• १२ साउन २०८१, शनिबार

सम्पदा संरक्षणमा सञ्चारकर्मी जागरूक हुनुपर्ने

blog

धरान (सुनसरी) माघ २७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, आमसञ्चार समितिले आज धरानमा आयोजना गरेको ‘स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यशालाका प्रमुख अतिथि मन्त्री राईले देशको विविधता र ओझेलमा परेका सम्पदा संरक्षणका लागि कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रविधिमा पनि ज्ञान भएका सञ्चारकर्मी उत्पादन भइरहेका छन् । सञ्चारकर्मीलाई जिम्मेवार, कर्तव्यनिष्ठ बनाउन युनेस्कोको भूमिका पनि महत्त्वपूर्ण हुन्छ ।” प्रतिनिधिसभा सदस्य सुशीला श्रेष्ठले स्थानीय संस्कार, संस्कृति संरक्षणका लागि कलम चलाउन आग्रह गर्नुभयो । युनेस्कोले काठमाडौँबाहिर पहिलो पटक सम्पदा संरक्षणका लागि कार्यक्रम गरेको बताउनुभयो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, आमसञ्चार समितिका संयोजक नम्रता शर्माले परम्परागत सञ्चारमाध्यमदेखि एआई युगमा चुनौती थपिएको बताउनुभयो । 

चोमोलुङ्मा युनेस्को केन्द्रका अध्यक्ष हरिवंश किरातले स्थानीय सम्पदा नासिँदै गएकाले तिनको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । पत्रकार हर्ष सुब्बाले स्थानीय पत्रकारिता सतही हुन थालेको बताउनुभयो । अहिलेको पत्रकारिता अभ्यासमा आचारसंहिताको पालनालाई ध्यान नदिइको  बताउनुभयो । रासस