा लगाउनै पर्छ । उद्यमशीलताको विकास नगरी भ्रष्टाचारलाई दिगो रूपमा नियन्त्रण गर्न सकिँदैन । शैक्षिक संस्थाले बजार र विद्यार्थी जोड्न सके स्वरोजगारीको अवसर सिर्जना हुन्छ । उच्च शिक्षा हासिल गरेर पनि कुनै सिप हासिल हुन नसक्दा जागिरे मानसिकता बढाएको छ । यसर्थ मौजुदा शैक्षिक प्रणालीलाई उद्यमशीलतामा बदल्नु जरुरी छ । 

संसारभरका प्रतिष्ठित विश्वविद्यालयदेखि विभिन्न सङ्घ संस्थाले अनुसन्धान गरेर प्रमाणित भइसकेको तथ्य के हो भने भ्रष्टाचार नियन्त्रण र सुशासनबिना समृद्धि प्राप्त हुन सक्दैन । जब जब भ्रष्टाचारको पारो बढ्छ, तब तब विकास र समृद्धिले ओरालो यात्रा गर्छ । यसर्थ सुशासन बहालीका लागि ओठे भक्तिभन्दा व्यवहारमा पारदर्शिता, सदाचारिता, नैतिकता र खरो कार्यसम्पादनमा उत्रेर जनताको ढोकासम्म गुणस्तरीय सेवा पु¥याउनु पर्छ र तोकिएको लागत, समय र गुणस्तरमा आयोजनाहरू पनि सम्पन्न गर्नु पर्छ ।

सुशासनको बलियो जग नहालेसम्म विकास र समृद्धि मृगतृष्णा हुने निश्चित छ । सुशासन नै विकासको मुख्य खम्बा भएको स्वयम्सिद्ध तथ्य हो । मुलुक सञ्चालनको धमनीको रूपमा रहेको राजस्व सङ्कलन कम हुनु, लागत बढ्नु र वैदेशिक लगानी विकर्षण हुनुको मुख्य कारण भ्रष्टाचार नै हो । भ्रष्टाचारकै कारण कर्मचारीको आवश्यक र समानुपातिक वितरण नभई केन्द्रमा झुम्मिने तर सेवा प्रवाह एकाइमा अभाव हुने गरेको छ । अतिरिक्त कमाइ गर्ने दाउमा ‘मालदार’ भनिएका अड्डामा सरुवा मिलाउन कतिपय कर्मचारीबिच प्रतिस्पर्धा नै चल्छ । 

ट्रान्सपरेन्सी इन्टरनेसनलको हालसम्मको सूचकाङ्‍कमा नेपाल भ्रष्टाचारग्रस्त मुलुकको रेडजोनबाट माथि उक्लन सकेको छैन । ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार निगरानी र नियन्त्रण गर्ने संस्थाको सबलीकरण गर्न सुझाउँदै आएको छ । खुला र पारदर्शी खरिद प्रक्रिया अवलम्बन गर्न, प्रजातन्त्रलाई घनीभूत बनाउनुका साथै सान्दर्भिक तथ्याङ्‍क प्रकाशित गरी सर्वसाधारणमा सूचनाको पहुँच ग्यारेन्टी गर्न पनि थप सुझाव दिँदै आएको देखिन्छ । 

व्यावसायिक सफलताको पूर्वसर्त स्वच्छ व्यावसायिक वातावरण सिर्जना हुनु पर्छ । व्यवसायमा नाफा कमाउन सिन्डिकेट र एकाधिकार होइन, लागत घटाउन नवप्रवर्तन र प्रतिस्पर्धा हुनु पर्छ । क्षणिक फाइदाका लागि उपभोक्ताको पैसा र स्वास्थ्यको बर्बाद गर्ने छुट व्यवसायीलाई छैन । त्यो मुनाफा नभई अपराध हो । यसै गरी राजनीति समर्पण र समाजसेवाका लागि हुनु पर्छ । पद, पैसा र पावरका लागि कदापि हुनु हुँदैन । निष्ठाको राजनीतिलाई नियतको राजनीतिले निल्न दिनु हुँदैन ।

ठुला भ्रष्टाचारको स्रोत राजनीति नै हो । त्यसैले भ्रष्टाचार निवारण ऐनमा समयसापेक्ष परिमार्जन हुनु पर्छ । भ्रष्टाचारविरुद्ध अनुसन्धान र अभियोजन गर्ने निकायलाई बलियो बनाउनु पर्छ । दललाई सुशासन र सदाचारयुक्त बनाउनु पर्छ । नीतिगत निर्णय भनेर ठुला ठुला ठेक्का पट्टाका निर्णय हुन्छ । अनुसन्धान गर्ने निकाय उक्त निर्णयमा प्रवेश गर्नै पाउँदैन । त्यसैले नीतिगत निर्णयको स्पष्ट परिभाषा हुनुपर्ने अख्तियारको सुझावप्रति संसद् र सरकारको ध्यानाकर्षण हुनु पर्छ । 

भ्रष्टाचार जस्तो सङ्गीन अपराधको अनुसन्धान र न्यायिक सुनुवाइ मौजुदा संयन्त्रबाट मात्र पूर्णतया सम्भव छैन । त्यस कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संवेदनशील भएर यस्ता कार्यको अनुसन्धान गर्नु पर्छ । उजुरी नपर्खी उपल्लो तहमा आसिन राजनीतिज्ञ, कर्मचारी र उनीहरूसँग हिमचिम गर्ने व्यक्तिको दैनिक घटनाको फेहरिस्त बनाउने, सबै खालका क्रियाकलापको प्रमाण तत्काल जुटाउँदै लैजाने र एउटा तहसम्म पुगेपछि कारबाही सुरु गर्न जरुरी भइसकेको छ । 

भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिको देवत्वकरण र राजनीतिक स्टन्टबाजी होइन, प्रणाली बसाल्नु पर्छ । विचार र विधिलाई मिच्ने व्यक्तिले सुशासनको बहाली गर्न सक्दैन । भ्रष्टाचारजन्य अपराधबाट छुटकारा दिलाउन मानिसको आम्दानीको स्रोत बढाउने क्रियाकलाप सुरु हुनु पर्छ । नैतिकस्तर माथि उकास्ने खालका शिक्षा दिनु पर्छ । अनि मात्र लोभलालचबाट मुक्त हुने वातावरण तयार हुन्छ र यस्ता अपराधमा कमी ल्याउन सकिन्छ ।

  

Author

रामबहादुर तामाङ