• ११ साउन २०८२, आइतबार

काभ्रेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

blog

पहिरोका कारण अवरुद्ध भएको सडक । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, साउन ११ गते ।
उत्तरदक्षिण जोड्ने कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत काभ्रेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

म्याग्दी र मुस्ताङको सिमानास्थित काभ्रेभिरमा शनिबार राति खसेको पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको कालिगण्डकी कोरिडोर आयोजनाले जनाएको छ ।

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भन्नुभयो, ‘‘काभ्रेभिरमा ठुलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ । सडकमाथिको पहरा फुटेर ठुला ढुङ्गाहरु सडकमा थुप्रिएका छन् । डोजरको सहयोगले पन्छाउन थालिए पनि सडक खुल्न अझै दुईतिन घण्टा समय लाग्छ ।’’ पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ आएका सवारीसाधन बीच बाटोमै रोकिएको उहाँले बताउनुभयो ।

बर्खायाममा कालिगण्डकी कोरिडोरको म्याग्दी खण्डमा पहिरो खस्ने समस्या छ । पहिरोका कारण सडक अवरुद्ध हुने गरेको छ । सडकको काभ्रेभिरका साथै अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने रुप्से झरना क्षेत्र, दानाको खाम भित्ता, गुइँठेभिर, महभिर, रघुगंगा गाउँपालिका– २ मासखर्क, सिरुवारी, कुनौटो, रिठाबोट, वडा नं ३ मा पर्ने चमेरे र गलेश्वर पारि पहिरोको जोखिम छ ।

आयोजनाले बेनी–घाँसा खण्डमा पहिचान गरिएका अति जोखिमयुक्त पाँच वटा ठुला पहिरोमध्ये गत वर्ष बैसरी पहिरोमा ‘रक एङ्करिङ’र बायोइन्जिनियरिङ विधिबाट पहिरो रोकथाम गरेको थियो । पहिरो रोकथाम गरेपछि यहाँ भने पहिरो खस्ने समस्या हटेको छ ।