• १९ फागुन २०८०, शनिबार
blog

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन १ गते । तराईको शीतलहर सात डिग्रीमा झरेपछि कठ्याङ्ग्रिँदो बिहानीमा घुर ताप्न छाडेर ५७ वर्षीय नारायण श्रेष्ठ फलफूलका ग्राफ्टिङमा तल्लीन देखिनुहुन्छ । यस्तै जाँगर र उत्साहले उहाँको परिचय ‘नर्सरी म्यान’ भएको छ । यो परिचय बनाउने श्रेष्ठको निकै लामो लगनशीलता छ । उहाँ आफ्नो विगतको अन्योल, अनिश्चितता र सङ्घर्षले भरिएका जीवनयात्रा यसरी स्मरण गर्नुहुन्छ ।

“त्यति बेला मेरो उमेर केवल २२ वर्षको थियो । गौशाला नगरपालिका–१ स्थित पुरानो बस्ती इँटाटारको बासिन्दा थिएँ । भर्खरै आइकमसम्मको अध्ययन सकेर घर फर्केको मेरा लागि गाउँमा जागिर पाउने सम्भावना त कल्पनाभन्दा बाहिरको कुरा । परिवारमा गरिबीका कारण पढाइ अगाडि बढाउन सक्ने अवस्था पनि थिएन । अहिले जस्तो रोजगारीका लागि खाडी मुलुकमा जाने सम्भावना पनि थिएन । यहाँका युवा रोजगारीका लागि समूह समूह बनाएर पन्जाब र दिल्ली जाने गर्थे । मलाई भने भारतमा भौँतारिने चाहनै भएन । बरु गाउँमै व्यवसाय चलाउने अठोट लिएँ,” उहाँ भन्नुहुन्छ ।

व्यवसायका लागि उहाँसँग न पुँजी थियो न त पूर्वाधार । अंशबन्डामा पाएको १० धुर जमिनबाहेक हातमा शून्य । यही अन्योलका बिच २०४५ सालतिर धनुषा जिल्लाको नकटाझिजस्थित कृषि फार्ममा नर्सरीसम्बन्धी छोटो अवधिको प्रशिक्षण लिने अवसर जु-यो उहाँलाई । उहाँ भन्नुहुन्छ, “नर्सरी नाइके कृष्ण दासले प्रशिक्षण मात्र दिनुभएन, प्राप्त ज्ञानलाई व्यवसायमा परिणत गर्ने प्रेरणासमेत दिनुभयो ।” नकटाझिजबाट सिप र प्रेरणा लिएर फर्किएका श्रेष्ठले त्यही १० धुर जग्गामा फलफूल नर्सरी सुरु गर्नुभयो । आम्दानी बढ्दै गयो । अन्ततः त्यो १० धुर जग्गा नै श्रेष्ठका लागि सफलताको आधार बन्यो । त्यसयता उहाँले कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । १० धुरबाट सुरु गरेको उहाँको ‘शिव फलफूल नर्सरी’ अहिले तीन बिघामा फैलिएको छ । 

अहिले उहाँको नर्सरीमा वार्षिक एक लाखभन्दा बढी बिरुवा उत्पादन हुँदै आएका छन् । उत्पादित बिरुवामध्ये आँप ५० हजार, लिची १० देखि १५ हजार, कटहर सात हजार, कागती कलमी पाँच हजार र मौसम अनुसारका बेर्ना उत्पादन हुने गरेको उहाँ बताउनुहुन्छ । 

उहाँको नर्सरीमा आँपका बेर्ना मात्रै १६ प्रजातिका छन् । यसअघि नर्सरीमा ३५ प्रजातिका आँपका बेर्ना थिए । ग्राहकको रुचिमा नपरेका प्रजाति विस्थापित गर्दै अहिले १६ प्रजातिमा झारेको श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ग्राहकले पुराना प्रकारमा मालदह, बम्बै, दसहरीका बेर्ना रुचाउने गरेका छन् । नयाँ प्रजातिमा आम्रपाली, मल्लिका, नीलमको पनि माग राम्रो छ ।” वर्षको दुई पटक फल्ने बाह्रमासी आँप, बम्बैसँगै पाक्ने ‘अर्ली भेराइटी’ का जर्दा र गुलाबखास प्रजातिका बिरुवाप्रति ग्राहकको माग बढेको उहाँको भनाइ छ । भदौमा पाक्ने पाकिस्तानी प्रजातिको 

‘अब्बेहयात’ आँपका बेर्नाको माग पनि बढ्दो रहेको उहाँ बताउनुहुन्छ । नर्सरीमा २० प्रजातिका फूलका बेर्ना पनि छन् । यहाँबाट वार्षिक १० हजार त फूलका बेर्ना मात्रै बिक्ने गरेको उहाँले बताउनुभयो । 

नर्सरी चल्न थालेपछि २०५२ सालतिर कृषि विभाग निर्देशनालयबाट बोटबिरुवा उत्पादन तथा बेचबिखनको लाइसेन्स लिएपछि उहाँको कारोबार अहिले भारतसम्म विस्तार भएको छ । ग्राहक बढ्दै छन् । उहाँ भन्नुहुन्छ, “मेरा ३० प्रतिशतभन्दा बढी ग्राहक भारतीय छन् ।  छिमेकको सोनवर्षा, उमगाउँ, बेला, परिहार, कन्हमालगायत दर्जनभन्दा बढी भारतीय गाउँबाट नियमित ग्राहक आउने गरेका छन् ।”

राज्यले ‘टिस्यु कल्चर’ प्रविधिलाई विस्तार गर्नुपर्ने उहाँको सुझाव छ । यो प्रविधिले एकै पटक ठुलो परिमाणमा रोगमुक्त बिरुवा उत्पादन गर्न सकिने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यो प्रविधिको प्रयोगले कृषि क्षेत्रमा फड्को मार्न सकिन्छ ।” मुलुकमा बढ्दो आँपको उत्पादनलाई सदुपयोग गर्न सरकारले जुस, जाम, अचार जस्ता उद्योग खोल्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँको सुझाव छ ।  

रोजगारीका लागि विदेश जाने युवालाई देखेर उहाँलाई टिठ लाग्छ । उहाँ भन्नुहुन्छ, “विदेश गएर खर्चिने जाँगर यहीँ चलाए देशमै बसेर मनग्गे कमाउन सकिन्छ । मेहनत गरे यहीँ अवसरै अवसर छ ।” तराईको ३०÷३५ डिग्री तापव्रmममा उहाँको नर्सरीमा लटरम्म फलेको सुन्तलाले ग्राहकलाई लोभ्याउन थालेपछि सुन्तलाको बेर्ना पनि उत्पादन गर्न थालेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिलेसम्म सुन्तलाका चार÷पाँच सय बेर्ना बेचिसकेँ ।” 

परीक्षणकै व्रmममा अहिले उहाँका नर्सरीमा अमेरिकी प्रजातिको रातो केरा (रेड बनाना) को बेर्ना बिक्रीका लागि राखिएका छन् । यसको बोट मात्र नभई फलसमेत रातो फल्ने हुँदा यसप्रति किसानको आकर्षण बढेको छ । नयाँ प्रजाति भए पनि गत वर्ष रातो केराका दुई सय बिरुवा बिक्री भएका थिए । कारोबार विस्तार हुँदै गएपछि अहिले वार्षिक ५० लाख रुपियाँबराबरका बिरुवा बिक्ने गरेको उहाँले बताउनुभयो । श्रेष्ठले १० जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कमा महोत्तरीमा ३७ वटा नर्सरी दर्ता छन् ।