• १५ वैशाख २०८१, शनिबार

क्रिकेटमा कीर्तिमानी रुबिना

blog

काठमाडौँ, फागुन २ गते । नेपाली महिला क्रिकेटमा प्रमुख योगदान दिने खेलाडीको नाम लिँदा सबैभन्दा अगाडि आउने नाम हो– रुबिना क्षेत्री बेल्बासे । रुबिनाले १४ वर्षदेखि निरन्तर राष्ट्रिय महिला क्रिकेट टिममा रहेर सेवा गरिरहनुभएको छ । उहाँले ११ वर्ष त राष्ट्रिय टिमको नेतृत्व नै गर्नुभयो । रुबिनाले उमेर समूहमा पनि नेपालको नेतृत्व गर्नुभएको छ । यसै वर्ष मात्र उहाँलाई महिला क्रिकेट टिमका कप्तानमा इन्दु वर्माले स्थानापन्न गर्नुभएको हो ।

यद्यपि ३० वर्षीया रुबिना अहिले पनि नेपाली महिला क्रिकेटको हस्ती हुनुहुन्छ, जसलाई उहाँले मङ्गलबार एसिसी महिला टी–२० प्रिमियर कपमा पुनः साबित गर्नुभएको छ । रुबिनाले मलेसियाको बाङ्गीस्थित वाइएसडी क्रिकेट ओभल मैदानमा माल्दिभ्सविरुद्ध पालकी रुबिना क्षेत्री अविजित ११८ रनको दुर्लभ शतकीय पालि खेल्नुभयो ।

उहाँले मात्र ५९ बलको सामना गरी दस चौका र पाँच छक्का प्रहार गर्नुभयो । रुबिना नेपालबाट महिला अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने पहिलो खेलाडीसमेत बन्नुभएको छ । यसअघि महिला टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने कीर्तिमान सीता रानामगरको नाममा थियो । सन् २०२१ मा दोहामा भएको खेलमा सीताले घरेलु टिम कतारविरुद्ध अविजित ८२ रन बनाएको कीर्तिमान राख्नुभएको थियो । रुबिनाको यसअघिको सर्वाधिक स्कोर भने ५० रनको हो, जुन उहाँले कतारविरुद्ध नै बनाउनुभएको थियो । रुबिनाको शतकको सहयोगमा नेपालले माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २२७ रन बनायो । यो पनि नेपाली महिला टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सर्वाधिक स्कोर भएको छ । यसअघि सीताले कीर्तिमान ८२ रन बनाएकै खेलमा नेपालले कतारविरुद्ध बनाएको १६४ रन सर्वाधिक स्कोरका रूपमा रहेको थियो ।

नेपाली क्रिकेटमा रुबिनाको नाममा अर्को अद्भुत कीर्तिमान पनि छ । अन्तर्राष्ट्रिय पदार्पण खेलमै ह्याट्रिकसहित पाँच विकेट लिने दुर्लभ कीर्तिमान उहाँको नाममा छ । सन् २००९ मा एसिसी महिला टी–२० च्याम्पियन्सिपमा १६ वर्षीया रुबिनाले सिङ्गापुरविरुद्ध अन्तिम ओभरमा ह्याट्रिकसहित पाँच विकेट लिएको प्रदर्शनलाई नेपाली क्रिकेटमा अहिलेसम्म पनि सम्झिइने गरिन्छ । रुबिनाले अन्तिम ओभरमा बलिङ गर्नुअघि सिङ्गापुरलाई पाँच विकेट सुरक्षित हुँदा दुई रन मात्र आवश्यक थियो । नेपाली क्रिकेटको इतिहासमै रुबिना अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक लिने पहिलो खेलाडी बन्नुभएको थियो ।

रुबिना, सीतासँगै विदेशमा व्यावसायिक फ्रेन्चाई लिग क्रिकेट खेल्ने नेपालकी पहिलो क्रिकेटर पनि हुनुहुन्छ । यी दुवैले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट मान्यता प्राप्त महिला टी–२० क्रिकेट फेयर ब्रेक इन्भिटेसनल लगातार खेलिरहेकी रहनुभएको छ । रुबिना क्रिकेट खेल्ने क्रममा अस्ट्रेलिया समेत पुग्नुभएको छ ।