• २४ वैशाख २०८१, सोमबार

खगेन्द्र नवजीवन केन्द्रको बेथिति

पीडित भन्छन् : मृत्यु पर्खिरहेका छौँ

blog

काठमाडौँ, फागुन १ गते । भीमबहादुर सेजुवाल उमेरले झन्डै छ दशक पुगिसक्नुभएको छ । भारतको हिमाचल प्रदेशमा सडक दुर्घटना भएपछि शरीर सग्लो रहेन । परिवारको जिम्मेवारी र आर्थिक स्रोत जुटाउने अभिभाराले उहाँलाई भारत पुर्‍यायो तर अपाङ्गता बनाएर फर्कायो । 

मेरुदण्डमा गम्भीर चोट (स्पाइनल इन्ज्युरी) लागेपछि उहाँलाई उठ्न–बस्न पनि सहारा चाहिने भयो । मुगुका सेजुवालले सुषमा कोइराला मेमोरियल अस्पतालको शøयामा गहभरि आँसु पार्दै भन्नुभयो, “अहिले उपचार गर्नै नसक्ने अवस्थामा छु । मृत्यु नै पर्खिरहेको छु, केही हुनेवाला छैन जस्तो लाग्छ ।”

उहाँले लामो सुस्केरा हाल्नुभयो । ओछ्यानमा कोल्टो पर्न खोज्नुभयो तर शरीर सरेन । छेउमा बसेका सहयोगीले उहाँलाई अर्कोतिर फर्काउनुभयो । उहाँको ढाडमा गहिरो चोट छ । त्यसैको उपचारका लागि उहाँ सुषमा कोइराला अस्पतालमा गत पुस २६ गते भर्ना हुनुभएको हो । 

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको आश्रयमा २०७० देखि बसिरहनुभएका सेजुवाललाई अहिले उपचारका लागि आर्थिक अभाव हुने हो कि भन्ने चिन्ताले पिरोलेको छ । राज्यले प्रत्येक वर्ष बजेट दिने, अपाङ्गता, अशक्तदेखि दृष्टिविहीनसम्मको आश्रय रेखदेखका लागि खुलेको सङ्घमा राम्रै होला भन्ने उहाँलाई लागेको थियो । 

तर, उपचारका लागि सङ्घका पदाधिकारीले देखाएको अनुदार शैलीले उहाँलाई आहत पुगेको छ । एक महिनाभन्दा बढी अस्पताल बसाइमा उहाँका दुई लाख रुपियाँ खर्च भइसकेको छ । अपाङ्ग सङ्घका अध्यक्ष साम्देन लामाले उपचार खर्चको आधा रकम मात्रै सङ्घले बेहोर्ने बताएपछि उहाँको चिन्ता बढेको हो । सेजुवालले भन्नुभयो, “अपाङ्ग सङ्घ अपाङ्गता भएकाहरूका लागि स्थापना भएको हो तर अहिले बुझ्दा हाम्रा लागि आउने रकम कता जान्छ, अचम्म लागेको छ ।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सङ्घमा अपाङ्गता भएका व्यक्तिको अवस्था हेरेर नै सरकारी कोटामा त्यहाँ बस्न पठाउने गरेको छ । सेजुवाल पनि सरकारी कोटामै परेर १० वर्षयता बसिरहनुभएको छ तर अपाङ्गता भएका व्यक्तिलाई आउने बजेट र गर्नुपर्ने स्वास्थ्योपचार पनि आफूहरूले नपाएको उहाँको गुनासो छ । 

गत कात्तिकदेखि उपचाररत २८ वर्षीय चेतकुमारी तामाङको अवस्था पनि उस्तै छ । अस्पताल प्रशासनका अनुसार उहाँको शल्यक्रियासहित उपचारमा आठ लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ तर अपाङ्ग सङ्घले अहिलेसम्म अस्पताललाई उपचारबापतको खर्च उपलब्ध गराएको छैन । 

पाराओलम्पिक एसियाली खेलाडी जेनिशा कडायतले खगेन्द्र नवजीवन केन्द्रमा आश्रित नागरिकमाथि चरम लापरबाही र शोषण भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “हामी कसरी बसेका छौँ, कसरी सहेका छौँ, त्यो त एक पटक आएर हेर्दा थाहा हुन्छ । मानवीय मूल्यको समेत वास्ता नगरी यहाँ राखिएको छ, व्यवस्थित गर्ने विषयमा कोही गम्भीर छैन ।”

आश्रित छैनन्, बजेट छ

नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रभित्रको बेथिति निकै गम्भीर रहेको सङ्घकै पदाधिकारीले बताउनुभएको छ । ती पदाधिकारीको दाबीलाई सङ्घको लेखापरीक्षण प्रतिवेदनले पनि पुष्टि गर्छ । 

सङ्घका शाखामध्ये सबैभन्दा बढी बजेट धनुषालाई दिइएको छ । आर्थिक वर्ष २०७९/८० मा नेपाल अपाङ्ग सङ्घ धनुषालाई १३ लाख रुपियाँ दिइएको छ । सङ्घको बाँके शाखालाई दुई लाख रुपियाँ, झापा शाखालाई दुई लाख रुपियाँ, कैलाली शाखालाई दुई लाख ६५ हजार रुपियाँ, काठमाडौँ शाखालाई एक लाख रुपियाँ र दाङ शाखालाई दुई लाख रुपियाँ बजेट दिइएको छ । जसमध्ये बाँके र काठमाडौँ शाखामा अपाङ्गता तथा अशक्त नागरिकको आश्रय केन्द्र नै छैन । 

सङ्घको काठमाडौँ शाखाका नरेन्द्र श्रेष्ठका अनुसार जोरपाटीस्थित सङ्घ केन्द्रीय कार्यालयकै एक कोठालाई काठमाडौँ शाखा कार्यालय बनाइएको छ । त्यसै गरी बाँकेको नेपालगन्ज शाखाका भोलासिंह हमालले अपाङ्गता तथा अशक्तलाई राख्ने व्यवस्था शाखाले नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट आउँछ, सङ्घको शाखा पनि छ तर आश्रय केन्द्र छैन ।”

सङ्घका अध्यक्ष लामाले अपाङ्गता भएका र अशक्त नागरिकको उपचारमा लापरबाही भइरहेको विषयमा प्रश्न गर्दा ‘हुन्छ, म बुझ्छु’ भन्ने जवाफ दिनुभयो । बिरामी कुरुवाको पारिश्रमिक पनि रोक्नुभएको हो ? भनी प्रश्न गर्दा उहाँले फोन काट्नुभयो ।